‘न घर जान पाईयो न क्वारेन्टाईन भित्रै राम्रो व्यवहार पाईयो’

  सिलिचुङ सम्बाददाता

अरुण गाउँपालिका ६, जरायोटारस्थित क्वारेन्टाईनमा बसेका स्थानीय । तश्विर

 

भोजपुर । अरुण गाउँपालिका चरम्बीकी नमुना घिमिरे काठमाडौँ पढ्न बस्छिन् । कोरोना संक्रमण बढेपछि सरकारले लकडाउन ग¥यो । महिना दिनसम्म डेरामै बसिन् । घरबाट पठाएको पैसाले जसोतासो दिन गुजारा चल्यो । लकडाउन खुल्ने कुनै छाँटकाट नआएपछि घर फर्कन तरखर गर्न थालिन् । तर घर फर्कने कुनै विकल्प थिएन ।

खान र आवासबाहेक क्वारेन्टाईनभित्रको आपसी व्यवहारमा समेत दमित हुनुपरेको उनीहरुको गुनासो गर्छन्

केहि समयपछि गाउँपालिकाले आफ्ना नागरिक फर्काउने भनेपछि उनी अरुसंगै रातारात बस चढेर भोजपुर निस्किए । उनीसंगै आएका सबैलाई अरुण गाउँपालिकाको चरम्बीस्थित एक विद्यालयमा बनाईएको क्वारेन्टाईनमा राखियो । तर क्वारेन्टाईनभित्र केहि दिनअघि मात्र बसेका स्थानीयले गरेको व्यवहारले उनलाई आश्चर्यसंगै दुखित तुल्यायो । क्वारेन्टाईनमा बस्नेहरुमध्ये कतिले ‘कोरोना ल्यायो है’ भन्दै अवहेलना गरे । १५ मिनेट पैदल दुरीमा पर्ने घरसम्म पुग्न समेत पाईनन्, उनले । त्योमाथि क्वारेन्टाईनमा बस्नेहरुबाटै अवहेलना भएपछि झनै खिन्न बनाएको उनी सुनाउँछिन् ।
‘क्वारेन्टाईनभित्रै बस्नेहरुले पनि अवहेलना गर्छन्, गाउँलेले त झन साह्रै नमिठो व्यवहार गर्छन्’ नमुनाले दुखेसो पोखिन्, ‘घरसम्म जान पाईएन बरु यहाँ बस्नेबाटै हेला पाईयो, घर नजिकै भएपनि लकडाउनले कोहि भेट्न पनि आएनन्’ नमुना जस्तै अन्यलाई पनि क्वारेन्टाईन कक्षभित्रै पनि छिछिधुरधुर हुनुपरेको विडम्बना छ ।
बाटोमा हिँड्दा पनि गाउँलेबाट अपहेलित हुनुपरेको सानो बच्चा बोकेर क्वारेन्टाईनमा बसेकी प्रतिक्षा तामाङले गुनासो गरिन् । ‘बाटोमा हिँड्यो गाउँका मान्छेहरु कोरोना ल्यायो भन्छन्, साह्रै चित्त दुख्छ’ उनले सुनाईन् । अरुण गाउँपालिकाका विभिन्न वडामा बनाईएका क्वारेन्टाईनमा काठमाडौँबाट आएका सबैलाई खान र आवासबाहेक क्वारेन्टाईनभित्रको आपसी व्यवहारमा समेत दमित हुनुपरेको उनीहरुको गुनासो गर्छन् ।
स्थानीय तहले आफ्ना नागरिकलाई लैजाने कुनै व्यवस्था नमिलाएपछि समस्या भोग्नुपरेको भोजपुर नगरपालिकाका दिपेन्द्र आलेमगरले बताए । पढाई शिलशिलामा ईटहरी बस्दै दिपेन्द्रले कष्टकर यात्रा गरेर भोजपुर छिरेपनि धुलाम्मे क्वारेन्टाईनमा कोचिएर बस्दाको पिडाले सताउने गरेको सुनाए । ‘नगरपालिकाले क्वारेन्टाईनको व्यवस्था गरिएको छ भन्दै बोलायो, तर लेगुवा कट्ने वितिक्कै धुलैधुलो क्वारेन्टाईनमा ल्याएर थन्क्याईदियो, एकसरो गुन्द्री र तन्नामा रात काट्नुपर्छ’ उनले भने, ‘१२ घण्टा भोकभोकै आईयो, न घर जान पाईयो न बसाईँ नै राम्रो छ’ यता नगरपालिकाका मेयर कैलाश कुमार आलेले क्वारेन्टाईनमा बसिरहेका आफ्ना नागरिकलाई घर फर्काउने व्यवस्था मिलारहेको बताए । भने, ‘हाम्रा नागरिकलाई घर फर्काउने प्रबन्ध मिलाईरहेका छौँ, उनीहरुलाई यहाँबाट होम क्वारेन्टाईनमा पठाई तयारी गरिएको छ’


क्वारेन्टाईनमा राखिएको भोजपुरबासीलाई नियमित स्वास्थ्य चेकजाँच नहुँदा अन्य रोगको संक्रमण हुने जोखिम बढेको छ । विशेषगरि मौसम परिवर्तनको बेला भएकोले साना बालबालिकामा स्वास्थ्य समस्या हुने अभिभावकहरु सुनाउँछन् । क्वारेन्टाईनमा आवासका सामाग्रीभन्दा खानेपानी, सेनिटाईजर लगायतका सामाग्रीको चरम अभाव खट्किएको क्वोरेन्टाईनमा बस्नेहरु गुनासो गर्छन् । क्वारेन्टाईनमा बसेका संगिता श्रेष्ठले भने, ‘खान र बस्नको राम्रो प्रबन्ध नहुँदा मेरो बच्चालाई एलर्जी निस्केको छ, पोषिलो आहार दिन नसक्दा अन्य संक्रमण होला कि भन्ने डर छ’
एकातिर अव्यवस्थित क्वारेन्टाईन अर्कोतिर राम्रो आवास र खानपान नहुँदा बढि समस्या खेप्नुपरेको छ । यता वडातह र स्थानीय तहले भने सम्पूर्ण स्रोत र साधनको प्रयोग गरी कुनैपनि कुराको कमी हुन नदिएकोे बताएको छ । गाउँपालिकाले आर्थिक क्षमता र वातावरणको अनुकुल नै क्वारेन्टाईन बनाएर राख्ने व्यवस्था मिलाएको अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए । भने, ‘गाउँपालिकाको श्रोत साधनले जति धान्छ त्यसै अनुरुप धानिरहेका छौँ’ काठमाडौँ, सुनसरी लगायत विभिन्न स्थानबाट अरुण गाउँपालिकाका एकसय ३२, टेम्केमैयुङ गाउँपालिकाका १५ जना र भोजपुर नगरपालिकाका ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार