हतुवागढी र रामप्रसाद राई बन्यो च्याम्पियन

  सिलिचुङ सम्बाददाता  110 पटक हेरिएको

प्रतियोगितामा विजेता खेलाडी ट्रफि र प्रमाणपत्रका साथमा । तश्विर/सिलिचुङ

भोजपुर । आमचोक गाउँपालिका ४ बालंखास्थित गत जेठ १५ गतेबाट सञ्चालित अन्तरनगर तथा गाउँपालिकास्तरीय ‘छोङखा साकेन्वा रनिङ शिल्ड’ भलिबल प्रतियोगिताको उपाधी महिलातर्फ हतुवागढी र पुरुषतर्फ रामप्रसाद राई गाउँपालिकाले उचालेको छ ।
उपाधीसंगै महिलातर्फ हतुवागढीले एक लाख नगदसहित ८० तोला चाँदिको ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै महिलातर्फ दोस्रो हुँदै आमचोक गाउँपालिकाले ६६ हजार ६ सय ६६ नगदका साथमा ट्रफी, मेडल र प्रमाण पत्र र तेस्रो हुने टेम्के मैयुङ गाउँपालिकाले नगद ३९ हजार ९ सय ९९ नगदका साथ मेडल र प्रमाण पत्र जितेको छ ।
पुरुष भलिवलतर्फको उपाधी रामप्रसाद राई गाउँपालिकाको पोल्टामा गएको छ । उपाधीसंगै उसले एक लाख ३३ हजार ३ सय ३३ नगदका साथमा एक सय तोला चाँदीको ट्रफी, मेडल र प्रमाण पत्र जितेको छ । दोस्रो हुँदै षडानन्द नगरपालिकाले नगद १ लाख नगद, मेडल र प्रमाण पत्र हात पार्दा टेम्के मैयुङ गाउँपालिकाले ६६ हजार ६ सय ६६ नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्दै तेश्रो स्थानमा चित्त बुझाएको छ ।
खेलकुद लगायत अन्य प्रतिस्पर्धात्मक प्रतियोगितामा एकल नृत्यतर्फ रोस्लीना राना मगर प्रथम, कृष्ण तामाङ दोस्रो र सलीना राई तेस्रो भएका छन् । त्यस्तै गायनतर्फ संयोग राई प्रथम, सुमन मगर दोस्रो र इन्द्र मगर तेस्रो भएका छन् । एथ्लेटिक्सतर्फ म्याराथुनतर्फ धनकुटाका विवेक राई प्रथम, आमचोक गाउँपालिकाका उमेश राई दोस्रो र सोहि गाउँपालिकाका सन्देश राई तेश्रो भएका थिए । उक्त गायन, नृत्य र म्याराथुनमा प्रथम, दोस्रो र तेस्रो हुने सबै विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आमचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजना र आमचोक गाउँपालिकाको प्रायोजनमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले गरेका थिए ।
भोजपुर लगायत छिमेकी जिल्ला खोटाङ्ग र उदयपुरका नगरपालिका र गाउँपालिका टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा भलिबलको पुरुषतर्फ आठ टिम र महिलातर्फ पाँच टिमले सहभागिता रहेको आयोजक आमचोक गाउँपालिका खेलकुद विकास समितीका सहसचिव मिलन राईले बताए । प्रतियोगितामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिकाको सहभागिता रहेको छ भने खोटाङ्ग जिल्लाको जन्तेढुङ्गा गाउँपालिका र उदयपुरको चौदन्डी गाउँपालिकाले पनि प्रतियोगितामा सहभागि रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार