सामाजिक भातृत्व जोड्ने साकेला

  प्रदीपचन्द्र राई  387 पटक हेरिएको

 

‘‘पश्चिम गाउने सालैजौ कौडा, पूर्वमा हातेबारे बालन,
ढोलझ्याम्टा बज्यो छमछम गर्दै, साकेलामा खुट्टी चालन,
सोई सोईला हौ सोई सोईला, हुर्रा हाहा ।
सोई ढोले सोई अर्को ढोले खोई ।।’’

किराती साकेलामा आधारित गायक राजेशपायल राई गायिका बसन्ती राईको स्वरमा सजिएको यो साकेला गितले साँच्चै नै सबैको मन छुन्छ । किनकी यतिबेला आदीबासी जनजाती किरात राई समुदायको बाहुल्यता रहेकोे पूर्वी भेग लगायत ठुला शहरबजारमा दिनहुँ साकेलाको रौनक बढेको छ । गाउँघरका प्रत्येक किरात थान(पुजा गर्ने थलो), आँगन, सार्वनजिक मैदान, खुला चउरतिर ढोल र झ्याम्टाका मात्र घन्किने गरेको ध्वनी मात्र सुन्छौ । अर्थात किरात राईहरुको महान पर्व उभौँली साकेला सुरु भएको छ ।
किराती बाहुल्यता रहेको भोजपुर लगायत अन्य पहाडी जिल्लाका गाउँगाउँ यतिखेर साकेलामय बनेको छ । आफ्नो जातीय पहिचान बोक्ने किरात राईहरुको येले सम्बत् ५०७८ को अवसरको यो परम्परागत धार्मिक एबम् साँस्कृतिक महामेलामा आफ्नो समुदायविच मात्र नभई सम्पूर्ण गैरकिरात समुदायका मानिसहरुविच पनि भातृत्व सम्बन्ध बढाउने पर्वको रुपमा मनाउने गरेका छन् ।
किरात राईहरुले आफ्नो मौलिकतालाई पुस्तान्तरण गर्दै लैजाने माध्यमका रुपमा लिईने उभौँलीमा भुमिपुजा र कुखुराको बली दिने किरात राईको धार्मिक प्रचलन रहेको छ । गर्मी समय सुरु भएपछि गर्मी छल्न लेक चढ्ने र जाडो समय सुरु भएसंगै सित छल्न बेसी झर्ने आफ्ना किराती पुर्खाहरुको सम्झनामा उभौँली मनाईने गरेको स्थानिय भोजपुर दाम्सिङका कुलपुजक टिकाराम राईको मान्यता छ ।
किरात राई यायोख्या भोजपुरका पूर्वअध्यक्ष पावीहाङ्ग राईका अनुसार उभौँली पर्वमा किरात राईहरु आफ्ना पूर्खाले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने, काँचो वनतरुलको टीका लगाउने, सबेरै काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रुपमा ग्रहण गर्ने चलन रहँदै आएको परम्परागत विश्वास छ । उनी भन्छन्, ‘प्रकृतिपूजक किरात राईहरु आफ्नो माङ्ग (किरात राईको पितृ कुलदेवता) लाई कामना गर्दै जमिनमूनि फलेका कन्दमूललाई पुर्खाको प्रसाद मानेर विभिन्न परिकार बनाई खाँदै, साकेला नाँच्दै उभाँैली मनाउने गर्छन् ।’

“आधुनिक उभौँली तथा उधौँली साकेला नाच किरात राईहरुमात्र नभई गैरकिरात समुदायका मानिसहरु पनि मनोरञ्जनात्मक नाचको रुपमा लिने गरेका छन् ।”

भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक कमलजंग राईले पनि प्रकृतिपुजक किरातीहरुलाई प्रकृतीलाई सदा खुसी पार्न, अन्नबाली राम्ररी फलोस्, प्राकृतिक विपत्ति नआइपरोस् भन्ने कामना गर्दै पुर्खाहरुलाई पुज्ने र शक्ति माग्ने गरेको सुनाउँदै अन्न धेरै फल्ने, दुःख, विघ्नबाधाबाट टाढा बनाउने कामना गर्दै उभौँली मनाउने चलन रहेको बताए । परापूर्वकालमा किराती पुर्खाहरूको पृथ्वीमा ढुङ्गे युगपछिको कृषि युग शुरुसंगै यो पर्व चलनचल्तीमा आएको विश्वास छ । उभौँली र उधौँलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा मनाईने किरात राईहरुको यो महान पर्व प्राकृतिक प्रकोपबाट बाँचियोस्, ईष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइने धार्मिक विश्वास छ ।

विशेषगरि उभौँली र उधौँली साकेला पर्वमा किरात राई पुरुषहरुले कालो कोट, दौरा, सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपी र महिलाहरू कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि किराती संस्कृति झल्काउने पारम्पारिक गरगहनामा सजिएर गोलबन्दी भई आफ्नो जातीय पहिरनमा चण्डी नाच्ने गर्छन् । एक÷एक हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर र सिम्कौली सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको तालमा एकै सुरमा गोलाकार घेराभित्र रही विधीवत् विविध साँस्कृतिक सिलि(नाँचको किसिम) साकेला नाच्छन् ।
बालकदखि वृद्धसम्म एकै लहरमा हात र खुट्टाको चाल, जंगली जीवजनावरको नक्कल, खेती किसानी कृिष कार्यको हाउभाउको अनुकरण गर्दै ढोल र झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्यलाई साकेला सिलीको रुपमा लिईएको भोजपुर नगरपालिका बोखिमका संग्राम राईको ठम्याई छ । उधौली साकेला पर्वलाई न्वागी, साकेवा, साखेवा, साकेन्वा, सिमे, भूमे, उभौँलीउधौँली र भूमिपूजा आदि नामले चिनिने यो पर्व विशेषगरि आदीबासी जनजाती किरात राईहरुको बाहुल्यता रहेको नेपालको पूर्व भेगका पहाडी भेगलाई यो साँस्कृतिक पर्वको थाकथलो मानिन्छ ।

गैरकिँरातविच भाईचारा बढाउने साकेला
केटाकेटीदेखी बुढाबुढीसम्म एकै सूर एकै तालमा गाउँदै नाँच्दै साकेलाको रौनक बढाएका छन् । किरात राई समुदाय मात्र नभई यतिबेला गैर किरातहरु पनि साकेलाको तालमा हल्लिने, उफ्रीने, नाच्ने, रमाउने गरेका छन् । यतिबेला कहिँकतै साकेलामा ढोल र झ्याम्टाको आवाज सुन्ने वित्तिक्कै राई, गैरराई युवापुस्ताहरु फुत्त हिँडिहाल्ने, कौतुहुलताले उफार्ने, साकेलामा नाच्न बाध्य बनाउने गरेको छ । एक किसीमको रहरको पर्व बनेको छ, साकेला ।
‘यसपालीको साकेलामा पनि खुब नाचियो । के गर्नु हाम्रो पर्वमा त नाच्न मिल्दैन ।’ साकेला नाँच्न आएका भोजपुर ओडारेका रोशन तामाङले सुनाए । ‘चाड भनेको त यस्तो पो त साथिहरुसंग रमाईलो गर्दै ढोलझ्याम्टाको तालमा नाच्न पाउनु । साह्रै आनन्द आउँछ ।’ रोशन थप्छन् ।
आधुनिक उभौँली तथा उधौँली साकेला नाच किरात राईहरुमात्र नभई गैरकिरात समुदायका मानिसहरु पनि मनोरञ्जनात्मक नाचको रुपमा लिने गरेका छन् । हतुवागढी होम्ताङ्गका जनक राईले पहिले उभौँली–उधौँलीमा नाचिने साकेला किरातबन्धुहरुले मात्र नाच्ने, मनाउने गर्ने गरेका बेला पछिल्लो पिँढीमा आएर सबै गैरकिरातको लागि पनि भातृत्व झल्काउने किसिमको रमाईलो गर्ने उत्सव जस्तो बनेको छ । ‘यसरी अरु समुदायका मानिसहरुले पनि साकेला नाच्दा, रमाउँदा एउटा सम्प्रदायको सँस्कृति अर्को सम्प्रदायमा अनुशरण हुने हुँदा एकअर्काबिच धार्मिक सहिष्णुता र सद्भाव बढ्ने हुन्छ ।’ उनी जोड दिन्छन् ।
किरात राईहरु साँस्कृतिक एवम् धार्मिक अस्तित्व बोकेको उभौँलीलाई भातृत्व, भाइचारा तथा आपसी सम्बन्धलाई प्रगाढ बनाउने माध्यमका रुपमा मनाउने गरेको किरात संस्कृतिविद् चक्रप्रसाद राईले जानकारी दिए । ‘किरातहरु राईबन्धुविच बन्धुत्व, भाईचारा सम्बन्ध बलियो बनाउने विश्वासको रुपमा उभौँलीलाई हामी लिने गरेका छौँ ।’ राईले भने, ‘किरात पुर्खादेखि नै बर्षभरीका दुःख पिडालाई बिर्सदै अन्न बाली राम्रो होस् र अन्नको सह रहोस भन्ने कामनाले पनि यो पर्व मनाईन्छ ।’

उभौँली र उधौँली पर्वको मान्यता
किरात सुनुवार, राई, लिम्बु र याक्खा जातिको महानपर्व उभौली साकेला नाच वैशाख चण्डीपूर्णिमा देखि एकमहिनासम्म हुन्छ । बसन्त ऋतुमा वालीनाली राम्रो होस्, सबैमा सुख शान्ति छाओस् र दैवी विपत्तिहरूबाट बचाओस् भन्ने मनोकामनाले किरातीहरुले चण्डि पूर्णिमाको दिनदेखि आफ्नो साँस्कृतिक जातीय महोत्सवको रूपमा मनाउने गर्छन् । अर्को अर्थमा बालीनाली लगाएर उकालो अर्थात उँभो लाग्ने भएकाले पनि उभौँली रहेको किरात समुदायको मान्यता छ ।
यस्तै मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्राइएको खुसीयालीमा मनाउने गरिन्छ । किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ । अर्को अर्थमा यतिबेला प्रकृति पुजक किरात समुदायले नदी, खोलामा पाइने माछा ओरालो अर्थात उँधो धेरै पानी भएको ठाँउतिर जाने गरेको समय भएकोले पनि यसलाई उधौली भनेको पाइन्छ ।
किरात राईहरुले यो पर्वको बेला भात, कुखुराको मासुबाट बनाएका परिकार, कोदोको जाँड र रक्सी लगायतका किराती संस्कृतीका मिष्ठान्न परिकार थान तथा चुल्होमा चढाएर खाँदै रमाइलो गर्ने चलन छ । धनधान्यकी देवी प्रकृतिलाई धन्यवाद दिँदै चुल्हो र अन्न भकारी वरिपरि ढोल झ्याम्टाको तालमा साकेन्वा (साकेला) गाउने र नाच्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार