माधब नेपालका लागि १२ बर्षपछि फर्कन लागेको राजनीतिक खोला

जनजिब्रोमा झुण्डिएको एउटा उखान हो– १२ बर्षपछि खोलापनि फर्कन्छ । यसको अर्थ हो–समयक्रममा असम्भवपनि सम्भव हुन्छ । यो उखान नेपालको राजनीतिमा फेरि सान्दर्भिक हुने संकेत देखा परेका छन् ।

०६४ को आखिरीमा भएको पहिलो संबिधानसभा निर्वाचनमा एमाले नराम्रोसँग पराजित भयो । बिद्रोहबाट आएको माओबादीको उर्लदो भेलले एमाले बढारियो । एमालेका तत्कालीन महासचिव माधबकुमार नेपाल दुई ठाउँबाट पराजित भए । निष्ठाको राजनीति गर्ने भनिएका नेपालमाथि नैतिक संकट आइलाग्यो । अबिछिन्न १५ पार्टीको बागडोर सम्हालेका नेपालले २०६५ को शुरुवातमै महासचिब पदबाट नैतिकताका आधारमा राजीनामा दिए ।

नेता नेपाल अपजसी पात्र पनि हुन । माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने प्रमुख पात्र नेपाल हुन् । तर, उनले त्यसको जस पाउन सकेनन् । गिरिजाप्रसाद कोइराला र प्रचण्डको पोल्टामा मूलरुपमा जस गयो । तत्कालीन राजा ज्ञानेन्द्रबाट व्यक्तिगतरुपमै अपमानित भएपछि नेपालले देखाइदिन भएपनि गणतन्त्र ल्याउने कसम खाए । केपी ओलीलगायतका नेताहरुले गणतन्त्रको कुरा गर्नु बयलगाडा चढेर अमेरिका जानुजस्तो हावा कुरा भनिरहेका थिए । तर, नेपाल गणतन्त्रका लागि माओवादी, काँग्रेस र एमालेको सहकार्यका लागि संवाद थालिरहेका थिए । गिरिजाप्रसाद कोइराला नेपाली प्रजातन्त्रको घाँटी राजतन्त्रसँग जोडिएको मान्यताबाट बिमुख भइसकेका थिएनन् । नेपाल भने सिलगुडी, लखनउ पुगेर माओवादीसँग वार्ता गरिरहेका थिए । कोइरालाले बेबी किँगको कुरा गर्दै थिए, एमालेले गणतन्त्रको नीति अख्तियार गरिसकेको थियो । जब गणतन्त्र आयो, गणतन्त्रका नायकका रुपमा कोइराला र प्रचण्डको बिरासत बन्यो । नेपाल हेरेको हे¥यै भए ।

माधब नेपाल शान्तिप्रक्रियाका निर्णायक व्यक्ति पनि हुन । अनमिन हट्ने चालचुल थिएन । प्रधानमन्त्री थिए नेपाल । नेपालले अनमिनको म्याद थप्न इन्कार गरिदिए । अनमिन बाहिरियो । अनमिन बाहिरिएसँगै माओवादीमाथि दबाब प¥यो । प्रधानमन्त्री नेपालकै नेतृत्वमा माओवादी लडाकु नेपाली सेना मातहत आयो । तरपनि नेपालले जस पाएनन् ।
माधब नेपालले पार्टी महासचिबबाट राजीनामा दिएपछि नेतृत्वमा आएका थिए पूर्वमहासचिव रहिसकेका झलनाथ खनाल । पार्टीको आठौँ महाधिबेशनबाट केपी ओलीलाई पराजित गर्दै खनाल अध्यक्ष भए । खनाल अध्यक्ष रहेकै बखत नेपाल प्रधानमन्त्री भएका थिए काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको प्रस्ताबमा । प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिइ नागरिक सर्वोच्वताका लागि भन्दै भीषण सडक आन्दोलन थालेको थियो । कठीन परिश्थितिमा पनि प्रचण्डसँग बार्ता गर्न, फकाउन र गलाउन नेपाल सफल भएका थिए । तर, सोको जसपनि नेपालले पाएनन् ।

खनालको नेतृत्वमा एमाले ०७० सालको संविधानसभा निर्वाचनमा सहभागी भयो । एमाले बौरियो । शक्तिशाली पार्टी बन्यो । माओवादी निक्कै खस्किएको थियो । माओवादी सो निर्वाचनमा पनि बलियो भएको भए एमाले सकिन्थ्यो भन्ने धेरै छन् । माओवादीलाई राजनीतिकरुपमा हायलकायल पार्न नेपालको मुख्य भूमिका थियो । विधिवतरुपमा खस्काउन खनालको नेतृत्वमा लडाइ लडिएको थियो । जस नत नेपालले पाए नत खनालले ।

जस गयो केपी ओलीलाई । कुनैपनि मोर्चाबन्दीमा नेतृत्व गरेका थिएनन् ओलीले । उनी माओबादीका विरुद्ध बक्तब्यबाजी गरेकै कारण पार्टीपंक्तिमा आकर्षक बनेका थिए । पार्टीभित्र सधैँ प्रतिपक्ष कित्तामा रहेका ओलीलाई एकसाथ पार्टी सत्ता र राज्यसत्ता हात लाग्यो ।

पेलाइमा परे खनाल र नेपाल । पार्टीभित्र खाशै गुटको राजनीति नगरेका खनालसँग ओलीलाई डर थिएन । डर थियो त नेपालसँग । नेपाललाई किनारा लगाउन ओलीले सबै अश्त्र प्रयोग गरे । कतिसम्म भने नेपाल पक्षका महिला नेतृहरुलाई ओली निकटकाले ह्मुलियट गर्थे । पार्टी नेतृत्व रमाउथ्यो । विदेश विभाग प्रमुख रहेका नेपाललाई थाहै नदिइ उनी निकटका जिल्ला तहका नेता बिदेश घुमाइन्थे । आश र त्रास देखाएर कित्ता परिवर्तन गराइन्थ्यो । जो प्रलोभनमा पर्दैनथे उनीहरुमाथि पेलान गरिन्थ्यो । जिम्मेवारी दिँदा बरियता, योगदान र योग्यताको बहीखाता पल्टाइन्थ्यो । गुट हेरिन्थ्यो । बैठक बस्दैनथ्यो । निर्णय मदन भण्डारी प्रतिष्ठानमा हुन्थ्यो । यतिसम्म पेलिएछ कि माधब नेपालले एक अन्तरर्वार्तामा ओलीलाई सहिदका पत्नी ताक्ने, भ्रष्टाचारी, गुण्डा र लठहितहरुको नेता भनिदिए । जस्ता नेता उस्तै कार्यकर्ता भन्ने नेपालको सार्वजनि अभिव्यक्तिले राजनीतिको चरित्रबारे गम्भीर प्रश्न खडा गरिदियो ।

 

जीबित नेतृ मध्येकी बरिष्ठतम अष्टलक्ष्मी शाक्यको हुर्मत लिन के कति गरियो भन्ने बारे प्रदेश नम्बर तीनको मुख्यमन्त्री निर्वाचनलाई हेर्न सकिन्छ । प्रथम महिला प्रधानमन्त्रीका रुपमा हेरिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने आश्वासनसहित प्रदेश साँसद बनाइएको थियो । अघिल्लो दिनसम्म डोरमणि पौड्याल शाक्यसम्म आफूलाई मन्त्री बनाउनुहोला भन्दै अनुनय गरिरहेका थिए । भोलिपल्ट ओलीले शाक्यको बिरुद्धमा उनै पौड्याललाई उठाइदिए । केन्द्रीय सदस्यसमेत नरहेका पौड्यालले बरिष्ठतम नेतृ शाक्यलाई हराइदिए । शाक्य अपमानित भइ रोइरहँदा ओली बिजयको अँटहास गरिरहेका थिए । नेतृत्वको आलोचना नगर्ने नीतिगत सवालमा मात्र केन्द्रीत रहने छबी बनाएकी शालिन स्वभावकी शाक्य अहिले ओलीका बिरुद्ध ओलीकै सामू सबैभन्दा प्रष्टसँग अभिव्यक्ति दिने हिक्मत गरेकी छिन्।

एमाले–माओवादीबीच एकीकरण गर्ने निर्णय माधब नेपाल नेतृत्वमा छँदै भएको थियो । तर कार्यान्वयन ओली नेतृत्वमा हुँदा भयो । प्रचण्डसँग सहज सम्बन्ध नेपालको थियो । पार्टी एकतापछि परिश्थिति बेग्लै भयो । ओली र प्रचण्डको मोर्चा यसरी कसियो कि बन्धनमा उनै नेपाल परे । धेरैले माधब नेपाललाई सहानुभुति दिँदै भन्थे–यसरी चल्दैन । नेपाल जवाफ फर्काउथे–धैर्यता आफैँमा शक्ति हो, ओलीलाई सबैले चिन्न बाँकी छ । प्रचण्ड र ओलीको मिलन क्षणिक हो ।
परिश्थिति माधब नेपालले चित्रण गरेजस्तै हो कि भन्ने देखिदैछ । ओलीलाई पार्टी सत्ता र राज्यसत्तामा आरोहण गराउने मुख्य काँध बामदेब गौतम हुन । अहिले गौतम काँध फेर्ने निष्कर्षमा पुगेका छन् । ओलीले प्रचण्डलाई कुष्ठाग्रस्तको संज्ञा दिएका छन् । प्रचण्ड फिलिङ कार्यकारीको अवश्थाबाट उकुसमुकुस छन् । झलनाथ खनाललाई न आश न त्रास छ । उनी ओलीको कार्यशैलीबारे पहिलै देखि असन्तुष्ट छन् । निर्णायक बनेका छन् माधब नेपाल ।

माधब नेपाल पार्टी राजनीतिमा ठीक १२ बर्षपछि केन्द्रबिन्दु बनेका छन् । उनले जे कदम चाल्छन् सो कदममा उनको राजनीतिक भविश्य मात्र निर्भर गर्ने छैन देशकै राजनीतिक दिशा तय गर्नेछ । तर, नेपालले कस्तो कदम चाल्छन् भन्ने एकीन छैन ।
सहमति र सहकार्यका लागि कदम चाल्न नेपाल हौसिन्छन् । तर प्रतिश्प्रर्धा र लडाइका सवालमा नेपालले खुट्टा कमाउने गरेको इतिहास छ । ०५१ को मध्यावधीमा उनी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएनन् । महासचिव भइकनपनि उनले राष्ट्रियसभाको सजिलो बाटो रोजे । महासचिवपनि सर्वसम्मतिमै भए । नवौं महाधिवेशनमा पनि उनी ढिलो गरी उम्मेदवार हुन तयार भएका हुन । ओलीको पेलाइमा मोर्चाबन्दी गरेपनि निर्णायक अवश्थामा उनले कोल्टे फेर्दै आएको नजिर छ । अहिले कोल्टो फेर्छन वा कम्मर कस्छन् ? आम प्रतीक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार