जहाँ जिउँदैमा अन्तिम संस्कार गरिन्छ

एजेन्सी । दक्षिण कोरियाको एउटा सेवा केन्द्रले अन्तिम संस्कारको सुविधा प्रदान गरिरहेको छ । तर, जीवित व्यक्तिलाई मात्र सो सेवा प्रदान गरिन्छ । सन् २०१२ मा खोलिएको ‘ह्योवन हिलिङ सेन्टर’मा अहिलेसम्म २५ हजार मान्छेले जिउँदैमा अन्तिम संस्कारको अनुभव गरिसकेका छन्। बनावटी मृत्युको अनुभव गरेर आफ्नो जीवनमा सुधार गर्नका लागि यस्तो अनुभव लिइएको हो ।

‘जब तपाईं मृत्युप्रति सचेत हुनुहुन्छ, यसलाई अनुभव गर्नुहुन्छ, त्यसपछि तपाईं जीवनप्रति नयाँ दृष्टिकोण राख्नुहुन्छ,’ हालसालै अन्तिम संस्कारमा सहभागी ७५ वर्षीया चो जेई–हीले भनिन् । वरिष्ठ नागरिक कल्याण केन्द्रले सञ्चालन गरेको ‘सुन्दर ढंगले मर्ने कला’ नामक कार्यक्रममा उनी सहभागी थिइन् ।

हालसालै आयोजित कार्यक्रमा सयौँले मृत्युको अनुभव लिएका थिए । भर्खरका किशोरकिशोरीदेखि वृद्धबृद्धासम्म कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले शवले लगाउने वस्त्र लगाएका थिए, आफ्नो अन्तिम संस्कारको तस्बिर खिचाएका थिए, अन्तिम इच्छा लेखेका थिए र शव बाकस (कफिन) मा १० मिनेट सुतेका थिए ।
विश्वविद्यालयका विद्यार्थी चोई जिन–क्यूले कफिनमा बिताएको १० मिनेटले आफूले जीवनको निस्सारता बुझेको बताए । ‘कफिनमा सुत्दा मैले जिउनका लागि गरिने अनेक होडबाजी कति अर्थहीन छन् भन्ने बुझेँ,’ २८ वर्षीय विद्यार्थी क्यूले भने, ‘स्नातक गरेपछि मैले अत्यन्त प्रतिस्पर्धात्मक रोजगारी बजारमा प्रवेश गर्नेबारे सोचेको थिएँ । तर, कफिनमा बिताएका केही मिनेटले मलाई यी सबै प्रतिस्पर्धा वाहियात लागे । अब म आफ्नै व्यापार सुरु गर्छु र शान्त ढंगले जीवन बाँच्छु ।’

‘अर्गनाइजेसन फर इकोनोमिक कोपरेसन एन्ड डेभलोपमेन्ट’को श्रेष्ठ जीवन सूचकांकमा दक्षिण कोरिया ४० देशमध्ये ३३ औँ स्थानमा पर्छ। अधिकांश दक्षिण कोरियाली युवा शिक्षा र रोजगारीलाई लिएर अत्यन्त महत्त्वाकांक्षी छन् । तर, बढ्दो बेरोजगारीले उनीहरूलाई निराशातर्फ धकेलिरहेको छ । सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले दक्षिण कोरियामा आत्महत्या दर डरलाग्दो भएको देखाएको थियो । त्यतिबेला एक लाख दक्षिण कोरियालीमध्ये २०.२ जनाले प्रतिवर्ष आत्महत्या गर्थे । जबकि अन्य देशमा औसत आत्महत्या दर १०.५३ प्रति एक लाख जनसंख्या थियो ।
‘युवा उमेरमै मृत्युबारे सिक्नु र यसका लागि तयार रहनु महत्त्वपूर्ण छ,’ मृत्युसम्बन्धी एक किताब लेखेका आसान मेडिकल सेन्टरका प्राध्यापक डा. यू अन–सिलले भने, ‘जीवन अमूल्य वरदान हो भन्ने सत्य सबैले बुझ्नु जरुरी छ ।’ अन्तिम संस्कारको सेवा प्रदान गर्ने ह्योवन केन्द्रले सञ्चालन गरेको जीवितलाई मृत्युको अनुभव गराउने कार्यक्रमको एक मात्र लक्ष्य छ – मान्छेहरूलाई जीवनको महत्त्व बुझाउनु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार