आधिकारीक उजुरीबिनै महिला सञ्जालमाथि नकरात्मक टिप्पणी भएको भन्दै प्रेस विज्ञप्ती

  सिलिचुङ सम्बाददाता  227 पटक हेरिएको

प्रेस विज्ञप्ती । तश्विर / सिलिचुङ

भोजपुर । आत्महत्याको विषयलाई लिएर मृतक महिलाको तर्फबाट जिल्लास्थित महिला सञ्जालहरुमा कुनै आधिकारीक उजुरी नआएपछि असन्तुष्ट मृतकका आफन्तहरुले विभिन्न नकरात्मक अफवाह फैलाएको भन्दै सञ्जालले आफुमाथि टिकाटिप्पणी भएको जनाएको छ । भोजपुर नगरपालिका ७, सप्तधारा छेउमा रहेको कुखुरा फर्ममा २४ वर्षिया सविना (परिवर्तीत नाम) श्रेष्ठले आत्महत्या गरेको विषयलाई लिएर महिला सञ्जालको आलोचना हुँदै आएको सञ्जालले बताएको छ । मृतकको आफन्तले सविनाले आफुलाई पतिले अन्य महिलासंग मिलेर कोठामा आई कुटपिट गर्ने गरेको भन्दै सञ्जालमा मौखिक उजुरी दिँदा पनि कुनै सुनुवाई नभएको बताउँदै आएका छन् ।
महिला मानवअधिकार रक्षक सञ्जाल र अन्तरपार्टी महिला सञ्जाल भोजपुरले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको खण्डन गरेको हो । मृतकले कुनैपनि लिखित र मौखिक उजुरी नहालेको विज्ञप्तीमा जनाईएको छ । अन्तरपार्टी महिला सञ्जालका कार्यावाहक अध्यक्ष तथा जिल्ला समन्वय समिति भोजपुरका उपप्रमुख अनिषा खड्काले महिला सञ्जालले सहयोग नगरेको भन्ने भनाइ सत्य नभएको बताएकी छन् ।
पत्रकार सम्मेलनमा सामुदायिक सेवा केन्द्र भोजपुरका अध्यक्ष लिलामाया तामाङ्गले मृतक सविनाले मौखिक रुपमा घट्नाको विषयमा जानकारी गराएको तर कसैलाई नभन्नु भनेका कारण आफुले कसैलाई नभनेको बताईन् । यता आत्महत्या गरेकी सविनाकी आफन्तजनले सविनाकी श्रीमानसंग लागेर आत्महत्या गर्न बाध्य बनाएको भन्दै एक महिलालाई कुटपिट गरेका थिए । मृतक सविनाकी श्रीमानसंग तारा (परिवर्तीत नाम) तामाङको सम्बन्ध रहेको भन्दै कुटपिट गर्न थालेपछि बुधबार भोजपुर सदरमुकाम तनावग्रस्त बनेकोे थियो ।
कुटपिट हुन थालेपछि प्रहरीले तारालाई जिल्ला प्रहरी कार्यालय भोजपुर लगेको थियो । मृतक सविनाका आफन्तजनले भने मृतककी श्रीमानसंग ताराको नाजायज सम्बन्ध रहेकै कारण सविनाले आत्महत्या गरेको आरोप लगाएका छन् । आरोपीत तारालाई सुरक्षा तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमै राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार