भोजपुरमा पहिलोपटक शल्यक्रियाबाट प्रसुती गरियो

  सिलिचुङ सम्बाददाता  162 पटक हेरिएको

सोमबार जिल्ला अस्पताल भोजपुरको एकमात्र प्रसुती गृहमा शल्यक्रियामार्फत प्रसुती गराउँदै चिकित्सक टोली । तश्विर/सिलिचुङ साप्ताहिक

भोजपुर । प्रसव पिडाले च्यापेसंगै अपरेशनद्धारा प्रसुती गर्नुपर्ने अवस्था आएपछि भोजपुर नगरपालिका ७, जिरोप्वाईन्टकी १८ वर्षिया चन्द्रकला तामाङलाई आईतबार राती नै जिल्ला अस्पतालमा भर्ना गरियो । जिल्ला बाहिर लाने स्थिती नबनेपछि परिवारको पनि अन्तिम विकल्पको रुपमा जिल्ला अस्पतालमै प्रसुती गर्न बाध्य भए । मर्नुभन्दा बहुलाउनु नै बेश भनेझैँ घण्टौ लगाएर कच्ची बाटोमा घच्घचाउँदै चन्द्रकलाको त्यो पिडालाई अझै बढाउनुभन्दा जिल्ला अस्पतालको एकमात्र प्रसुती गृहमा प्रसुती गराउन तम्तयार भए । पहिलोपटक डाक्टर पुजन विकको नेतृत्वको शल्यक्रिया चिकित्सकको टोलीले जिवन र मृत्यूको संघारमा पुगेकी चन्द्रकलाको सफल शल्यक्रियाबाट बच्चा निकालेसंगै अस्पतालले जिल्लामा पहिलोपटक शल्यक्रियाबाट सफल रुपमा प्रसुती गर्ने सौभाग्य प्राप्त गरेको छ ।
बर्षौँदेखि बन्द रहेको जिल्ला अस्पताल भोजपुरको एकमात्र शल्यक्रियाको प्रसुती सेवा सोमबारबाट सफलताका साथ सञ्चालनमा आएको छ । तीन महिने एड्भान्स एस.बी.ए तालिम लिई आएका डा. विकले अस्पताल आईपुगे लगतै उनी र उनको चिकित्सक टोलीले चन्द्रकलाको शल्यक्रिया गर्न सफल भएका हुन् ।
जिल्लामा पहिलोपटक शल्यक्रियामार्फत प्रसुती सेवा सञ्चालनमा आएसंगै जिल्लाबासी सेवाबाट लाभान्वित र हर्षित बनेका छन् । ‘अब भने साह्रो परेका सुत्केरी दिदीबहिनीले सजिलै आफ्नै ठाउँमा सेवा पाउने भए ।’ स्थानिय डाँडागाउँबासी पुष्प रिजालले शल्यक्रियाबाट बच्चा जन्मेको सुनेपछि यस्तो प्रतिक्रिया दिईन् । कार्यालय प्रमुख डा.त्रिभुवनचन्द्र झा बाहिर भएपनि अन्य स्वास्थ्यकर्मी टोलीको सफलतासंगै सेवा सञ्चालनमा आएपछि स्थानियबासीमा हर्षित भएका हुन् । जिल्लामा पहिलोपटक सफलतापूर्वक प्रसुती सेवा सम्पन्न गराएका डा. विकले भविष्यमा पनि जिल्ल बाहिर रिफर गर्नुपर्ने गम्भिर किसीमका सुत्केरी महिलालाई यथासक्य जिल्लाभित्रै सेवा दिने र सेवालाई स्फूर्त तरिकाले अगाडी बढाउने बताए । पटक –पटक बन्द हँुदै आएको यो सेवा पछिल्लोसमय विविध कारणबस करिब दुई वर्ष बन्द भएको थियो ।
लामो समयदेखिको बन्द सेवा पूर्ण सञ्चालनमा आएपछि जिल्लाबाट प्रसुतीका लागि बाहिर लानुपर्ने गम्भिर किसीमका गर्भवती महिलालाई सहज भएको छ । जिल्लामा प्रसुती गराउन आउने मध्ये ५ देखि १० प्रतिशत सम्मको शल्यक्रियाबाट प्रसुती गराउनु पर्ने अवस्था रहने अस्पतालका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर मिजारले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार