भोजपुर सदरमुकामबाट ७ कोष पैदल पूर्वमा रहेको अरूण गाउँपालिका साविककाे चम्पे गाविसस्थित पातले गुफा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटक तान्नसक्ने प्राकृतिक सम्पदाहरु भए पनि प्रचार प्रसारको अभावमा यो गुफा ओझेलमा परेको हो । पातले गुफासँसगै सिर्मुने डाँडा, ओखले दह रहेका छन् । गुफा नजिकैबाट हरियाली डाँडा र हिमालको मनोरम दृष्यले जो कसैको पनि मनलाई प्रफुल्लित बनाउँछ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पातले गुफाको प्रचार नहुँदा चम्पेको छिमेकी गाविसका मानिसलाई समेत गुफाको बारेमा जानकारी छैन ।
गुफाको प्रचारप्रसारमा न त स्थानीयबासीले चासो दिएका छन् न त सरकारी निकायले पहल थालेका छन् । सत्ययुगमा महादेव र पार्वती पृथ्वीमा घुम्ने क्रममा पार्वतीलाई झुक्याउन चम्पे–८ मा जमिनभित्र गुफा बनाई लुक्ने क्रममा सो गुफाको निर्माण भएको ऐतिहासिक कथन छ । पातले गुफामा करिव सय वर्षअघि स्थानीय एकजना एस्माली मगर नियमितरुपमा गुफाभित्र पसेर पूजा गर्थे । उनी एक दिन पूजा गर्न गुफामा पस्दा बाघ सुतिरहेको रहेछ । त्यस दिनदेखि एस्माली मगरले गुफामा पूजा गर्न बन्द गरे ।
बाघ बसेको घटनापछि गोठालेहरुले गुफा भित्र ढुङ्गा हान्ने गरे पनि त्यहाँभित्र पस्ने आँट भने कसैले गर्न सकेका थिएनन् । ढुङगा हान्दा निक्कै तलसम्म खस्ने गरेको स्थानीयहरुको अनुुभव छ । ढुंगा खसाल्दा र बाढी आएर गुफामा पसेपछि गुफाको गहिराई घटेको स्थानीयहरुले बताए । एकदिन गोठालेहरुले चराउने क्रममा हराएको बाख्रा खोज्दै जाँदा गुफा भित्र पसेको पाएपछि वाख्रालाई निकाल्न उनीहरु गुफामा पसेका थिए । गोठालाहरु गुफामा पसेपछि भने गाउँलेहरु गुफामा पस्न थालेका हुन् ।
पातले गुफा पस्ने बाटो सोझो र करिव ८ मिटर गहिरो छ । ८ मिटर गहिराईमा पसेपछि पुर्व दिशामा करिव १५ मिटर भित्रसम्म जान सकिने सुरुङ्ग छ । त्यसपछिको सुरुङ्ग सानो भएकाले त्यहाँबाट भित्र भने जान सकिन्न । मानिस पुग्ने अन्तिम ठाउँमा पूजा गरिन्छ । गुफाबाट फर्कंदा सिधा निक्लने सुरुङ्ग भन्दा तेर्साे पश्चिममा १० मिटर तेर्सिन सकिने द्धार छ । त्यहाँबाट पुनः फर्किएपछि पहिले पसेको बाटोबाट बाहिर निस्कन सकिन्छ ।
पातले गुफा संरक्षणका लागि हालसम्म कुनै संरक्षण समिति बनेको छैन । पातले सामुदायिक वन उपभोक्ता समितिले त्यसको रेखदेख गरिरहेको छ । गुफा व्यवस्थित गर्न स्थानीयबासी सकृय हुन थालेका छन् । गुफाको वरिपरी पर्खाल लगाउ गाविसले रकम उपलव्ध गराएको छ । पातले गुफामा २०६२ सालदेखि वर्षको २ पटक बालाचतुर्दशी र रामनवमीमा मेला लाग्ने गरेको छ । मेला लगाउन मगर समुदायका महिलाहरुको विशेष भूमिका छ । मेलामा चम्पे, प्याउली,याङ्गपाङ, चरम्वी र अन्य गाविसबाट एक हजार जना बढी सहभागी हुने स्थानीय पदमवहादुर राईले जानकारी दिए । केही वर्षयता देखि भने पातले गुफा आउनेका संख्या बढिरहेको उनको भनाइ छ ।
‘नजिकको तिर्थ हेला’ भने झैं हामै्र गाउँ घरमा रहेका ऐतिहासिक धरोहर संरक्षणमा हामीले नै चासो नदिंदा अन्य धेरै सम्पदाको अवस्था पातले गुफा जस्तै छ । धरोहरलाई संरक्षण गरी तिनको महत्वलाई सार्वजनिक गर्नसके आन्तरिक तथा वाह्य पर्याटक गाउँमा ल्याई आर्थिक उपार्जन पनि गर्न सकिन्छ ।
पातले गुफाको महत्व र ऐतिहासिकतालाई फैलाउन सके भोजपुर जिल्लालाई पनि राम्रो फाइदा पुग्ने निश्ति छ । पातले गुफाको शिरमा रहेको सिरमुने डाँडा, ओख्ले दह र त्यहाँबाट देखिने मनोरम दृष्यले चम्पेको प्राकृतिक सम्पदामा रमाउन पुगेका जो सुकैको मन भुलाउने अवस्था छ । त्यसका लागि स्थानीयबासी नै संरक्षण र संवद्र्धनमा जुट्नु पर्छ । दीर्घकालिन लक्ष्य र उद्धेश्यका साथ अघि बढे पातले गुफा चम्पेबासीको मोहोर कमाउने माध्यम बन्न सक्छ ।