संखुवासभामा ६ महिनादेखि सुनिता किराती थुनामा

  सिलिचुङ समाचारदाता

संखुवासभा । किरात राई विद्यार्थी संघकी नेतृ सुनिता किराती ६ महिनादेखि संखुवासभा कारगारमा थुनामा रहेकी छन् । राई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासमेत रहेकी उनलाई गत चैत ८ गते काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।
संखुवासभा घर भएकी उनीविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ । उनलाई जिल्ला अदालत संखुवासभाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
हाल उनलाई जिल्ला कारागार संखुवासभामा राखिएको छ ।
किरात राई विद्यार्थी संघ संखुवासभाका पूर्वअध्यक्ष रहेकी सुनितालाई फरक राजनीतिक विचार बोकेकै आधारमा राज्यले पक्राउ गरेको किरात राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले बताए ।
उनले सुनितालाई तत्काल रिहाइ गर्न सरकारसँग माग पनि गरे । उनले भने, ‘फरक राजनीतिक विचार बोकेकै आधारमा सुनिता किरातीलाई पक्राउ गरी मुद्दा चलाइएको छ । उनलाई विनासर्त रिहाइ गर्न हामी सरकारसँग माग गर्दछौं ।’
अध्यक्ष राईले विगतमा किरात राई विद्यार्थी संघका संस्थापक नविन राईलाई पनि फरक विचार बोकेकै आधारमा राज्यले पक्राउ गरी बेपत्ता बनाएको स्मरण गरे ।
यसैबीच सोमबार संखुवासभाको खाँदबारीमा किरात राई विद्यार्थीहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार