भोजपुरे इतिहासवेत्ता

३५ वर्षअघिको कुरा । काशीनाथ तमोट कीर्तिपुरमा नयाँनौला प्राध्यापक थिए । बोलीवचनमा सीधा–स्पष्ट स्वभाव थियो उनको । नेपाली बृहत् शब्दकोश निर्माण क्रममा शब्दकोश स्तरीकृत नगरिएको भन्दै ‘कटु प्रतिक्रिया’ दिएपछि तत्कालीन त्रिवि नेपाली केन्द्रीय विभागाध्यक्ष डा. वासुदेव त्रिपाठी तमोटसँग नमज्जाले कड्किए । त्रिपाठीले भने, ‘काशीनाथजी, तपाईं हाम्रो भाषामा दखल दिन नखोज्नुहोस्, तपाईं आफ्नै भाषामा लाग्नुहोस् ।’

उनै तमोटले उक्त कोश परियोजनामा उनले आंशिक कोशकारको हैसियतले १५ महिना र कोश निर्माण समितिको सदस्य भएर झन्डै पाँच वर्ष काम गरेका थिए । नेपाली भाषा मूलत: संस्कृतबाट आएको र त्यसबाहेकका ‘तत्सम’ नमान्ने, नेपालीअनुरूप ह्रस्व रूपमा लेख्ने नियमले कोशमा प्रविष्टि पाएपछि उनलाई असहय भएको थियो । संयोजक/सम्पादकको निर्णय न्यायसंगत नपाएपछि कटु प्रतिक्रिया जनाएका थिए । जतिबेला उनले नेपाली भाषामा २० वर्ष (सन् १९६२–८२) सेवा गरिसकेका थिए ।

त्यसयता नेपाली भाषाले एक हस्तीलाई गुमाउँदै आयो । उनी अर्थात् काशीनाथ तमोट आफ्नै नेवा:भाषा (नेपालभाषा) मा सक्रिय हुन थाले । यसबारे सन् २०१६ मा ‘अनि म आफ्नै भाषातिर लागे’ नामक छ पृष्ठको पर्चा पनि प्रकाशन गरेका छन् । परिस्थितिवश लेख्नुपर्नेबाहेक आफ्नै मर्जीले नेपाली लेख्ने जाँगर हराउँदै गयो ।

सायद त्यसैको उपज हुनुपर्छ पाटन क्याम्पसको प्राध्यापन सेवाबाट अवकाशपछि नेवारी भाषा र लिपिको अध्ययन र अनुसन्धान चहक बनाउँदै ल्याएका छन् । उनले अवकाश पाएको दशक मात्रै एक दशक बितेको छ । उमेरले ७४ वर्ष भए पनि जोसजाँगर १६ वर्षे जवानीजस्तै छ उनको ।

१३ वर्षकै उमेरदेखिको पुस्तक र पुस्तकालय मोह अहिले पनि उत्तिकै छ उनलाई । विसं २०१४ देखि ०१८ सम्म पुख्र्यौली घर भोजपुर, टक्सारमा रहेको विद्याधरी सार्वजनिक पुस्तकालयमा संगालेको अनुभव यतिबेला निकै काम लागेको छ ।

विसं २०१९ मा एसएलसी दिएपछि उच्च शिक्षाका लागि काठमाडौं छिरेका थिए । सिभिल इन्जिनियर गरे । स्वअध्ययनबाटै आईए, बीए र एमए गरे । पाटन क्याम्पसमा नेपाल भाषामा तीन दशकभन्दा बढी समय प्राध्यापक भएर बिताए ।

उनको जीवनको यात्रा र संघर्ष जो कोहीका लागि लोभलाग्दो र उदाहरणीय हुन सक्छ । अर्कातर्फ भोजपुरको इतिहासका सप्रमाण हस्तीभन्दा फरक पर्दैन । घरैमा पुस्तकालय स्थापना गरेर इतिहासलाई जतन गरेका छन् । काठमाडौंमा भोजपुरको इतिहास जोगिएको छ ।

धुजाधुजा हुन लागेका भोजपुरको प्रकाशित हस्तलिखित पत्रिकाहरू, भोजपुरसम्बन्धी लेखिएका प्रकाशित/अप्रकाशित लेख रचना र पुस्तकहरूको संकलन देख्दा प्रस्टै हुन्छ । २००८ सालदेखिका संकलन उनीसँग छन् । भोजपुरबारेमा चासो लिनेहरूले यहीको संकलनलाई प्रयोग गर्छन् ।

तमोट भोजपुरको इतिहासका ‘सप्रमाण साधक’ हुन् । घरैमा पुस्तकालय स्थापना गरेर उनले इतिहासलाई जतन गरेका छन् । जेनेतेन काठमाडौंमा भोजपुरको इतिहास जोगिएको छ । धुजा–धुजा हुन लागेका भोजपुरबारेका हस्तलिखित पत्रिका, भोजपुरसम्बन्धि लेखिएका प्रकाशित/अप्रकाशित लेखरचना र पुस्तकको संकलनले तमोटको घर भरिएको छ । तमोट विशेषता भनेकै भोजपुरको इतिहासलाई सकेजति संकलन गर्ने र भोजपुरे गरिमालाई ताजा बनाइराख्ने ।

उनको विशेषता भनेकै भोजपुरको इतिहासलाई सकेजति संकलन गर्ने । विसं २००८ सालमा साहित्यसम्बन्धी विद्यार्थी नामको हस्तलिखित मासिक पत्रिका, २०१३ सालमा विद्योदय शिक्षक संघले ‘साइक्लो स्टाइल’ को निकालेको छाँगो पत्रिका, २०१५ सालमा बालसाहित्य मण्डलले प्रकाशन गरेको आकुरो, २०१८ सालमा भित्तेपत्रिकाको रूपमा प्रकाशन भएको प्रभात भित्तेपत्रिका हुँदै नेपालका कहलिएका लेखकहरू परशु प्रधान, कृष्ण जोशी, शैलेन्द्र साकारको टोलीले सुरुआतमा प्रकाशनमा ल्याएको भोजपत्र साहित्यिक पत्रिकाको संकलन छ उनीसँग । उनको संकलनले भोजपुरेहरू पहिलेदेखि केही न केही गरिरहने खालका छन् है भन्ने प्रमाण देखाउँछ ।

 

उनी सानैदेखि सिर्जनशील पनि थिए । २०१९ सालमा पहिलोपल्ट कविता लेखेका थिए ‘त्यति भए पुग्छ’ शीर्षकमा । सादा जीवन उच्च विचारको भाव झल्किने अर्थ कवितामा उतारेका छन् । पावरवाला चस्माको साहाराले उनको निवासमा पढेर सुनाएका थिए । खुब हाँसो लागेको थियो उनलाई । उनले जानेरभन्दा पनि विद्यार्थीको उमेर ह्विम थियो त्यो । सपनाको ओतमा नामक कवितासंग्रहमा प्रकाशित छ । उनले नेपाली भाषामा अढाई सय जति फुटकर लेखरचना लेखे ।

कविता, निबन्ध लेखेपछि अनुसन्धानमा लागे । पहिलोपल्ट ‘भोजपुरका दुई अज्ञात दाजुभाइ’ शीर्षकमा लेखेको अनुसन्धानात्मक लेख हिमानी त्रैमासिक (असोज २०२१–फागुन २०२२) पत्रिकामा छापिएको थियो । अहिले नेवारी भाषा र लिपिमा कोलोफोन, म्यानस्क्रिप्टको काम गर्छन् । अनुसन्धात्मक कार्यतर्फ लगाव बढ्दै जाँदा पुस्तक संकलन भएर पुस्तकालयको रूप लियो ।

उनको पुस्तकालयमा २० हजार पत्रपत्रिका, पुस्तक छन् । तीनवटा कोठा भरिएका छन् । बीचमा र्‍याक राख्नुपर्ने अवस्था भइसकेको छ । एक जना सहयोगी राखेका छन् । उनले कम्प्युटरको काम गर्छन् । महिनामा २० हजार बराबरको पुस्तकहरू किन्छन् । चिनेजानेकाले संग्रहका लागि छोडिदिन्छन् पनि ।

अधिकांशले पुस्तकको मात्रै संकलन गर्छन् । उनले पुस्तक पत्रपत्रिका, कटिङ, पर्चा, हयान्डराइटिङ संकलन गर्छन् । भन्छन्, ‘हयान्डराइटिङले सभ्यतालाई बोल्छ, सामान्य तर इतिहास बोल्छ, कटिङ, पर्चाले इतिहास बोल्छन् ।’ उनले आफ्नी बहिनीको नाममा पुस्तकालयको नाम दिएका छन् ‘शुभसफू कुठी’ ।

जसको अर्थ शुभ–बहिनीको नाम, नेवारी भाषाको सफू– पुस्तक र कुठी– कोठा हुन्छ । सात दाजुभाइ पछि जन्मिएकी बहिनीको ७/८ कक्षा पढ्दै विवाह भयो । पढ्न पाइनन् । त्यही कारणले उनको नाममा पुस्तकालयको नाम राखेका थिए । त्यहीबाटमा पर्चा, पम्प्लेट प्रकाशन गर्थे । पत्नि मञ्जुको देहावसानपछि उनैको नाममा प्रकाशनको काम गर्छन् ।

 

उनले नेवारी, नेपाली र अंग्रेजी भाषामा दख्खल छन् । नेवारी भाषा र लिपिसम्बन्धी देशविदेशमा हुने कार्यक्रमहरूमा उनलाई निम्ता दिइन्छ । अमेरिका, थाइल्यान्डलगायत देशहरूमा ६/७ पल्ट अनुसन्धानात्मक विषयमा प्रस्तोता भएर गएका छन् । चीनमा यही अक्टोबर १७ देखि २४ सम्म हुने हाङचाउ बुद्धिस्ट एकेडेमी सम्मेलनमा जाने तयारीमा छन् ।

भोजपुरको टक्सारबाट काठमाडौं आएर स्थापित हुन पत्नीले अथक योगदान पुर्‍याइन् । बानेश्वरमा १२ आना जग्गा १० हजार रुपैयाँमा किनेका थिए, २०३१ सालतिर । सुरुका दिनहरूमा टहराको बसाइ थियो । घामपानी उस्तै लाग्थे । थुपै्र संघर्षपछि ढलान घर बनाए । अहिले तीन तलाको घर छ । ‘स्वर्गजस्तै लाग्छ,’ उनी सुनाउँछन् । पत्नि बितेको १० वर्ष भयो ।

अहिले छोराबुहारीले मनग्य साथ दिएका छन् । छोरा एलम्बर तमोट वेभसाइटमा काम गर्छन् । वुहारी ज्वाला उदास सहकारीमा अकाउन्टेन्ट छिन् । उनीहरूले खानपान हेरचाह गर्छन् । सानी नातिनी पनि छिन् ।

उनी विहान ६ बजे नै ब्यँुझन्छन् । ८ बजे ओछयान छोड्छन् । चिया पिउँदै पत्रपत्रिका पढ्छन् । त्यसपछि कोलोफोन, प्रोजेक्टको कामतिर लाग्छन् । अभिलेखालयहरू धाउँछन् । बेलुकी जहिल्यै पनि समाचार हेर्छन् । दिनभर देशविदेशमा भएका घटनाबारे जिज्ञासा मेटाउँछन् । राति ११ देखि १२ बजेभित्रमा सुत्छन् । उनलाई कम्प्युटर चलाउन नआए पनि मोबाइलमा इन्टरनेटको साहाराले संसार नियाल्छन् ।

उनीसँग ओभरसियर, प्राध्यापकदेखि विभिन्न परियोजनाहरूमा चिफ कम्पाइलर भएर काम गरेको अनुभव छ । उनी चिफ कम्पाइलर भएको क्लासिकल नेवारी शब्दकोशले सन् २००० मा जापानमा निक्की एसिया पुरस्कार पाएको थियो । १० वर्ष खर्चेर तयार भएको शब्दकोश एसियामा हयुमानिटिजअन्तर्गत पहिलो भएको थियो ।

त्यसपछि थुप्रै मानिस उनको सम्पर्कमा आउन थाले । नेवारी संस्कृतिसँग सम्बन्धित स्कलरहरू पुस्तकालयमा आइरहन्छन् । उनी आफैं र नेवारी संस्कृति र सभ्यताको बारेमा थुपै्र विद्यार्थीले स्नातकोत्तरको शोधपत्र तयार गरेका छन् ।

उनको गहिरो अध्ययन र अनुसन्धानप्रतिको लगावलाई उच्च मूल्यांकन गरेर देशविदेशबाट १० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त भए । एक दर्जनभन्दा बढी विभिन्न संघसंस्था, समितिहरूमा रहेर काम गरे ।

विद्याधरी सार्वजनिक पुस्तकालयमा बर्माको राजदूत रहेका भीम उदासले पनि काम गरेका थिए । राजनीतिक चेतना बुलन्द गर्‍यो । थुप्रैलाई देशविदेशमा परिचत नामका रूपमा स्थापित गर्‍यो । हाल बेहालको स्थितिमा छ । पुस्तकालयलाई दिन भनेर तमोटले ०७२ सालमा काठमाडौंबाट ५० वटा पुस्तक लिएर गएका थिए । बेहाल अवस्थामा भेटेपछि यशोधरा माविलाई दिएर फर्किए । अहिले पनि भन्छन्, ‘इतिहास बोकेको त्यस पुस्तकालय कुनै दिन रिभाइभ गर्ने चाहना छ ।’

उनले काम गर्दा टक्सारको तीनधारा नजिकैको पाटीमा सञ्चालनमा थियो । पाटी जीर्ण भएपछि तत्कालीन टक्सारबजारमा नाम कहलिएका समाजसेवी स्व. पूर्णबहादुर ताम्राकारले विसं २०४८ सालमा स्व. पिता देवनारायण ताम्राकारको कीर्ति अविच्छिन्न राख्ने अभिप्रायले एक लाखको लागतमा ‘देवमान’ भवन बनाई व्यवस्थित गरिदिएका थिए । जीर्ण पाटी उनै देवनारायणले निर्माण गरेका थिए । ‘देवमान’ भवनमा पञ्चायत भवन पनिसँगै थियो । अहिले वडा कार्यालय बसेको छ ।

कान्तिपुर दैनिकबाट साभार । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार