ठेकेदार भागेपछि विजुली विस्तार अलपत्र

बिजुली पोल खिया लाग्यो, न तार न बिजुली

  प्रदिपचन्द्र राई  223 पटक हेरिएको

ठेकदार भागेपछि अलपत्र अवस्थामा षडानन्द नगरपालिका १ नेपालेडाँडास्थित ०६८ सालमा गाडिएको बिजुलीका पोल । तश्विर / सिलिचुङ

भोजपुर  । ठेकेदार सम्पर्कविहिन भएपछि झण्डै ६ वर्ष अघि सुरु गरिएको विद्युत्त विस्तारको काम अलपत्र परेको छ । केन्द्रिय योजना अन्र्तगत षडानन्द नगरपालिकाका वडा १ र २ मा केन्द्रिय प्रशारणको लाईन तान्ने ठेक्का पारेका ठेकदार भागेपछि उक्त विद्युत्त विस्तारको काम अलपत्र परेको हो ।

काम अलपत्र पारेर फरार भएका ठेकेदार शेर्पा तात्कालिन समयमा पोल ढुवानी खर्च मिलाउँदै गर्छु भन्दै ठेकेदार शेर्पाले वडाध्यक्ष भण्डारीसंग उल्टै २ लाख रुपैँया लिएर सम्पर्कविहिन भएकाे खुलेको छ ।

०६८ सालमा छिमेकी जिल्ला खाँदबारी–तुम्लिङटार हुँदै दिङ्ला ल्याईएको उक्त केन्द्रिय प्रशारणको लाईन वडा नं १ नेपालेडाँडा र वडा नं २ कुदाककाउलेमा ल्याउने केन्द्रिय योजना अन्तर्गतको ठेक्कामा परेपनि ठेकेदार किशोर शेर्पा विचैमा काम छोडेर सम्पर्कविहिन भएपछि उक्त योजना अलपत्र बनेको वडा नं १ नेपालेडाँडाका वडाध्यक्ष रामेश्वर भण्डारीको आरोप छ । उनले भने, ‘तात्कालिन समयमा उक्त विजुली टाँग्ने टेन्डर पारेका ठेकेदार शेर्पाले काम त गरेनन् उल्टै आफुसंग ढुवानी खर्च भन्दै २ लाख रुपैँया लिएए । पछि विचैमा काम अलपत्र पारेर फरार भए ।’ तात्कालिन समयमा पोल ढुवानी खर्च मिलाउँदै गर्छु भन्दै ठेकेदार शेर्पाले वडाध्यक्षसंग २ लाख रुपैँया लिएको कुरा खुलेको छ ।
ठेकदारको लापारबाहीका कारण गाउँमा विजुली नबलेपछि गाउँलेको विजुली बत्ती बाल्ने सपना अधुरै रहेको स्थानीय सौगात गौतमले सुनाए । ‘ठेकेदारले काम छोडेपछि आशावादी गाउँले जनताहरुले अझैपनि कुपी बालेरै रात कटाउनु परेको छ ।’ उनले भने, ‘स्थानीय सरकार बनेपछि बिजुली विस्तारको काम पुनः सुचारु हुने सोच्यौँ तर गतसाल सम्भव भएन । यो पटक विजुली बल्ला भन्नेमा हामी आशावादी छौँ ।’
०६८ साल फागुनमा सर्वदलिय बैठक बसी विद्युत्त विस्तार समिती गठन गरेर उक्त ठेक्कामार्फत विद्युत्त विस्तारको काम थालनी गरिएको थियो । तर ठेकेदार काम अलपत्र पारेर भागेपछि ती दुई वडामा गाडिएका विजुलीका पोलहरु यतिबेला कामै नलाग्ने अवस्थामा पुगेका छन् । कतिपय बिजुलीका पोलहरु पुरानो, खिया लागेको, भाँचिएको, लडेको अवस्थामा अलपत्र छन् ।
ठेकेदार भागेपनि अलपत्र अवस्थाको उक्त विद्युत्त विस्तारको कामलाई अगाडी बढाउन जिल्ला प्राविधिक कार्यालयमा पटक–पटक उजुरी दिँदा समेत कुनै प्रतिक्रिया नआएको स्थानीय गोपाल भण्डारीले बताए । भने, ‘हामीले धेरैपटक जिल्ला प्राविधिकमा गएर कामलाई अगाडी बढाउन पहल गरेपनि कुनै सुनुवाई नै भएन ।’
दुईवडामा विजुलीको पोल मात्र गाडेर फरार भएका ठेकेदार शेर्पाले दिङ्लाका रमेश कटुवालको एक लाख ३० हजार पोल ओसार्दाको ट्रयाक्टर ढुवानी खर्च समेत नबुझाएको खुलेको छ । यसका साथै उनले त्यतिबेला गाउँमा पोल गाड्ने प्राविधिक कर्मचारीले खाना खाएको ७२ हजार रुपैँया समेत बाँकी रहेको जनाईएको छ ।
ठेकेदार भागेपछि विचविचमा जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको वडा नं २ कुदाककाउलेका वडाध्यक्ष बिष्णु प्रसाद घिमिरेले बताए । उनी भन्छन्, ‘काम छाडेर भागेका ठेकेदार शेर्पालाई विचविचमा सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहेको थाहा पाईयो । उनको अहिले कुनै अत्तोपत्तो नै छैन ।’
तात्कालिन समयमा ठेकेदार शेर्पाले विद्युत्त प्राधिकरणमा कार्यरत बालकुमार कार्कीको श्रीमतीको नामबाट लाईसेन्स लिई उक्त ठेक्का आफ्नो नाममा पारेको खुलेको छ । उनले ०७२ सालमा दिङ्लादेखि साविकको नेपालेडाँडा गाविसको वडा नं ७ चिउरीबोटेसम्म तार टाँगेर सम्पर्कविहिन भएका थिए ।
उक्त केन्द्रिय प्रशारणको लाईनबाट नेपालेडाँडाका ७ सय ८३ र कुदाककाउलेका करिब ५ सय घरधुरीहरु लाभान्वित रहेपनि गाउँलेको बत्ती बाल्ने आशा पुरा भएन । यसअघि पनि जिल्ला प्राविधिक कार्यालयमा पटक–पटक निवेदन गरेपनि कुनै चासो नदिएको वडाध्यक्ष भण्डारीको भनाई छ । आगामी आर्थिक वर्षमा नेपालेडाँडा र कुदाककाउलेको विद्युत्त विस्तारका लागि कुल ३५ लाख बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार