हिलोमा रमाएका दुईभाई

बाल संगालाे

  प्रदिपचन्द्र राई  315 पटक हेरिएको

आज शनिबारको दिन अर्थात छुट्टीको दिन । ‘छप्ल्याक्क छप्ल्याक्क’ गर्दै निशान र प्रविन दुई साना भाई असारको हिलो खेल्न खेतमा डुबुल्की मार्दै थिए । एकले अर्कोको काँधमा अंगाल्दो हाल्द,ै खितीती हाँस्दै धान रोपाँई गर्न तयार पारिएको हिलोमा लडिबुडी गर्दै रमाउँदै थिए ।

‘म पहिला हिलोले हान्छु अनि तँ हान है निशान ।’ ६ वर्षका प्रविन हिलो दुवै हातले उब्गाउँदै उत्ताउलो पारामा निशानलाई यसो भन्दै थिए । गैरीखेतमा अन्य ठुला मान्छेहरु रोपाई गर्दै गरेकोदेखि दुई कान्लामाथिको खेतमा एकछिनपछि दुवैभाई बेस्सरी हिलो छ्यापाछ्याप गर्दै असारे हिलोको मज्जा लिए ।
असारे रोपाईँको हिलो खेल्दाखेल्दा हिलोले निथ्रुक्क भिजेका दुवैको अनुहारमा भिन्नै खुशी छाएको देखिन्थ्यो । अरुबेला खेल खेलेको आनन्दभन्दा त्यो शनिबार यी दुई साना भाईहरु एकअर्कामा बजोडको खुशी आपसमा साटासाट गरे । जुन एकदमै बेग्लै रौनकले भरिएको हिलो खेल्नुको खुशी थियो ।
तलतिर असारे गित गाउने रोपार, बाउसे र दुई हल गोरु नारेर ‘होर्रर । हहह’ गर्ने हलीबाको बेग्लै रौनक देखिन्थ्यो । माना खाएर मुरी उब्जाउने यो वर्षातको मौसम खेतमा धान रोप्नु मात्र असारे गित गाउँदै हिलो खेल्नुको मजा नै बेग्लै छ । ठुलामात्र हैन सानासाना प्रविन र निशान जस्ताका लागि पनि यो रोपाईँमा हिलो खेल्नुको रौनक बढो आनन्ददायी छ । बेलुकी साँझ ठुलासंग रोपाईँसंगै हिलोले रोपाईँको ‘महिजारो’ गरी प्रविन र निशान पनि घर फर्के ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार