सुशान्तको अन्तिम फिल्म डिज्नी प्लस र हटस्टारमा रिलिज हुने

सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचरा’ डिजिटल रिलिज हुने भएको छ । भारतीय मिडियाका अनुसार यस चलचित्र जुलाई २ देखि डिज्नी प्लस र हटस्टारमा हेर्न सकिनेछ ।

 

सुशान्तका साथमा सन्जना सांघी र सैफ अली खान अभिनीत चलचित्रलाई मुकेश छाब्राले निर्देशन गरेका हुन् । मुकेशको यो डेब्यु निर्देशन हो । अभिनेत्री सन्जना सांघीले यसै चलचित्रबाट बलिउडमा डेब्यु गरेकी हुन् । फिल्मको डिजिटल रिलिजको घोषणा गर्दै, प्रेम, आशा र अनन्त सम्झनाको कथा हाम्रो सबैभन्दा प्रिय सुशान्तको सम्झनामा यस चलचित्र रिलिज हुने भनी अभिनेत्री सांघीले लेखेकी छिन् । चलचित्र  डिज्नी प्लस र हटस्टारका सब्सक्राइबर तथा अन्य सबैले हेर्न मिल्ने बताइएको छ ।

 

सुशान्तका लागि श्रद्धाञ्जली स्वरूप फिल्म प्लेटफर्म सब्सक्राइब गर्ने र सब्सक्राइब नगर्ने सबैका लागि उपलब्ध हुने समेत जनाइएको छ । दिल बेचरा जोन ग्रीनको बेस्टसेलर किताब ‘द फल्ट इन आवर स्टार्स’मा आधारित छ । यस चलचित्र मे ८ मा प्रदर्शनमा आउने भनिएको थियो, तर कोरोनाभाइरस महामारीको कारण तोकिएको समयमा रिलिज हुन पाएन । सुशान्तले छायाङ्कन पूरा गरेको यो अन्तिम चलचित्र हो । उनले गत साता मात्रै मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरे । यसअघि उनी फिल्म ‘छिचोरे’मा मुख्य भूमिकामा देखिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार