‘एसईई ट्यालेन्ट सो’मा भोजपुरको ह्याट्रिक

  सिलिचुङ सम्बाददाता  233 पटक हेरिएको

भोजपुुर । प्रदेश नं १ स्तरीय ‘एसईई ट्यालेन्ट सो–२०७४’ को नृत्य, अभिनय र वक्तृत्वकला तीनै विधाको उपाधी भोजपुरले हात पारेको छ । नृत्यतर्फको फाईनलमा भोजपुरकी मन्दिरा मगर, अभिनयतर्फ भोजपुरकै शिव श्रेष्ठ र वक्तृत्वकलातर्फ पनि भोजपुरकी सुमि राईले उपाधि जितेका हुन् । गायनतर्फ उपाधि भने संखुवासभाका सबिन शंकरको पोल्टामा गयो ।
सुर्सला म्यूजिक एण्ड डान्स एकेडेमी संखुवासभाको आयोजनामा गत चैत्र १८ गतेबाट सुरु प्रतियोगितामा प्रदेश नं १ का १४ वटै जिल्लाका ३ हजार ७२ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । प्रतियोगितामा नृत्यतर्फको फाईनलमा मन्दिरा मगरले ८८.६७ प्रतिशत, अभिनय विधाको फाईनलमा शिव श्रेष्ठले ८८.७५ प्रतिशत, वक्तृत्वकला विधाको फाईनलमा सुमि राईले ८२.३९ प्रतिशत र गायन विधाको फाईनलमा सविन शंकरले ८४.४२ प्रतिशत युट्युब सब्सक्राईब, मोबाईल एसएमएस, फेसबुक लाईक र निर्णायकको भोटिङमार्फत मत ल्याउँदै उपाधि जितेका हुन् ।
प्रत्येक विधाका विजेतामध्ये नृत्य र अभिनय विधामा प्रथम हुने विजेताले नगद रु २५ हजार सहित चारवटा म्यूजिक भिडिओ, वक्तृत्वकला विधाको विजेताले नगद रु २५ हजारसहित रेडियो तालिम र गायन विधाको विजेताले नगद रु २५ हजारका साथै एउटा एल्बममा म्यूजिक रेकर्डिङ गर्न पाउनुको साथै सबै विजेतालाई एकबर्षे निःशुल्क कम्प्यूटर कोर्ष सिक्ने अवसर प्राप्त गरेका छन् ।
ईलिमिनेशन, मेगा अडिशन, टप ३०, सेमिफाईनल, फाईनल र ग्राण्ड फाईनल गरी ६ चरणमा सम्पन्न प्रतियोगिताको आयोजित फाईनल कार्यक्रममा आमन्त्रीत चर्चित गायिका मेलिना राईको पनि बेजोड प्रस्तुती रह्यो । उनका कम्मरमाथि पटुकी, तिम्ले बाटो फेरेउ अरे, कुटुमा कुटु, साईला दाई, जब साँझ पर्दै गयो लगायतका मिठा गितले दर्शकको मन लोभ्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार