अल्डरसटमा एक नेपाली महिलालाई आफ्नै शिशुको हत्या अभियोग

लन्डन । ब्रिटेनका प्रहरीले भर्खर जन्मेकी शिशुको हत्या गरेको अभियोगमा पक्राउ परेकी एक नेपाली महिलाको नाम सार्वजनिक गरेका छन् । २३ वर्षीया बबिता राईलाई ती शिशुको हत्या गरेको अभियोगमा बुधबार वीन्चेस्टर क्राउन कोर्टमा उपस्थित गराइएको छ । राई अगष्ट १९ मा वीन्चेस्टर क्राउन कोर्टमा हुने ‘प्रि-ट्रायल हेयरिङ’ सम्म कस्टडीमा रहने छिन् ।

 

ती शिशु कन्या भएको र प्रहरीले अदालतमा उनको सांकेतिक नाम ‘एम’ राखिएको जनाएका छन् । ती शिशुको शव झन्डै तीन वर्ष पहिले मे २०१७ मा अल्डरसट म्यानर पार्कमा भेटिएको थियो ।

 

सो घट्नामा प्रहरीले अरु चार जनालाई पनि पक्राउ गरेको थियो तर प्रहरीले मुद्दा दायर गरेको राई पहिलो व्यक्ति हुन् । सन् २०१७ मेमा अल्डरसट म्यानर पार्कको झाडीमा मर्मत सम्भार गर्ने काउन्सिलका एक कामदारले ति शिशुको मृत शरीर भेटेका थिए ।

 

टाउकोमा कयौं गम्भीर चोटका कारण ति बच्चीको निधन भएको सन् २०१८ मा गरिएको पोष्टमोर्टम रिपोर्टमा उल्लेख थियो । सन् २०१७, मे १५ को सांझ ६ बजेदेखि मे १९ बिहान ८ बजेसम्म शिशुलाई फ्यांकिएको विश्वास प्रहरीको छ । मे १९ शुक्रबार दिउसो काउन्सिल कामदारले शिशुबारे प्रहरीलाई खबर गरेका थिए ।

 

डिटेक्टिभ चिफ इन्सपेक्टर डेभिड स्टोरेले भनेका छन्, ‘हामीलाई थाहा छ यो घट्ना समुदायमा धेरैका लागि ज्यादै उदेकलाग्दो थियो । हामी आश्वस्त पार्न चाहन्छौं कि हाम्रा अधिकृतहरु संवेदनशील अनुसन्धानका लागि प्रशिक्षित छन् । हामी हत्यामा संलग्नलाई कारवाही गर्न निरन्तर लाग्नेछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार