टक्सार, भोजपुर । मन्दिरको जगेर्णा गर्ने आधाभन्दा धेरै गाउँलेहरु सुविधा खोज्न अन्यत्र बसाई लागेपछि भोजपुर सदरमुकामदेखि आठ किलोमिटरको दुरीमा रहेको पर्यटकिय प्रमुख धार्मिकस्थल टक्सारबजारका मठमन्दिरहरु यतिबेला जिर्ण हुने क्रममा छन ।
पाईलैपिच्छे भेटिने यहाँका मठमन्दिरहरु अहिले रेखदेख गर्ने स्थानिय नभएपछि जिर्ण र गुल्जार बन्दै गएका छन् । ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर लगायत दर्जौनौ बढि मठमन्दिरहरु छन् । तर रेखदेख गर्ने कोहि नभएकाले जिर्ण र वेवारिस बनेका यहाँका मठमन्दिरहरुमा हिजोआज पुजाआजा गर्ने तिर्थालु भक्तहरुको समेत आवातजावतमा कमी आएको स्थानिय अम्बिका ताम्राकार सुनाउँछन् ।
गाउँका १८ घरसमुदायमध्ये १४ घरसमुदायहरुको सुविधा खोज्न क्रममा शहर, विदेश पलायन हुनु र रेखदेख गर्ने पुजारी, स्थानिय नहुनु नै मठमन्दिरको जिर्णताको प्रमुख कारण बनेको छ । अर्कोतिर आर्थिक अभावले ०७२ सालको महाभुकम्पबाट यहाँका अधिकांश धार्मिक संरचनाहरु वेवारिसे र जीर्ण बनेपछि यसको जगेर्णा गर्न झनै समस्या थपिएको उनी बताउँछन् ।
पातलिँदो बस्तीसंगै ओझेलमा परेको ऐतिहासिक ‘थेरवादी बौद्धविहार’ अर्थात ‘शाक्यमुनि बौद्धविहार’को पनि संरक्षण र सम्बद्र्धन नहुँदा जर्जर स्थितीमा छ । यस्तो अवस्थामा पनि स्थानियकै पनि चासो घटेकाले विहार जिर्ण बनेको विहारका उपासिका उत्तरा शाक्यले बताईन् । उनले भनिन्, ‘मन्दिरको रेखदेख गर्ने, सरोकार राख्ने मान्छे भेटिदैन र भएका स्थानियको चासो पनि छैन । तर पनि बाहिरी कुनै दाताबाट सहयोग प्राप्त भए मन्दिरको मर्मत सम्भार गर्ने योजना छ ।’
२ वर्ष अघि तात्कालिन जिल्ला विकास समितीले विहारको भवन मर्मत सम्भार गर्न छुट्टाएको तीन लाख बजेटबाट बौद्धविहार प्रतिष्ठानले मुलभवनको छेउमै एउटा ध्यानशिविर भवन बनायो । ०७२ सालमा मात्रै प्रतिष्ठानले बौद्धविहार सम्वद्र्धन गर्न जिल्ला विकास समितिबाट ९० हजार र स्थानियबाट ६० हजार चन्दा उठाए । तर त्योबेलाको संकलित एक लाख ५० हजार रकमले विहार मर्मतसम्भारमा पर्याप्त नभएपछि रकम प्रतिष्ठानको कोषमा राखिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश शाक्य बताउँछन् । उनका अनुसार गाउँमा बजेट मात्र नभई स्थानियबासीविच नै आपसी समझदारीपनमा कमि र चासो विषय नबन्नु प्रमुख कारण बनेको छ ।
विहारको बिग्रँदो अवस्थालाई ध्यान दिन नसक्दा विहार जीर्ण हुँदै गएकाले पहिलेभन्दा धेरै तिर्थालुहरु आउन छाडेको विहारका पुजारी नरेन्द्रराज शाक्यले बताए । ‘पहिले पुजा गर्न भनी टाढाटाढाबाट भक्तजनको भिड लाग्ने गथ्र्यो, तर अहिले थोरैमात्र स्थानिय शाक्य नेवार समुदायका मानिसहरु र महिला बौद्धधर्मालम्बीहरु आउनेगर्छन् ।’ उनले भने, ‘गाउँका टाठाबाठाहरु सबै शहर पसे, बाँकी एक दुुई घरका मानिसहरुविच नै मनमुटाव छ, हामी बुढाबुढी एक–दुई घरले के नै पो गर्न सक्छौँ र,’
किंवदन्तीमा वि.सं.१९९३ माघ १ गते स्थापित यो ऐतिहासिक शाक्यमुनि बौद्धविहार राणाकालिन समयमा ललितपुरबाट आएका भिक्षु महाप्रज्ञा स्थरविर र केहि महायानी सहित शाक्य, उदास, डंगोल जातीका नेवारहरुले यहाँ बस्ती बसालेसंगै उनीहरुले यहाँ पुजाआराधनाका लागि भनेर विहार बनाएका थिए । भिक्षु महाप्रज्ञा स्थरविरले विहारको ध्यानशिविरभित्र रहेको बुद्धको मूर्ति १८ दिनमा बनाएको किम्बदन्तीमा उल्लेख गरिएको छ । र त्यहि पालादेखि नै नेपालमा पहिलो पटक ‘बुद्ध जयन्ती’ अर्थात वैशाख पूर्णिमा मनाउन थालिएको स्थानियबासीहरु बताउँछन् ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वसंग जोडिएका यहाँका मठमन्दिरहरुको दुर्दशाप्रति सम्बन्धित स्थानिय सरोकारवाला निकायकै ध्यान पुग्न सकेको छैन । तर यसलाई स्थानिय निकायबाटै संरक्षण र सम्बद्र्धनका लागि आवश्यक कदम र बजेट विनियोजन गरेर संरक्षण सम्बद्र्धनका काम आगामी दिनमा अगाडी लैजाने भोजपुर नगरपालिका वडा नं १२, टक्सारका वडाध्यक्ष कुमार प्रसाद श्रेष्ठले बताए ।