इलाका प्रशासनबाट दैनिक सेवा पुनः सुचारु

  सिलिचुङ सम्बाददाता

इलाका प्रशासन कार्यालय दिङला

भोजपुर । विगत ८ महिनादेखि कार्यालय प्रमुख विहिन बनेको इलाका प्रशासन कार्यालय दिङ्लाबाट दैनिक सेवा पुनः सञ्चालनमा आएको छ । कार्यालयको कामू अधिकृतको रुपमा कर्मचारी आएपछि दैनिक प्रशासनिक कार्यसम्पादन पुनः सुचारु भएको हो ।
गत ०७५ चैत १४ गते कार्यालय अधिकृत बिजय राईको सरुवा भएपछि सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता सिर्जना भएको थियो । कामू अधिकृतको रुपमा महेशलाल मण्डल आएपछि इलाका प्रशासन कार्यालयमा दैनिक कामकाज सञ्चालन आएको हो । यसअघि कार्यालय प्रमुख नहुँदा जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअबाट महिनामा २ पटक सेवा प्रवाह हुदै आएको थियो ।
कार्यालयको कामको बोझ थपिएका बेला गत श्रावणको १२, १३, २६, २७ र आश्विन २७ र २८ मा तात्कालिन सहायक प्रजिअ प्रयास भट्टराईले कामूको रुपमा सेवा दिए । त्यस्तै भाद्र ११ र १२ मा सहायक प्रजिअ कृष्ण बहादुर बस्नेतबाट कार्यसम्पादन धानेका थिए ।
कामूको रुपमा नयाँ कार्यालय प्रमुख आएपछि आईतबार र सोमबार मात्रै सक्कल नागरिकता ४७ र प्रतिलिपी २० गरि ६९, जनजाती प्रमाण २, द्रुत राहदानी सिफारिस १६ र पासपोर्ट २ थान बनेको इलाका प्रशासन कार्यालयका सुब्बा चिरञ्जिवी गुरागाँईले बताए ।
इलाका प्रशासन कार्यालयदेखि प्रवाह हुने सेवामा कुनै अभाव हुन नदिने र इलाका प्रशासन कार्यालयमा आउन नसक्ने सेवाग्राहीलाई घरमै पुगेर नगरिकता प्रदान गरिने कार्यालय प्रमुख महेशलाल मण्डलले बताए । इलाका प्रशासन कार्यालयको दैनिक सेवा सुचारु भएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाँउपालिकाका सर्वसाधरण हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार