प्रहरी दिवसमा विद्यार्थी र प्रहरी सम्मानीत

  सिलिचुङ सम्वाददाता

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि ६३ औँ प्रहरी दिवस विविध कार्यक्रम गरी मनाएको छ । ‘६३ औँ प्रहरी दिवस २०७५’ को अवसरमा बिहिबार जिल्ला प्रहरी कार्यालयले विद्यार्थी, उत्कृष्ट प्रहरी र अमर शहिद प्रहरी परिवारलाई सम्मान गरेको छ ।
प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीमा छनौट भएका प्रहरी चौकी प्याउलीका प्रहरी जवान अन्तराम चौधरीलाई उत्कृष्ट कर्तव्य निर्वाह गरेको भन्दै सम्मान गरेको हो । उनले गत जेठ २ गते अरुण गाउँपालिका ४ चरम्बी ¥याङमा एक सुस्त मनस्थिती भएकी अपाङ्ग युवतीलाई सोहि ठाउँका स्थानीय सन्तोष विश्वकर्माले फकाईफुलाई गोठमा लगेर बलात्कार गरी फरार भएपछि उनलाई गत भदौ १८ गते गाउँबाटै पक्राउ गरी प्रहरी चौकीमा बुझाउने साहसिक काम गरेकोले सम्मान गरिएको थियो ।

त्यस्तै दिवसकै अवसरमा जिल्ला प्रहरीले ‘यौनजन्य हिंसा रोकथाम र नागरिकको भुमिका’ विषयत निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने दुई छात्रालाई पुरस्कृत गरेको छ । जिल्लाभरका १७ वटा विद्यालयका ४३ जना सहभागी विद्यार्थीमध्ये प्रतियोगितामा प्रथम हुने विद्येश्वर माध्यमिक विद्यालय गोगने कक्षा ९ की छात्रा साङ्गेनमा राई र द्वितीय हुने युनिक एण्ड युनाईटेड पब्लिक एकाडेमी कक्षा ९ मा अध्ययनरत छात्रा निरुता निरौँलालाई पुरस्कार प्रदान गरिएको थियो ।
दिवसकै अवसरमा जिल्ला प्रहरीले विभिन्न समयमा शहिद हुने प्रहरीका परिवारलाई पनि दोसल्ला ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका जनप्रतिनिधी, भोजपुर नगरपालिकाका जनप्रतिनिधी, सहायक प्रजिअ, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रतिनिधी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, सरोकारवाला निकायका प्रमुख, क्रियाशिल सञ्चारकर्मी तथा पत्रकारको विशेष उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार