सभापोखरीको भेटि संकलन भएन, पोखरीको वरिपरी फोहोर बढ्दै

  बाबुराम बास्तोला  230 पटक हेरिएको

संखुवासभा संखुवासभाको सभापोखरी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकिय महत्व बोकेको सभापोखरीको भेटि संकलन नभएको पाइएको छ । विभिन्न समयमा त्यस पोखरीमा पुग्ने भुक्तजनहरुले चढाएको भेटि संकलन हुन नसकेको हो ।
भेटि तथा चढाएका पैसा संकलन नहुदाँ लाखौ रकम त्यसै खेर गईरहेको पाइएको छ । पोखरीका पुजारी बाबुराम अधिकारीका अनुसार त्यस पाखरीको दर्शन गर्न वर्षमा करिब ४ हजार आन्तरिक तथा वाह्रय भक्तजन तथा पर्यटकहरु पुग्ने गरेका छन् ।

पोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकिय हिसाबले निकै महत्वपुर्ण रहेको भए पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

ति भक्तजन तथा तिर्थयात्रिहरुले चढाएको पैसा कुनै पनि निकायले संकलन गर्ने गरेका छैनन् । करिब २०१५ सालदेखि सो पोखरीमा पुजारीका रुपमा रहेका अधिकारीका अनुसार दैनिक आउने भक्तनजहरुले चढाएको पैसा संकलन गर्न हाल सम्म कुनै पनि समिति बनेको छैन, एकपटक बनेको समितिले पनि भेटि संकलन नगरी त्यसै छाडेको छ । उनले भने “हालसम्म पोखरीको संरक्षणको लागि न त समिति नै बनेको छ नत कुनै निकाय र राज्यले नै संरक्षणको लागि पहल गरेको छ ।”
पर्यटकिय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्रयाउन सकिने चार दिनको पैदल हिडेर सभापोखरी तिर्थयात्रा लागि पुगेका खाँदबारीका खेम गुरागाई बताउछन् । उनि भन्छन्, “पोखरीमा अव्यस्थित रुपमा खेर गई रहेका भेटिहरुको संरक्षण तथा संकलन गरेर पोखरीको संरक्षण र प्रचारको लागि खर्च गर्न सके राम्रो हुने थियो” । त्यस्तै धारणा छ, खाँदबारीबाट दर्शनार्थीको रुपमा सभापोखरी पुगेका केदार चापागाईको पनि । उनि भन्छन् “ म जुन दुख कष्टले यहाँ आइपुगे तर यहाँ आउदा मलाई लाग्यो राज्य पनि शहर केन्द्रित भएको रहेछ, किनकि शहरका मन्दिर तथा धार्मिक स्थलको भेटि संकलन गर्ने समिति बनाउन पनि सायद चुनावै हुने गर्छ, । यहाँको भेटि संकलन गरेर संकलित पैसाले यहि पोखरीको संरक्षणको लागि गर्न सके पर्यटक भित्राउन सकिने थियो । पोखरीमा लाखौँ रुपैयामा पैसा, विभिन्न धातुका सामाग्रीहरु पनि खेर गईरहेका छन् ।
पोखरीको भेटि संकलन नभएर मात्र नभई पोखरीको आसपासमा फोहोरको थुप्रो समेत लाग्न थालेको छ । दैनिक पुग्ने भक्तजनहरुले प्रयोग गरेका प्लाष्टिकहरु जताततै छरपष्ट रुपमा रहेका छन् । प्लाष्टिक मात्रै नभई व्यतिले लगाएका लुगा कपडा पनि त्यहा फाल्ने गरेका छन् । जिल्लामा दर्जनौको संख्यामा गैरसरकारी संघ सस्थाहरु कार्यरत भए पनि सभापोखरी क्षेत्रमा एउटा डस्बिन सम्म राख्न कसैको ध्यान पुग्न सकेको छैन । दर्शनार्थी तथा पर्यटकरुले फालेको फोहोरको कारण पोखरीको वरिपरी दुर्गन्ध फैलन थालेको छ । सभापाखरी पहिलो पटक भ्रमणमा पुगेका खाँदबारीका खाँदबारीका लेखनाथ बुढाथोकी भन्छन् “पोखरीको फोहोर व्यवस्थापन गर्न जिल्लाका सरकारी कार्यालय, सरोकारवाला निकायको त ध्यान पुगेन नै जिल्लामा भित्रिएका गैरसरकारी संस्थाहरु पनि सदरमुकाम केन्द्रित भएका छन् ”। उनि थप्छन् “यो खेर गईरहेको भेटि कुनै समिति बनाएर संकलन गरेर त्यो समितिले एउटा मात्रै भए पनि डस्बिन राखिदिए राम्रो हुने थियो ।” उनले यस क्षेत्रका बारेमा कमैलाई मात्र जानकारी भएको भन्दै सबैले मिलेर धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गरे ।
सभापोखरी चार पटक पुगेका माधव सापकोटाका भन्छन्, “म चार पटक यो पोखरीको दर्शन गर्न आए पहिले भन्दा फोहोर झन झन बढ्दै गएको छ” । पोखरीको आसपासमा दर्शनार्थी बस्नको लागि दुई वटा पाटी बनिसकेका छन् भने एउटा पाटी निमार्णधिन अवस्थामा रहेको छ । दर्शनार्थीहरु आफै पुगेर पाटी बनाएको भए पनि ट्वाइलेट बनाउन तर्फ भने तिनिहरुको ध्यान जान सकेको छैन । पोखरी क्षेत्रमा ट्वाइलेट नहुदाँ त्यहाँ पुग्ने भक्तजनहरु पोखरीको वरिपरी खुल्ला ठाउँमा दिसा पिसाब गर्न बाध्य छन् ।
यहां सन्तान नहुनेहरुले पुजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालुहरु पुजा गर्न पुग्ने गरेका छन् । यस पोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकिय हिसाबले निकै महत्वपुर्ण रहेको भए पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् । बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले विशेष ध्यान दिन आवश्यक भएको स्थानीयवासीको जोड छ ।
सभापोखरी सदमुकाम खाँदबारीबाट चार दिनको पैदल दुरीमा पर्छ । पूर्वी नेपालको संखुवासभा जिल्लास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो । त्यस पोखरीमा जनै पुर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरु पुग्ने गरेका छन् । किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनास रोक्न देउताहरुले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । ‘वेद व्यसले सम्पुर्ण देवि देवताहरुलाई भेला गराएर पुराण भनेका थिए’ । संखुवासभा जिल्लामा पर्ने यो तालको लम्बाई २ सय मिटर र चौडाइ करिव १ सय मिटर छ । यो समुद्र सतह देखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ । देउताहरुले सभा गर्ने स्थल भएकाले यस्को नाम सभापोखरी रहन गएको किंवदन्ती छ । यहि पोखरीको नाममा नै गाउँपालिकाको नाम पनि सभापोखरी गाउँपालिका बनेको र यहि पोखरीको नाममा सभाखोलाको पनि नाम रहन गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार