छाउ प्रथा भर्सेस तिज

प्राज्ञ कैलाश राईले हालै एक कार्यक्रममा भनिन् ‘मैले तिज, पञ्चमी, छुत, अछुत भन्ने चाहिँ काठमाडौं टेकेपछि थाहा पाए ।’  पूर्वी पहाडी जिल्ला भोजपुरको ठूलोदुम्माकी कैलाशले २०५५ सालमा काठमाडौं टेकिन् ।

राणाकालिन समयको पूर्व ४ नम्बर माझ किरातकी छोरी उनी । आफूलाई प्रकृति पुजक मान्ने किरातीहरूका लागि तिज र पञ्चमी मान्ने चलन दुई दशक अघि थिएन । अहिले पनि अपवाद बाहेक छैन ।

सरकारले महिलाहरूको महान पर्व भन्दै तिजमा महिलाहरूलाई सार्वजनिक छुट्टीको समेत दिन्छ । यही तिज कार्यक्रमकै लागी कैलाशले छिमेकमा ५-६ सय रुपैयाँ समेत जम्मा गरिसकेकी छन् ।

यो उनको चाहाना त होइन । तर छरछिमेकलाई स्विकार्नै पर्ने बाध्यताले उनी बिमुख हुन सकिनन् । उनले यसरी काठमाडौंलाई झेलेको पनि दुई दशक भएछ ।

काठमाडौं आएपछि नै किन त ? भोजपुरको त्यो दुर्गम गाउँ, जहाँ दुई छाक टार्न दिनरात नंग्रा खियाउनुपर्छ । उसै पनि किराती समुदाय चेतना र आर्थिक स्तरमा पछाडि मानिन्छ ।

तिज भनेको ‘कुन चरिको नाम हो’ भन्ने खालका मानिस अहिले पनि छन् गाउँघरमा । आफ्ना कुल पितृ पुज्न चारदाना चामल जुटाउन नि निकै धौधौ पर्ने गाउँघरमा न तिज, न पञ्चमी । यस्तै समुदायबाट आएकी कैलाशको कथा यति नै । अब चर्चा गरौं तिजकै ।

महादेव शिवलाई पति पाउँ भनि पार्वतीले निराहार उपवास बसेकै कारण शिव पाएको र यही मान्यताअनुसार तिज मनाउन थालिएको पौराणिक कथाहरूमा पढ्न पाइन्छ ।

सांसद अञ्जना विसुखेंकै अनुभवमा पनि तिज उबेलादेखि मनाउन थालिएको थियो । मुखमा एक थोपो पानी नहाली व्रत बस्ने चलन त्यो बेला नि थियो । तर यति चर्को, भड्किलो थिएन ।

‘आमा हजुरआमाहरू मनाउनुहुन्थ्यो, तामझाम थिएन,’ उनी भन्छिन्, अहिले पुजीवाद हाबी भएको छ र यसले महिलालाई नै सक्ने काम गरेको छ ।’ उबेलाका तिज गीतहरूमा प्रगतिशिल भाव झल्कन्थे । वेदनाका कुराहरू समेटिन्थे । मौलिकतामा रमेका हुन्थे आमा, दिदीबहिनीहरू । अहिलेको तिज भने होटल, रेस्टुरा, डिस्को र बारमा परिणत भएको छ । ’

गुफा बसेकै ठाउँमा मृत्यु भए कोही पुरुषले हेर्न नहुने र गुफाभित्रै खाल्डो खनेर गाड्नु पर्छ भन्नेसम्मको चलन थियो । अधिकारकर्मीहरू यसलाई सुदूर र मध्यपश्चिममा महिनावारी हुँदा गोठमै राख्ने छाउ प्रथाभन्दा नि खतरनाक भन्छन् ।

अञ्जना व्यङग्य गर्दै भन्छिन्, ‘तिज त अचेल हो, संस्कृतिका रुपमा मौलाएको, पुजीवादी सहरदेखी दुरदराजका गाउँसम्म संस्कृतिका रुपमा मौलाउदै गएको ।’ तिजको भड्किलोपनालाई विकृतिका रुपमा विरोध गर्नेहरूका सामु उनी ‘संस्कृति’ भनेर विरोध गर्छिन् ।

तिज आउन एक महिना बाँकी हुदैदेखि महिलाहरूलाई दर खान भ्याइनभ्याइ छ । हुनेखाने महिला र महिला कर्मचारीहरूलाई महिनाभर हरियो, रातो, पहेलो पहिरन पहिरिने प्रतिस्पर्धा चल्छ । तिजमा मञ्च खडा गरेर औपचारिक कार्यक्रम गर्ने चलन उबेला थिएन । पछिल्लो समय तीब्र रुपमा बिकास हुँदै गएको संस्कृति हो अञ्जनाको भाषामा ।

सिद्धान्त र अध्ययनहरूलाई आधार मान्ने हो भने हरेक दिन विश्वमा एकचौथाई महिलाहरू महिनावारी हुने अवस्थाका हुन्छन् । एकजना महिलाले आफ्नो जीवनमा तीन हजार दिन कुनै न कुनै बहानामा ‘अछुत’ हुनुपर्छ । १० हजार दिन महिनावारी हुँदा बहिस्कृत हुनुपर्छ । हरेक महिलाहरू ५ देखि ७ दिन अछुत भएर बस्नुपर्छ ।

देशकै केन्द्रीय राजधानी काठमाडौंमा कोठे छुत-अछुतको व्यवहार त झनै भयानक छ । सदियौंदेखि बस्दै आएका तागाधारी र नेवार समुदायमा यस्तो कुरीति अझ बढी भयानक छ । छोरीहरूलाई महिनावारी हुनुअघि १२ दिनसम्म गुफा राख्ने चलन छ ।

त्यसबेला कुनै पुरुषलाई हेर्न हुँदैन । गुफा बसेकै ठाउँमा मृत्यु भए कोही पुरुषले हेर्न नहुने र गुफाभित्रै खाल्डो खनेर गाड्नु पर्छ भन्नेसम्मको चलन थियो । अधिकारकर्मीहरू यसलाई सुदूर र मध्यपश्चिममा महिनावारी हुँदा गोठमै राख्ने छाउ प्रथाभन्दा नि खतरनाक भन्छन् ।

छाउ प्रथा विरुद्ध सरकारले कानुन बनाएको छ । हाम्रै सरकारले पोर सालसम्म त पञ्चमी तिथीमा व्रत बस्नकै लागि महिलाहरुलाई बिदा पनि दिन्थ्यो ।

अर्थात वर्षभरी महिनावारी भएका बेला भए गरेका पाप पखाल्न व्रत वस्नकै लागि विदा पाउँथे महिलाहरु । र खुसीको कुरा हो अधिकारककर्मीकै विरोधमा यसपटक सरकारले ऋषी पञ्चमीको विदा कटौती गरेको छ । महिनावारीमा भएका पाप पखाल्न महिलाहरुले व्रत वस्न छुट्टी पाउनेवाला छैनन् ।

संविधानमा महिलाको हक सम्बन्धी स्पष्ट उल्लेख छ । सम्मानपूर्वक बाँच्न पाउने, समानतापूर्वक बाँच्न पाउने, प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन अधिकार उल्लेख गरेको छ ।

महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने, पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने अधिकार छ ।

राष्ट्रिय महिला आयोगकी पुर्वसदस्य धनकुमारी सुनार ऋषी पञ्चमीको विदा कटौतीस् गरेर सरकारले राम्रो काम गरेको बताउँछिन् ।
युवा नेता मानुषी यमि भट्टराई तिज महिलालाई दोस्रो दर्जामै राख्ने आधार भएको दावी गर्छिन् । तिजका विरुद्ध खुलेर बोल्छिन् । तर भदौ नलाग्दै तिजको दर खाने निम्तो आएको उनले सुनाइन् ।

तिजको तामझाम सहरमै हुन्छ । सुरुमै कैलाशले भनेजस्तो । मान्दै नमान्नेलाई पनि प्रत्यक्ष÷अप्रत्यक्ष तिजले प्रभाव पार्छ सहरले, समाजले । पहिले हिन्दु धर्मावलम्बी महिलाहरूको महान पर्व भन्ने गरिन्थ्यो, अहिले नेपाली महिलाहरूको भनिन्छ । यसले गर्दा सबै समुदायका महिलालाई तिजको रमझमले छोएको छ ।

नेताले नै नाचेपछि ‘हामी किन ननाच्ने ? किन नमानाउने तिज ?’ यसरी सबै समुदायका सबै महिलाहरूमा तिजले तताउँछ । यसरी विकास हुँदै आयो, हिन्दु धर्मावलम्बी महिला हुँदै नेपाली महिलाहरूको महान चाड तिज ।

आदीवासी जनजाती समुदायहरूमा व्रत नबसे पनि दर खाने चलन एक महिनाअघि देखि नै सुरु हुन्छ । रंगीबिरंगी पहिरन पहिरिने चलन नि उही छ । हजुरआमाका पालालाई भन्दा नि आमा, दिदीहरूको पालामा मनाउन थालिएको तिज अहिलेका युवतीहरूको पाला ‘फेमस’ बन्दै गएको छ ।

अध्ययन, जागिर र व्यवसायको क्रममा सहर बसेर गाउँ पुगेका महिलाले सिकेको तडकभडकलाई गाउँमा पनि जस्ताको त्यस्तै नक्कल गर्ने र गाउँले दिदीबहिनीहरूमा देखासिकीले गर्दा अञ्जनाको शब्दमा ‘संस्कृति’का रुपमा मौलाउदै आएको छ ।

केहि प्रगतिशील महिला अगुवाहरू यसलाई फाल्नुपर्छ भन्ने अभियानमा त छननै । पञ्चमी व्रतको पुजा गर्ने दिन टपराभरी मासुका परिकार खाएर विरोध जनाएका विगत ताजै छन् ।

राजनीति देश बदल्ने गतिलो माध्यम भन्दै आइरहेको अवस्थामा राजनीतिक नेतृत्वका महिलाहरू पनि सामेल नभएका होइनन् । तर अल्पमतमा परेपछि धुमिल भइदिन्छन्, यस्ता अभियान ।

मानुषी यमीले भनेजस्तै कसले चाडो तिजको कार्यक्रम गर्ने प्रतिस्पर्धाले गर्दा मौलाउदै जान पे्ररित गरेको छ । राजनीतिक संगठनहरूमा नेतृत्व गर्ने धेरै हिन्दु धर्मावलम्बीका नै हुन्छन् । उनीहरूले कार्यक्रम गरेर नाचेपछि, रमाइलो गरेपछि संगैको नेवार, राई, मगर, गुरुङ पनि सामेल हुनैप¥यो ।

नेताले नै नाचेपछि ‘हामी किन ननाच्ने ? किन नमानाउने तिज ?’ यसरी सबै समुदायका सबै महिलाहरूमा तिजले तताउँछ । यसरी विकास हुँदै आयो, हिन्दु धर्मावलम्बी महिला हुँदै नेपाली महिलाहरूको महान चाड तिज ।

जनजाती समुदायमा यतिसम्म भैसक्यो कि, व्रत नलिए पनि तडकभडक गर्ने, खाने र लाउने चलन बढेको छ । निम्न वर्गको परिवारमा पनि तिजको बेला ऋण काढेरै भएनि भान्सामा मासु पकाउने चलन छ ।

सरकारमा अहिले नेकपाको नेतृत्व छ । जसले समाजवादी, भौतिकवादी, प्रगतिवादी दर्शनलाई मान्छ । महिला पुरुष समानताको कुरा गर्ने । तर लोग्नेको आयु बढ्ने नाममा तिजको व्रत बस्नु अघि दर खान नेकपाकै महिलाहरुलाई पनि भ्याइनभ्याइ छ ।

‘नेकपाले गाउ“–गाउ“बाट संघर्ष गरेर सरकारमा आएको भन्ने त पत्याउनै सकिदैन,’ लेखक युग पाठक भन्छन् । यदि पञ्चमी व्रतलाई फाल्ने हो भने तिजलाई पनि खारेज गर्नुपर्ने उनको तर्क सान्दर्भिक छ ।

नेपालमा हरेक दिन तीन जना महिला पुरुषबाट बलात्कृत भइरहेका छन् । यही भदौ २९ गते महिलाहरू तिजको निराहार व्रत बस्नेछन् । शिवलिंगको धुमधाम पुजा गर्नेछन् । यसले फेरि पनि महिलाहरुमा पुरुषकै प्रति भक्तिभाव दर्शाउ“छ । महिलाहरू दोस्रो दर्जाकै हुन भन्ने प्रमाणित गराउँछ ।

तसर्थ महिला र पुरुषको हैसियत समान छ भन्ने कुरामा विश्वास छ गर्नेहरुले तिजकोव्रत किन बस्ने ? किन खाने तिजको नाममा दर ? किन लगाउँने ऋण निकालेर महंगा लुगा र गहना ? के महिलाले व्रत बस्दैमा पुरुषको आयु लम्बिने हो र ? कुन दुनियामा छौं हामी ? हामी किन बुझ्दैनौं कि कसैले भोको बस्दैमा कसैको आयु लम्बिने होइन ।

त्यसकारण हामी महिला र पुरुष समान छौं, समान हुनुपर्छ । मान्छे–मान्छेबिचको समानता नै देशलाई संसारमा चिनाउने आधार हुन्छ । हामी त्यही आधार खडा गर्न जुट्नुपर्छ ।

कान्तिपुर दैनिकबाट साभार । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार