कोरोना भाइरसविरुद्धको खोपमा सफलतानजिक

लण्डन। बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

बेलायतस्तिथ अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको शोधकर्ताहरुले समाचार एजेन्सी रोयटर्सलाई बताएका हुन् ।

शोधकर्ताहरुले ६ वटा बाँदरको एक समूहमा यो खोपको प्रयोग गरेको र अहिले त्यो खोपले काम गरिरहेको जनाइएको हो । अब यो खोप मानिसमा परीक्षण गरिने छ । वैज्ञानिकले खोपको जाँच पनि गर्नेछन् ।

अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका शोधकर्ताहरुसँग मिलेर कोरोना भाइरसको खोपको बारेमा काम भइरहेको बेलायती औषधि निर्माता एझेडएनएलले गत महिना बताएको थियो ।

६ वटा बाँदरलाई भारी डोज दिनुअघि यो खोप लगाइएको थियो । यो खोपबाट केही बाँदरको शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लागेको जनाइएको छ ।

कोरोना भाइरसको सम्पर्कमा आएपछि यो खोपले ती बाँदरको फोक्सो क्षति हुनबाट बचाएको र शरीरमा भाइरसको कपी बन्न र बढ्न रोकिएको शोधकर्ताले बताएका छन् । नाकमा भने अझै भाइरस सक्रिय रहेको बताइएको छ ।

लण्डन स्कुल अफ् हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर डाक्टर स्टिफिन इभान्सले बाँदरमा गरिएको अनुसन्धानको नतिजा राम्रो खबर भएको भन्दै अक्सफोर्ड भ्याक्सिनको लागि निकै ठूलो उपलब्धि भएको बताए ।

गत मे १३ सम्म शोधको लागि स्वेच्छाले आएका झण्डै एक हजार मानिसमा परीक्षणको रुपमा यो खोप लगाइएको शोधकर्ताहरुले बताएका छन् । अबको एक महिनासम्ममा केही स्पष्ट निष्कर्ष आउने आशा उनीहरुको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार