बैकुण्ठे, भाेजपुर । रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेका गणेश गेलाल वैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका दाजु महेशले पठाएको पैसा लिन सदरमुकाम आउनुथ्यो । घरबाट नागरिकता बोेकेर हिँडेका उनी गाउँपालिका पुगेपछि चकित बने । गाउँपालिका कार्यालय मुनि एनआईसी एसिया बैङ्क लेखिएको साईन बोर्ड देखेपछि सदरमुकाम मोडिने बाटो छोडेर सरासर काउण्टरमा गएर सोधिहाले ।
गाउँपालिकाको निजी भवन नहुँदा भवनको माथिल्लो तलामा गाउँपालिका कार्यालय बस्दै आएको छ भने बैङ्ककाे शाखा पनि तत्कालका लागि भवनको भुईँतलामै सञ्चालन हुँदै अाएकाे छ ।
सेवाग्राहीको बाक्लो भिड लागेको काउण्टरमा रहेका बैङ्कका कर्मचारीले सम्पूर्ण बैङ्किङ कारोबार र स्वदेश विदेशबाट पैसा पठाउन, झिक्न मिल्ने बेलीविस्तार सुनाएपछि नजिकैको किराना पसलमा उनले आफ्नो नागरिकताको फोटोकपी गरी दाजुले पठाएको आईएमई नम्बर टिपाएर उनले केहि समयको प्रतिक्षापछि पैसा प्राप्त गरे । यसअघि सामान्य कामका लागि पनि साढे ७ घण्टाको कष्टकर पैदल हिँडेर सदरमुकाम धाउने गणेशलाई गाउँपालिकामै बैङ्क आएको पत्तै थिएन । घरदेखी १५ मिनेटको दुरीमा रहेको गाउँपालिकाको कार्यालय र बैङ्कको काम समयैमा सकाएर उनी फर्किए ।
आफ्नो निजी भवन नहुँदा यतिबेला एउटै छतमुनि रामप्रसाद राई गाउँपालिका कार्यालय र करिब ४ महिना अघि स्थापित एनआईसी एसियाको शाखा सञ्चालन हुँदै आएका छन् । एकै ठाउँमा दुई सुविधा पाएपछि गाउँपालिकाका बैकुण्ठे, मानेभञ्ज्याङ, धोद्लेखानी, बासीखोरा, हतुवागढी गाउँपालिकाका वासिङथर्पु, यूँका सेवाग्राहीलाई सहज भएको छ ।
गाउँपालिकाको कार्यालय स्थापना भएपनि निजी भवन नहुँदा भवनको माथिल्लो तलामा बस्दै आएको छ भने बैशाख २४ गते शाखाको रुपमा स्थापना गरिएको एनआईसी एसिया बैङ्क पनि भवन अभावमा तत्कालका लागि भवनको भुईँतलामै सञ्चालनमा ल्याईएको छ ।
त्यस्तै गाउँपालिका कार्यालयमा स्थापना भएपनि नेपाल राष्ट्र बैङ्कको सिफारिस नभएकाले गाउँपालिकाको कारोबार सुरु हुन सकेको छैन । प्रक्रियागत रुपमा गाउँपालिकाले बैङ्किङ कारोबार गर्दा पहिले वाणिज्य बैङ्क भोजपुर शाखाबाट महालेखा र महालेखाले नेपाल राष्ट्र बैङ्कलाई सिफारिस पठाएपछि बैङ्कले पूर्णतः सिफारिस अनुमति दिएपछि मात्र गाउँपालिकाको कारोबार सुरु हुने शाखा म्यानेजर सुजन राईले बताए । ‘शाखा भर्खरै स्थापना भएकाले गाउँपालिकासंग कारोबार ठप्प छ । नेपाल राष्ट्र बैङ्कसंग सिफारिसका लागि गाउँपालिकाको प्रक्रिया सुरु भएको छ र चाँडै नै बैङ्कले सिफारिस अनुमति दिनसाथ कारोबार पनि सुरु गर्नेछौँ ।’ उनले भने ।
बैङ्क स्थापना भएसंगै ग्रामिण भेगका सेवाग्राहीको निकै भिड लाग्ने गरेको छ । दैनिक ८ देखी ९ सम्म रेमिट्यान्सको काम हुने बैङ्कमा झण्डै ३० देखी ४० को संख्यामा सेवाग्राहीहरु व्यक्तिगत खाता खोल्न, बचत गर्न, पैसा पठाउननिकाल्न आउने गरेको म्यानेजर राई सुनाउँछन् । गाउँपालिका कार्यालय र बैङ्कमा आर्थिक लेनदेनको क्रियाकलाप सुरुभएसंगै ग्रामिण भेगका मानिसहरुलाई दुईदिन पैदल हिँडेर सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । पशुपतिको दर्शन सिद्राको व्यापार भनेझैँ सर्वसाधरणलाई एकै ठाउँमा धेरै सुविधा पुग्दा सहज भएको स्थानीयबासी बताउँछन् ।
स्थानीय सरकारको काम र बैङ्कको कारोबार एकै ठाउँ भएकाले साँघुरो भएपनि भवन अभावले गर्दा तत्काललाई काम चलाईरहेको गाउँपालिका उपप्रमुख सम्झना राईले सुनाईन् । उनले भनिन्, ‘अहिले हाम्रो आफ्नै निजी भवन नभएकाले एउटै भवनमा कार्यालय र बैङ्कको काम गर्दा सेवाग्राहीको घुँईचो हुने गर्छ । भर्खरै बैङ्कको शाखा पनि विस्तार भएकाले तत्कालका लागि जसोतसो यहि समायोजन गरेका छौँ । पछि गाउँपालिकाको भवन बनेपछि सहज हुनेछ ।’ अहिले संस्थागत, व्यक्तिगत कामकाज लागि गाउँपालिकाको कार्यालयमै बैङ्क आएपछि झन सजिलो बन्दै गएकोमा सर्वसाधरण हर्षित बनेका छन् ।