आजको पत्रपत्रिकामा के छन् हेडलाइन, नेपाली भूमिका नागरिकलाई भारतीय नागरिकता, प्रशासनिक र राजनीतिक क्षेत्रमा संरक्षण

काठमाडौं । केही दिनदेखि चर्चामा रहेको भारतीय नक्साकै वरिपरि आज पनि दैनिक पत्रिकाहरू घुमेका छन् । पत्रपत्रिकाहरूले अतिक्रमित क्षेत्रको स्थलगर्त रिपोर्टिङसँगै यसको समाधानका सूत्रबारे चर्चा–परिचर्चा गरेका छन् । त्यस्तै, मन्त्रिपरिषद् पुनर्गठन पनि आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

अतिक्रमित नेपाली भूमिका नागरिकलाई नेपाल सरकारले बेवास्ता गर्दा भारतले नागरिकतासँगै रासनकार्डसमेत वितरण गरेको नागरिक दैनिकले लेखेको छ । भारतले अतिक्रमित कुटी, नाभी र गुन्जीका बासिन्दालाई आफ्नो देशको नागरिक बनाएको हो ।

नागरिक लेख्छ– लिम्पियाधुरा र कालापानी क्षेत्रमा पाँच गर्खा ९गाउँ० थिए । सन् १९६२ मा भारतले कालापानीमा सेनाको क्याम्प राखेसँगै ती गाउँका बासिन्दालाई विशेष सेवा, सुविधा उपलब्ध गराएर आफ्नो नागरिक बनाउन प्रयास भएको थियो । कुटी, नाभी र गुन्जी तीन गाउँका बासिन्दालाई अहिले भारतले नागरिकता र आधार कार्ड दिएर आफ्नो नागरिक बनाइसकेको छ ।

नागरिकका अनुसार, भारतको नागरिकता पाएका अतिक्रमित क्षेत्रका बासिन्दा राज्यको उच्च तहमा समेत पुगेका छन् । प्रशासनिक, राजनीतिक र शैक्षिक क्षेत्रमा उच्च प्राथमिकतासहित उनीहरूलाई संरक्षण नै दिइएको दार्चुला व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताएका छन् ।

सीमाबारे सेनाको चासो

भारतीय सीमा अतिक्रमणबारे नेपाली सेनाले चासो देखाएको छ । नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको अन्नपूर्णले लेखेको छ ।

अन्नपूर्णका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकाय प्रमुखसँग छलफल चलाएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन तयारी

सीमा अतिmक्रमको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले गरेको धरपकडको तस्वीर छापेको कान्तिपुरले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली लागेको लेखेको छ ।

समाचार अनुसार प्रधानमन्त्रीले सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार अर्का अध्यक्ष पुष्पमकल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टी सचिवालय बैठक बोलाएका छन् ।

कान्तिपुरका अनुसार उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।

जुवाडे अस्पतालमा

जुवाडे अस्पताल भर्ना भएको खबर नागरिकमा छ । नागरिकका अनुसार कात्तिक ९ गते महाराजगञ्जस्थित एक घरबाट समातिएका जुवाडे अस्पताल भर्ना भएका छन् । जुवाडे अस्पताल भर्ना भएपछि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ ।

तिहारका बेला महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीलले २५ जनालाई एउटै घरबाट पक्राउ गरेको थियो । उनीहरू बिरामी परेपछि प्रहरीले लैजाने र ल्याउने गरेको छ । केही बिरामीको अवस्था गम्भीर देखिएकालले अस्पताल भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार