नवनिर्मित आँखा अस्पतालको उद्घाटन (फाेटाेफिचर)

  सिलिचुङ सम्बाददाता  570 पटक हेरिएको

भोजपुर । जापानी सरकारको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ र भोजपुर सामुदायिक विकास केन्द्रको सहकार्यमा एक करोड २० लाखको लागतमा निर्मित भोजपुर आँखा अस्पतालको भवन सञ्चालनमा ल्याईएको छ ।
बिहीबार नेपालका लागि भूपू जापानी राजदुत मासाशी ओगावा तथा नेपाल नेत्रज्योती संघका अध्यक्ष प्राध्यापक डा. तीर्थप्रसाद मिश्रद्धारा संयुक्त रुपमा अस्पताल भवनको उद्घाटन गरिएको थियो । अब अस्पताल भवन सञ्चालनमा आएसंगै जिल्लाभित्र र संखुवासभा, खोटाङका विरामीलाई सहज हुने भएको छ । २०७२ साल कार्तिक ८ गते राजदूत ओगावाकै उपस्थितीमा शिलान्यास गरिएको अस्पताल भवनको नेत्र ज्योति संघ भोजपुरका अध्यक्ष तेज मोक्तानको अगुवाइमा निर्माण काम सुरु गरिएको थियो ।


भोजपुर सामुदायिक विकास केन्द्रका संरक्षक भीम उदासले जापानी राजदूताबासबाट जापानिज ग्राण्ड एसिस्टेन्स फर ग्रासरुट्स ह्यूमन सेक्यूरिटी प्रोजेक्ट (जिजिपी) अन्तर्गत अस्पताल निर्माणका लागि सहयोगसम्बन्धी सम्झौतापत्रमा २०७२ फागुन ७ गते राजदूत ओगावा तथा अध्यक्ष प्रा.डा. मिश्रको स्विकृती हस्ताक्षरित सम्झौतामार्फत जापानी सरकारको कुल एक करोड जापानी येन (९६ लाख ३१ हजार आठ सय आठ नेपाली रुपैँया) र विभिन्न संघसंस्था, स्थानियबासीको संयुक्त लगानीले भवन निर्माण सम्पन्न गरिएको थियो ।  
जापानी सरकारको ६७ प्रतिशत आर्थिक सहयोग र स्थानीयको ३३ प्रतिशत लगानी गरि करिब एक करोड २० लाखको हाराहारी लागतमा २०७३ मंसिरबाट भवनको निर्माण कार्य सुरु गरिएको थियो । जिल्लाबासी र छिमेकी संखुवासभा, खोटाङ जिल्लाका नागरिकलाई आँखा जस्तो संवेदनशिल अंगको स्वास्थ्योपचार सेवा अब भोजपुरमा लिन पाउने भएपछि यो प्रयासप्रति आभार प्रकट गर्दै प्रजिअ फणिन्द्र दाहालले जिल्लाका लागि यो अत्यन्तै राम्रो काम भएको कार्यक्रम अभिव्यक्ति दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार