आयूर्वेदिक उपचारः शहरबजारभन्दा गाउँमा मोह बढ्दो

  सिलिचुङ सम्बाददाता

स्थानीय भोजपुर सदरमुकामका फुटपाथमा बेच्न राखिएका जडिबुटी । तश्विर, सिलिचुङ

भोजपुुर । भोजपुर नगरपालिका ५, बोखिमका ५६ वर्षिय अर्जुन कुमार राई गत बैशाख १७ गते पहेँलो जण्डिसले थलिए । विहान बेलुकी झनझन जण्डिसले सिकिस्त बनाउन थाल्यो । सामान्यतयाः दिशापिसाब गर्न चर्पि जाँदासम्म साहारा चाहिने अवस्थामा पुगे । घण्टौ लगाएर अस्पताल जानुको सट्टा उनले जडिबुटीको नियमित सेवन गर्ने निधो गरे ।

दुरदराजका भित्री ग्रामिण भेगका सर्वसाधरणहरुरु स्थानीयस्तरमै पाईने जडिबुटी र प्राकृतिक औषधीजन्य बनस्पति लगायत वैदिक आर्यूवेदिक उपचार गर्छन्

राईले पहेँलो जण्डिसको निदानका लागि गाउँकै एकजना प्रख्यात जडिबुटी वैध राजिन्द्र प्रधान कहाँ परामर्श र औषधापचार गर्न घर पुगे । शरिर एकदमै कमजोरी भईसकेकाले राईले वैध राजिन्द्रलाई झारपातको उपचार गर्न घरमै बोलाए । अर्जुनलाई जण्डिसले गहिरो रुपमा गाँजेको थाहा पाएपछि वैध राजिन्द्रले नियमित जडिबुटीको उपचारमा धाउने थाले । करिब ६ दिन लगातार जडिबुटीको उपचारपछि उनी पहिले जस्तै हिँड्न, डुल्न, घुम्न, खाना रुचाउन थाले । उनको अवस्था पहिले जस्तै फुर्तिलो हुन थालेको छ ।
‘म पहिलेबाटै जडिबुटी तथा घरेलु औषधी सेवन गर्ने गरेको छु । अस्पताल वा मेडिकलमा उपचार गराउनुपर्ने मानसिकताले गर्दा मानिसहरु सामान्य टाउको दुख्दा सिटामोल खाने प्रवृति छ । जुन स्वास्थ्यको लागि हानिकारक हो ।’ राईले अनुभव सुनाए, ‘गाउँघर, भिरपाखामा पाईने जडिबुटी तथा घरेलु उपचारले पनि रोगको समस्या निदान हुनसक्छ ।’
वैध राजिन्द्र गाउँमा विगत १४ वर्षदेखि चिराईतो, मजिठो, जस्ता जडिबुटी तथा औषधिजन्य बनस्पतिको सहायताले मानिसको जण्डिस, ग्यास्ट्रिक, हाडजोर्नी, मर्केको, भाँचिएको, काटिएको घाउ, खिल पल्टने, कलेजो खराबी जस्ता स्वास्थ्य समस्याको निदान गर्नेगर्छन् । उनीकहाँ सयौँको संख्यामा जिल्लाभित्रका स्वास्थ्य समस्या लिएर आउने सर्वसाधरणको उपचार गरिसकेका छन् । तीमध्ये धरान, तरहराका ७ जना र पाँचथरका ६ जनाले ग्यास्ट्रिक गानो गोलाको समस्याको उपचार गरेर फर्कन्छन् । उनीकहाँ ३ देखी ५ विरामीहरु दैनिक आउने गर्छन् ।
जैविक विविधतासंगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको भोजपुरमा परम्परागत चिकित्सा विधिबाट उपचार गरिने जडिबुटी तथा प्रशस्त औषधीजन्य बनस्पति पाईने गरेको छ । अझैपनि दुरदराजका भित्री ग्रामिण भेगका सर्वसाधरणहरुरु स्थानीयस्तरमै पाईने जडिबुटी र प्राकृतिक औषधीजन्य बनस्पति लगायत वैदिक आर्यूवेदिक उपचार गर्छन् । बृद्धबृद्धा, अधबैंशेहरु बढिभन्दा बढि जडिबुटी र औषधिजन्य बनस्पति मिश्रीतको उपचार किफायती रुपमा लिने गरेको व्यापारी पिम्बा शेर्पाले बताईन् । उनका अनुसार विशेषगरि विरामीहरु काँचो सिम्रिक, यार्सागुम्बा, फिटकिरी, चिप्लेकिरा, बिखुमा, नाम्लेको औषधि, अन्य आर्युवेदिक औषधी सेवन गर्न आउने गरेका छन् ।
०५८ सालदेखि जिल्लामा आयूर्वेदिक जडिबुटीद्वारा मिश्रित औषधि तथा चुर्णहरु सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र, भोजपुर, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा गरी चार शाखा छन् । आयुर्वेदिक चिकित्साको ज्ञानको कमी, बुझाईको कमी, चेतनाको कमीले कतिपय मानिसहरु जडिबुटी सेवनलाई नमान्ने प्रवृति यथावत रहेको विगत १७ वर्षदेखि जडिबुटी सम्बन्धि काम गर्दै आएका टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका वैदिक चिकित्सक रामप्रसाद राईले बताए । भने, ‘धेरैजसो आयूर्वेद सम्बन्धि ज्ञान नभएका कतिपय मानिसहरुको सोचाई अझैपन यो विषाक्त हुने ठान्दछन् । उनीहरु सँधै मेडिकलको क्याप्सुल र औषधि उपचार गर्ने भएकाले पनि यस्तो किसीमको गलत भ्रम हो ।’
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र भोजपुरको तथ्याङ्ग अनुसार ०७५ माघ महिनादेखि असार तेश्रो हप्तासम्म कुल ७ सय ६७ जनामध्ये ६ सय ५२ जना विरामीहरु नियमित औषधी सेवनबाट निको भएका छन् । बाँकी १५ प्रतिशतको हाराहारीका विरामीहरु उपचारका क्रममा रहेका छन् । जसमध्ये अधिकांश मानिसहरु जन्डिस, ग्यास्ट्रिक, दम, खोकी, हाडजोर्नीका समस्या र नशा सम्बन्धिका रोगीहरु उपचारका लागि नियमित औषधि लिन आउने गरेको कार्यालय प्रमुख दिलिप झाले जानकारी दिए । आयुर्वेदिक उपचार र यसको असर ढिलो हुने भएकाले सर्वसाधरणहरुमा यसको चेतना पूर्ण रुपमा पुगिनसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार