चेतनाको कमीले आँखाका रोगी बढ्दै

  सिलिचुङ सम्बाददाता

आँखा अस्पताल भोजपुरमा बालिकाको आँखाको चेकजाँच गर्दै चिकित्सक । तश्विर, सिलिचुङ

 

भोजपुर । आँखाको सुरक्षामा पर्याप्त चेतनाको कमीले आँखाका विरामीको संख्या बढदै गएको छ । नयाँ ईलेक्ट्रोनिक्स प्रविधी प्रतिको एकोहोरो चासो र रोग लागेपछि समयमै उचित उपचारमा ध्यान नपु¥याउनाले पनि आँखा रोगीको संख्या बढेको हो ।

आँखामा चोट लाग्ने, मोतीविन्दुका लक्षण भएका विरामी, मधुमेह विरामीहरु रोगलाई सामान्य लिने, मोबाईल, टिभी, कम्प्यूटर, ल्यापटप लगायत ईलेक्ट्रोनिक्स सामाग्रीको प्रयोग बढि गर्नाले पनि विरामीको संख्या दिनप्रतिदिन बढेको छ 

पछिल्लो केहि वर्षयता विशेषगरी बालबालिकामा आँखाको समस्या बढि देखिने गरेको आँखा अस्पताल भोजपुरले जनाएको छ । बालबालिकाको सिकाई र नयाँ पाठ्यक्रम ईमेल, ईन्टरनेट जस्ता ईलेक्ट्रोनिक्स सञ्जालसंग जोडिएकाले पनि त्यसप्रतिको बढ्दो लगावले आफ्ना बालबालिकामा आँखाको समस्या भएको सर्वसाधरण स्विकार्छन् । ‘स्कूलमा होस् या घरमा बस्दा, केहि सिक्लान्, ईच्छा पूर्ति होला भनेर मोबाईल, ल्यापटप दियो, केहि समयपछि चस्मा लगाईदिनुपर्छ’ भोजपुर नगरपालिका ५, बोखिमका युरी राईले भने, ‘एकोहोरो मोबाईल, टिभी, ल्यापटपमा बस्ने भएर पनि होला बच्चाहरुको आँखा दुख्ने, पाक्ने, कमजोर भएको छ’
आधुनिक ईलेक्ट्रोनिक्स सामाग्रीप्रतिको बढ्दो रुचिले पनि बालबालिकामा आँखाको समस्या दिनप्रतिदिन बढेको आँखा अस्पताल भोजपुरले जनाएको छ । बालबालिकाबाहेक अन्य उमेर समुहका ग्रामिण सर्वसाधरणहरुमा पनि आँखाबारे सुरक्षाको चेतना नहुँदा आँखाका समस्या बढेको चिकित्सक विजय तामाङ बताउँछन् । उनका अनुसार कतिपयको आँखाको ज्योति नै गुम्ने समस्या पनि देखिने गरेको छ । आँखामा चोट लाग्ने, मोतीविन्दुका लक्षण भएका विरामी, मधुमेह विरामीहरु रोगलाई सामान्य लिने, मोबाईल, टिभी, कम्प्यूटर, ल्यापटप लगायत ईलेक्ट्रोनिक्स सामाग्रीको प्रयोग बढि गर्नाले पनि विरामीको संख्या दिनप्रतिदिन बढेको उनले बताए ।
अस्पतालको तथ्याङ्क अनुसार ०७३÷७४ मा २ हजार १ सय ८७, ०७४÷७५ मा २ हजार ३ सय ८६ र ०७५÷७६ मा २ हजार ५ सय २७ जना विरामीहरु आँखाको उपचारका लागि आएका छन् । जसमा सबैभन्दा बढि बुढाबुढी र केटाकेटी रहेको अस्पतालले जनाएको छ । अहिले पनि अस्पतालमा दैनिक १० देखी १५ जना विरामीहरु उपचारका लागि आउने गरेको चिकित्सक सावित्रादेवी तामाङले बताईन् ।
विगतका वर्षबाट अस्पतालले विभिन्न ग्रामिण भेगमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । योवर्ष मात्रै जिल्लाका दिङ्ला, अन्नपूर्ण, घोरेटार, बालंखा, चयाङ्ग्रे, लगायतका स्थानमा दर्जनबढी शिविर सञ्चालन गरिएको थियो । करिब २ वर्षअघिमात्र जापान सरकारको सहयोगमा आँखा अस्पताल बनेपछि अस्पतालमा केहि जटिल शल्यक्रियाबाहेक सबै किसीमका उपचार, औषधी र परामर्श सहज र सुलभ भएको सर्वसाधरण सुनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार