धनकुटाबाट विस्थापित काठमाडौमा स्थापित

समाचार लेखेर पाएको पारिश्रमीकले एकएक थान डेस्कटप र डिजिटल क्यामेरा किन्न सकेको जिवनभरकै खुसी मिलेको थियो ।

  विद्या रार्इ  309 पटक हेरिएको


भनिन्छ, सबै पूर्व निर्धारित सपना र योजनाहरु पुरा हुदैनन् । मान्छेका सपनाहरु त्यतिबेला बदलिन्छन्, जतिबेला उसले बाँचिरहेका समाज, सम्बन्ध, संगत र समय बदलिन्छ । त्यस्तै भयो पत्रकार राजेश राईको पनि । गाउँको हेडमास्टर बन्ने सपना बोकेर भोजपुरदेखि २०५९ मा धनकुटा पढ्न झरेका थिए उनी । मास्टर बन्ने सपनाको भारी बोकेर धनकुटा झरेका राजेशले हातमा पढाईपछि शिक्षकको लाइसेन्स त प्राप्त गरे । तर, लाइसेन्स लिएर गाउँमा पढाउँन कहिल्यै गाउँ फर्केनन् । अब फर्किने पनि छैनन् ।

धनकुटाको त्यो समाज, सम्बन्ध, संगत र समयले उनको सपना बदलियो । भोजपुरमा देखेको सपना धनकुटा पुगेर चटक्क भुलीदिए । र, बने पत्रकार । पूर्खाहरुले नगरेको पेशा रोजे । अग्रजहरुले नहिडेको बाटो हिड्ने कसम खाए । यो पेशामा माथिबाट तान्ने पनि कोही थिएन उनको, न त तलबाट धकेल्ने नै । चारपाउँ टेकेर पनि हिडिरहे । र, आजको परिचय बनाएका छन् । २०७५ को पहिलो साता काठमाडौंको नयाँ पेज डटकमको कार्यालयमा भेटिएका राजेशले सम्झिए,‘मलाई धनकुटाले हेडमास्टर बनाएर भोजपुर फर्काएन, पत्रकार बनाएर यता काठमाडौं पठायो । समयसँगै मेरो सपना परिवर्तन भयो । बाटो र उज्यालो परिवर्तन भयो ।’

एमाले अखिलले बनायो सम्पादक
भोजपुर सदरमुकामदेखि १९ कोष उत्तर । साविकको खाटम्मा गाविस (हाल साल्पासिलिछो गाउँपालिका–४) भोजपुरको कर्णालीको रुपमा चिनिन्छ । भोजपुर सदरमुकामदेखि पैदल यात्रा दुई दिन लाग्थ्यो । गाउँमा मावि स्कुल समेत थिएन । कक्षा ७ देखि नै छिमेकी गाविस दोभानेमा डेरा गरेर पढ्न पर्ने बाध्यता थियो । उनले पनि त्यसै गरे । हप्तादिनको लागि तरकारी र चामल बोकेर पढ्न जानुपथ्र्यो । मुलुकमा गृहयुद्ध चलिरहेको थियो ।

उनी जहाँ पढ्थे, त्यो तत्कालिन व्रिदोही माओवादीको आधार इलाका थियो । यस्तो आधार इलाका जहाँ पूर्वी कमाण्डको कार्यालय नजिकै थियो । तर, त्यही अप्ठ्यारो समय र स्थानमा पनि एमाले निकट अखिलको प्राक अध्यक्ष भए । बुवा र दाजु एमालेका नेता । घरमा एमालेका नाम चलेका नेताहरु आइरहन्थ्थे । माक्र्सवादी दर्शन र प्रगतिशिल पुस्तकहरु पढ्ने अवसर स्कुल तहमै पाए उनले ।

जब २०५९ मा एसएलसी पास गरे । त्यही अखिलको परिचय र सम्बन्ध लिएर उनी उच्च शिक्षाका लागि धनकुटा बहुमुखी क्याम्पस झरे । धनकुटा बहुमुखी क्याम्पस शिक्षा बिषयको लागि पूर्वकै चर्चित सरकारी क्याम्पस थियो । धनकुटा पढ्न जादा सम्म न उनको पत्रकार बन्ने सपना थियो, न त पत्रकार र पत्रकारिता बारेमा ज्ञान नै । धनकुटा झर्ना साथ उनी अखिलमा संगठित भइहाले । अखिलको शिक्षाशास्त्र संकाय आइएड प्रथम बर्ष प्रारम्भिक कमिटिको अध्यक्ष भए ।

लेखनमा रुची भएको थाहा पाएपछि उनलाई उनका अगुवा कमरेडहरुले भने,‘भित्ते पत्रिकाको सम्पादक भएर काम गर्नु प¥यो ।’ रुची यसै थियो । त्यही पछि नेताहरुले भनेपछि नमान्ने कुरै भएन । एमाले निकट भोजपुरे अखिलले निकाल्ने भोजपुरे साहित्यिक शुभेच्छुकको कोसेली मासिकमा आवद्ध भए । यसलाई छोटोमा भोजपुरे साशुको कोसेली भनिन्थ्यो । मासिक प्रकाशन हुदैआएको साहित्यिक पत्रिकाको सम्पादक भएका काम गरे । उनको नेतृत्वमा प्रकाशन सुरु भएको दुईअंकपछि राम्रो पढिन थाल्यो । यसले मुलत विद्यार्थीहरुलाई जगमाउने, तताउने खुराक हुन्थ्यो ।

‘समाचार लेखेर पाएको पारिश्रमीकले एकएक थान डेस्कटप र डिजिटल क्यामेरा किन्न सकेको जिवनभरकै खुसी मिलेको थियो ।’ • राजेश राई (सम्पादक‚ नयाँ पेज डटकम)

उनीहरुको टिमले प्रकाशन गरेपछि भोजपुुरे साशुुको कोसेली भित्ते पत्रिका चर्चित भयो । उनीहरुको टिम खोजिने बन्यो । त्यही बेला प्रगतिशिल लेखनलाई केन्द्र बनाएर अखिल निकट विद्यार्थीहरुले ‘तेस्रो आवज’ नामक साहित्यिक मासिक प्रकाशन गरिरहेका थिए । केही समयपछि त्यसको सम्पादनको जिम्मेवारी आइलागे । उनी भए, कार्यकारी सम्पादक । भोजपुरकै निराजन बतास सम्पादक भए ।

यसमा प्रगतिशिल रचना छापिन्थ्यो । तेस्रो आवाज विद्यार्थीमाझ निक्कै लोकप्रिय थियो । प्रत्येक शैक्षिक संस्था तथा बाहिरी जिल्लाहरुमा समेत पाठकको संख्या बढेको थियो । पाठकहरुले लेखरचना हुलाकमार्फत पठाउने गर्थे । तेश्रो आवज मासिकसँग जोडिएका अनेक रोमाञ्चक अनुभुतिहरु उनीसँग छन् । भन्छन्,‘तेश्रो आवज मासिक प्रकाशन गर्दाका दिनहरु सम्झदा अझै पनि रोमान्चित बन्छु ।’

शिवकुमार श्रेष्ठ संगतले किराती लोककथा संकलन
सानैदेखी सृजनशिल थिए । धनकुटामा पनि त्यस्तै जमात बन्यो । त्यस्तो त धनकुटामा उनीहरुको समुह पढ्यै समुहको रुपमा चिनिन्थ्यो । अनेकौं संघ, संस्थामा आबद्ध भएर साहित्य र सामयिक बिषयमा अन्तरक्रिया नियमित चलाउथे । आइएड प्रथम बर्ष पढ्दै गर्दा उनले ‘देशभक्त कलम’ कविता संग्रह प्रकाशन गरे । धनकुटाका अनेकौं अभियान र आन्दोलनमा निरन्तर उनी जोडिए । त्यही क्रममा इतिहासकार शिवकुमार श्रेष्ठ (धनकुटा बहुमुखीको पुर्व क्याम्पस प्रमुख) सँग हिमचिम बढ्दै गयो । श्रेष्ठले किराती मिथकको महत्व बारे बताउथे । यसबाट उनी प्रभावित हुदै गए । पुर्वी जिल्लाका आठ÷नौ वटा जिल्ला घुमेर २०६२ सालमा ‘किराती’ लोककथा संकलन गरे ।

संयोग कस्तो भयो भने धनकुटामा एकदिन कार्यक्रम थियो । संयोगले इतिहासकार शिवकुमार श्रेष्ठ र भाषाविद् प्राडा नोवलकिशोर राई गफिएर बसिरहेका थिए । उनी नमस्कार गर्दै त्यही पुगे । उनी पुगेपछि इतिहासकार श्रेष्ठले फ्याटै भने,‘यो केटोले किराती लोककथा संकलन गरेको छ, प्रकाशन गरीदिने केही भएन ।’ शिवकुमार श्रेष्ठको कुरा सुनेपछि प्राडा राईले तुरुन्तै भने,‘म आफै प्रकाशक भएर प्रकाशन गरीदिन्छु ।’

उनलाई ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो । प्रकाशक मात्रै भेटिएन । प्रख्यात प्रोफेसरले आफै प्रकाशन गरीदिन्छु भन्नु उनको लागि ठुलो उपलब्धी थियो । भाषविद् प्राडा राईले आफैले पैसा हालेर प्रकाशन गरीदिए । व्यापक चर्चा भयो । उनले किरात राई यायोक्खा केन्द्रीय समितिले दिने बिष्णु छत्र राई कृर्ति सम्मान पाए ।

यसले थप लेख्नका लागि उत्साह जाग्यो । साहित्यिक पत्रिका निकाल्ने क्रम चलिरहेको थियो । नयाँ आयाम कसरी पस्कने र पाठकलाई तान्नेमा उनी सधै सचेत रहन्थे । उनी र उनका साथीहरु साहित्यिक पत्रिका प्रकाशनमा स्थापित हुदै गइरहेकाबेला मेनस्ट्रिमको मिडिया हाउसमा रिपोर्टिङ गर्ने पत्रकारले साहित्यिक पत्रिका निकाल्ने पत्रकार हैन भनिदिन्थे । मेनस्ट्रिमको तुलनामा पाठक संख्या दोब्बर बढि छ । प्रभाव गाउँगाउँ पुगेको छ जस्ता तर्क गर्दै उनीहरु आफुलाई पनि पत्रकार नै हो भन्ने दावी गर्थे ।

यत्तिकैमा उनले धनकुटाकै जनविश्वास साप्ताहिकमा लेख लेख्न थाले । द्धन्द्धकाल भएकाले खुलेर लेख्न सक्ने स्वतन्त्रता थिएन । राजतन्त्र विरोधी लेखहरु ‘सिलिचुङ’ उपनाममा छापिन्थे । यसो हुदा राज्य र विद्रोही पक्षले सोझै दुःख दिन सक्दैनथे । ‘सिलिचुङ’ उपनाममा लेखिएका लेखहरु त्यतिबेला निकै चर्चित भयो । करिब ५०-५५ वटा लेखहरु प्रकाशन भएका थिए । ‘समाचारका लागि पुलिसकहाँ पुगेका बेला सिलिचुङ नाम गरेको को रहेछ भनेर सोधीखोजी गर्थे,’ उनले विगतलाई सम्झन्छन् ।

साहित्यकार झमक घिमिरेसंग सहकार्य गरेर काम गर्ने अवसर पनि पाएका थिए । घिमिरेलाई अध्यक्ष बनाएर राजतन्त्र विरोधी आन्दोलन स्वरुप शिखा साहित्यिक अभियान चलाए । समितिमा उनी सचिव थिए । उनका पाठक, प्रशंसक उत्तिकै थिए । बढ्दै थिए । उनको लेखनलाई अग्रज लेखकहरुले नजिकबाट नियाल्दै थिए ।

पत्रकारिताको तालिम नै नगरी पत्रिकाको सहसम्पादक
एकदिन जनविश्वास साप्ताहिकका प्रधानसम्पादक सञ्जयसन्तोषी राईले ‘साह्रो राम्रो लेख्नुहुन्छ, जनविश्वासमा काम गरौ’ भनेर अनुरोध गरे । साहित्यिक पत्रिकामा छलागं मार्दै आएका उनले समाचार सामाग्री प्रकाशन गर्ने साप्ताहिकबाट पाएको अनुरोधात्मक अवसरलाई सहर्स स्विकारे । उनलाई जनविश्वासमा पहिलोपटक नै सहसम्पादक बनाइयो । उनको पढाई थियो, शिक्षा । पत्रकारिता सम्बन्धी कुनै तालिम लिएका थिएनन् । तर, उनी सिधै चलेको साप्ताहिक पत्रिकाको सहसम्पादक बने ।

यसैगरी प्रेस चौतारी धनकुटामा तत्कालिन अध्यक्ष सिद्धराज राईले विद्यार्थी नेता होइन पत्रकारको नेता हुनुपर्छ भनेर उक्साए । जतिबेला प्रेस चौतारीको जिल्ला अधिवेशन हुदै थियो । सिद्धराज पुनः अध्यक्ष भए, उनी सचिव भए । राम्रो लेखन शैली, सिप भएका पत्रकारभित्र गनिने भएकाले पनि उनलाई आफ्नो बनाउन केही न केही बहाना बनाएर उक्साउनेहरु थुप्रै थिए ।

धनकुटामा रहेर किरात राई पत्रकार संघको सांगठानिक रुपमा स्थापना गर्ने श्रेय पनि उनैलाई जान्छ । किरात राई विद्यार्थी संघको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य र धनकुटा किरात राई यायोक्खाको सचिव भएको हैसियतले किरात राई पत्रकार संघ संस्थागत गर्न सहज भएको थियो । पछि भिषा काफ्ले, रमेशचन्द्र अधिकारी लगायतसँग मिलेर नयाँ शैली साप्ताहिक पनि सञ्चालनमा ल्याएका थिए । आफ्नै गोजीबाट जुटाउनुपर्ने बजेटले धान्न नसकेपछि निरन्तरता पाए ।

धनकुटामा रेडियो मकालु बज्न सुरु भएको थियो । तीनचार महिना तालिम लिनेलाई मात्र काम गर्न पाउने अवसर थियो । उनलाई पनि रेडियोको व्यवस्थापन टिमले एकैचोटी समाचार सम्पादक बनायो । तालिम नै नगरी समाचार पढेको, सम्पादन गरेको क्षण थियो त्यो । निक्कै खुसी पनि थिए । समाचार पढेर बाहिर निस्कदा श्रोताले त्यतिबेला पनि सुनिरहेका छन् भन्ने भान प¥थ्र्यो उनलाई ।

पत्रकार र पत्रकारितामा अहिले पनि पारिश्रमिककै बिषयमा ठुला बहस चल्छन् । उक्त समयमा धनकुटामा केन्द्रित भएर काम गरेका उनलाई समाचार लेखेर पाएको पारिश्रमीकले एकएक थान डेस्कटप र डिजिटल क्यामेरा किन्न सकेको जिवनभरकै खुसी मिलेको थियो । समाचार लेखेर डिजिटल क्यामरा किन्ने पत्रकार धनकुटामा उनी एकमात्र थिए ।

उनी नयाँ पत्रिका दैनिकको स्थापनाकालदेखिको संवाददाता थिए । धनकुटाका सञ्चारमाध्यममा काम गर्दै गरेका उनको अनुभव राजधानीसम्म फैलिने अवसर बनेको थियो । ती दिनहरुलाई विद्यार्थी राजनीतिबाट सुरु गरेको लेखन कार्यको दायरा फराकिलो बन्दै गएको महसुस गर्छन् । काम गर्न नपाइने भएपनि धनकुटाबाट राससका लागि समाचार पठाउथे । राजधानीमा रहेका रेडियो, टेलिभिजनहरुमा काम गर्थे । तीनचार महिनाको अन्तरमा राजधानी आउदा एक लख हाराहारी पारिश्रमिक लिएर धनकुटा फर्कन्थे ।

द्धन्द्धकालमा समाचार लेख्ने काम चुनौतीपुर्ण थियो । राज्य र विद्रोहि प्रक्षको निसाना परेर पनि रिपोर्टिङ गर्न हिम्मत कस्ने मध्येका एक थिए उनी । क्षतविक्षत अवस्थामा पुग्नु र रिपोर्टिङ गनुमा पनि रोमाञ्चकता थियो । इन्टरनेटको जमाना पछाडि मात्रै आएको थियो । सुरुमा फ्क्यास मेसिनबाटै समाचार ठेल्ने गर्थे राजधानीका सञ्चारसंस्थालाई । निक्कै समय पछि धनकुटाको बीच बजारमा साइबर खुलेको थियो ।

कोठामा टाइप गरेर साइबरमा लाइन लागेर समाचार पठाउथे । समाचार लेखनका सरुका दिनमा बाइलाइन छाप्दाको खुसी अहिले पनि ताजै छ उनमा । अहिलेका पिडिका पत्रकारलाई उनले सधै एउटै वाक्य भन्छन्, ‘आफुले जे काम गरिरहेको छ त्यसबाट भरपुर रमाइलो लिन सक्नुपर्छ ।’

मार्ने धम्कीपछि काठमाडौं
०६३ सालको कुरा हो । जनआन्दोलन सकिएको थियो । नयाँ पत्रिका दैनिकमा छापिएको समाचारको बिषयलाई लिएर उनलाई मार्ने धम्की दिइयो । धम्की दिने समुहले निरन्तर भौतिक रुपमै खोज्न थालेपछि उनले धनकुटा बसाई टुग्याउने निचोड गरे । बिस्थापित भए । काठमाडौं उनको लागि नयाँ थियो । भुगोल नयाँ । सम्बन्ध र बिषय नयाँ । एकैचोटी काठमाडौं गएर काम गर्नु उनको लागि ज्यादै चुनौतीपूर्ण थियो । नयाँ पत्रिकामै आबद्ध भए । तर, शसर्त । १२ हजार तलब तोक्दै सम्पादकले भने,‘एक महिना तपाईको परिक्षणकाल हो । राम्रो गर्नुभयो भने तलब पनि बढ्छ, यदि सक्नु भएन भने बिदा पनि हुन सक्नुहुन्छ ।’

त्यो र्शतले उनलाई सुत्न दिएन । सुरुमा फिल्म विटमा रिपोर्टिङ गर्न दिइयो । तर, उनको लागि त्यो विट फापेन । फिल्म विटमा काम गर्ने रंगपत्रकारहरुको आफ्नै सिन्डिकेट थियो । समाचार किनबेच हुन्थ्यो । जिल्लाबाट आएको नयाँ मान्छे, उनलाई त्यो पत्तो भएन । सुरुमा लेखेका समाचारहरु नछापिएपछि उनले सम्पादकसँग गएर भने,‘लेखेको पनि छापिन्न, मलाई अर्को बिट दिनुहोस् ।’ त्यसपछि उनले फिचरमा जिम्मा पाए । फिचर डेस्कको हाकिम थिए, नारायण अमृत ।

विनोदविक्रम केसी, संगीतश्रोता, दिपक सापकोटा लगायतका काविल लेखकहरु पनि फिचर मै काम गर्थे । सम्पादकको शर्त सम्झदै उनले दिनरात काम गरे । सुरुका दिनमा दुईतीनवटा फिचरहरु दैनिक छापिन्थे । दिनभर समाचार खोज्ने, रातभर लेख्ने र विहान डेस्कलाई बुझाउथे । किनकी उनी विस्थापित भएर आएका थिए । विस्तारै उनी नयाँ पत्रिकामा जमे । फिचरबाट जिल्ला व्युरो प्रमुख भए । पछि फिचरकै जिम्मेवारी सम्हाले ।

०६९ मा नयाँ पत्रिका छोडेर सौर्य दैनिकमा सुरु गरे । सौर्यमा पनि तीनचार महिनापछि तलबकै समस्या भयो । उनीसंगैको टोलीले सौर्य छाड्यो । सबै साथीहरु नयाँ पत्रिका फर्किए । उनी फर्केनन् । कारण उनी पत्रकारको नेताका रुपमा पे्रस चौतारी बुटवल महाधिवेशनबाट केन्द्रिय सदस्य र विराटनगर महाधिवेशनबाट सचिव भैसकेका थिए । सांगठानिक गतिविधिमा लागे ।

०६६/६७ मा किरात राई पत्रकार संघको महासचिव भएका थिए । संगठनका जिम्मेवारी लिएपछि जागिर छाडेर आफै मिडिया चलाउने निचोडमा पुगे । र सुरु गरे, नयाँ पेज डटकम । उनले नयाँ पेज डटकम सुरु गर्दै गर्दा अनलाइन मिडियाहरु कम थिए । कर्पोरेट हाउसका अनलाइन संस्करण बाहेक अनलाइन खबर, रातोपाटी र सेतोपाटी मात्रै नाम चलेको अनलाइन थियो ।

अनलाइनमा उनले नयाँ पत्रिका दैनिकमा सिकेका सिप प्रयोग गरे । फिचर र डिजाइनमा उनले नयाँ पन दिए । अनलाइनमा स्टोरी डिजाइन गरेर हाल्ने प्रयोग पहिलो पटक उनले गरे । त्यही फरकपनको कारण एलेक्सा अनुसार करिब तीन महिनामा नेपालको टप टेन अनलाइनमा पर्न सफल भयो । तर, संगठनको दौडधुप कारण उनले त्यो गतिलाई निरन्तरता दिन सकेनन् । सुरुको गतिलाई बिबिध कारणले निरन्तता दिन नसकिएको उनी स्वीकार गर्छन् । त्यसो अहिले पनि उनको अनलाइन नेपालको पढिने अनलाइनमा नै पर्छ । अब चहिँ यसलाई व्यबस्थीत बनाएर चलाउने सोच रहेको उनले बताए ।

गोर्खा सैनिकको सम्पादक, गोर्खाहरुको गहिरो ज्ञान
नयाँ पत्रिका दैनिकमा ब्रिटिस गोर्खाहरुको बारेमा उनले लामो फिचर लेखे । त्यो फिचर देखेर गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति पदमबहादुर गुरुङ प्रभावित भए । कवि श्यामल र लेखक झलक सुबेदीले गेसोको पुरानो पत्रिका गोर्खा सैनिक आवाज मासिकमा काम गर्ने सिफारिस गरे । सुरुमा पत्रकार सिताराम बराल र उनलाई जिम्मा दिइएको थियो । तर, सिताराम एक अंकपछि बाहिरिए । तर, उनले निरन्तता दिए । सम्पादक भएर गोर्खा सैनिक आवाज उनले निरन्तर ७ बर्ष प्रकाशन गरे । ६० पेजको रंगिन पत्रिका मासिक ७ बर्षसम्म प्रकाशन गर्नु कम चुनौती थिएन ।

गोर्खा सैनिक आवाजको पाठक निश्चित थियो । ग्राहकहरु निश्चित थिए । कुनै बेला एकै महिनामा १० हजार अंक समेत छापेको प्रसङ सुनाउदा उनी बढो रोमाञ्चित भए । गोर्खा सैनिक आवाज निकाल्ने क्रममा गोर्खाहरुको बारेमा उनले गहिरो अध्यायन गरे । गोर्खाहरुसँग जिवन्त सम्बन्ध भयो । ब्रिटिस गोर्खाहरुको बारेमा गहिरो ज्ञान आर्जन गरे । त्यसकैको बलमा ब्रिटिस गोर्खाहरुको बिषय समेटिएको पुस्तक तयार पारेका छन् । यही बर्ष प्रकाशन गर्ने तयारीमा छन् ।

अध्ययन, पेशा र संगठनसँगै
उनी उमेरले उतिधेरै पाका भएका छैनन् । तर, उनले हिडेको बाटो र देखाएको उज्यालो भने सबैको लागि प्रेरणादायी छ । दुःख जेलो गरेर अध्यायन, पेश र संगठानिक जीवनलाई एक साथ लगेका छन् । उनको सक्रियता डाहा लाग्दो छ । उनले समाजशास्त्र र आमसञ्चार बिषयमा मास्टर सकेका छन् । मुलधारका अनलाइनसँग प्रतिस्पर्धामा उत्रिएर अनलाइन चलाएका छन् ।

नेपाली पत्रकारहरुको सबैभन्दा ठुलो संगठन प्रेस चौतारी नेपालका केन्द्रीय कमिटिका महासचिवको जिम्मेवारीमा छन् । शम्भु श्रेष्ठपछि प्रेस चौतारी नेपालको कार्यकारी भुमिकामा पुग्ने दोस्रो आदिवासी जनजाति समुदायका नेता हुन् उनी । कतिपय नेतृत्व पुगेर पनि भुमिका कमजोर हुन्छ । तर, प्रेस चौतारीमा उनको भुमिका हस्तक्षेपकारी रहेको उनकै सहकर्मीहरु बताउँछन् । नीति निर्माणदेखि संगठन निर्माणसम्मा उनको गहिरो प्रभाव छ ।
(लेखक रार्इ कान्तिपुर दैनिकका लागि काठमाडाै संवाददाताका रूपमा कार्यरत पत्रकार हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार