रेडियो र पत्रकारितासँगको मेरो अनुभव

पूर्वी पहाडी जिल्लामा रेडियो प्रसारण भइसकेको थियो । भोजपुरमा एफएम रेडियो स्थापना भए पनि प्रसारण भएको थिएन । ‘खोटाङको रूपाकोट सामुदायिक रेडियोबाट प्रसारित केही कार्यक्रमको नियमित श्रोता थिएँ,’ किरात राई पत्रकार संघ केन्द्रीय उपाध्यक्ष अवतार राईले सुनाए, ‘जनयुद्धकालमा भूमिगत रूपमा सञ्चालित गणतन्त्र एफएममात्रै होइन, कान्तिपुर एफएमका कार्यक्रमसमेत नछुटाई सुन्न मन लाग्थ्यो ।’ जिल्लामा रेडियो खुल्ने हल्ला चल्यो । यो संवत् २०६६ साल सुरुकै कुरा हो । नभन्दै वर्षको अन्त्यतिर परीक्षण प्रसारण सुरु भयो । ‘गाउँठाउँमै चोमोलुङ्मा सामुदायिक रेडियो ९८.६ मेगाहर्ज गुञ्जिन थाल्यो । रेडियो खुलेपछि हेर्न जान हतारिएँ,’ राईले भने, ‘त्यही रेडियोले दसदिने उद्घोषण तालिम सञ्चालन ग¥यो । तालिममा सहभागीमध्येबाट रेडियोमा काम गर्नेगरी छनोट गर्ने सुनेपछि तालिम लिएँ ।’ तीन हजार रुपैयाँ बुझाएर तालिम लिए । उत्कृष्ट पाँचले रेडियोमा काम गर्ने अवसर पाए ।

उत्कृष्ट पाँचमा आफ्नो नाम समावेश हुँदा उनलाई हिजोआज पनि आनन्द लाग्छ । ०६७ जेठमा पहिलोपटक रेडियोमा बोलेका थिए । आजसम्म बोलिरहेका छन् ।
रहरैरहरले रेडियोमा बोल्न थालेका उनले थुप्रै आरोह–अवरोह पार गरे । ‘तात्कालिक रेडियो प्रमुख एक्सन राईसँग जोडिएर काम गर्नुको आनन्द शब्दका व्यक्त गर्न गाह्रो छ,’ उनले खुसी व्यक्त गरे, ‘उहाँकै हौसला, साथ र सिकाइले रेडियोमा सात वर्ष टिकें । त्यतिमात्रै होइन, पत्रकारितामा सिक्न, टिक्न र बिक्न सिकायो ।’ रेडियोमा कार्यक्रम, समाचार, विज्ञापन र प्राविधिकको भूमिका निर्वाह गरिसकेका उनले प्राविधिक समस्याबीच रेडियोलाई दैनिक १७ घन्टा प्रसारण गर्न अहोरात्र खटे । १ हजार ७ सय मासिक तलब तोकिए पनि नियमित नपाउँदा रेडियोले दिएको समयमा काम गर्न जाँगर चलाए ।
रेडियोमा काम गर्दै स्थानीय पत्रपत्रिकामा काम थालेका उनले राष्ट्रियस्तरका मिडियामा जोडिए । एबीसी टेलिभिजन र बीएफबीएस गोर्खा रेडियोमा समेत भोजपुरबाट काम गरे । राष्ट्रिय मिडियामा जोडिन शाहीमान राईको सहयोग स्मरणीय छ । ०७० बाट रेडियोमा निरन्तर काम गरेकाले स्टेसन म्यानेजरको भूमिका निर्वाह गर्ने अवसर पाए । विविध चुनौतीबीच दुई वर्ष रेडियोको स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाले ।
उच्चशिक्षाका हासिलक्रममा पत्रकार अवतार राई काठमाडौंमा छन् । अध्ययनसँगै बाँकी समय उज्यालो नेटवर्कलाई दिएका छन् । एबीसी टेलिभिजन, जागरण मिडिया सेन्टर हुँदै उनको जागिरेयात्रा उज्यालो नेटवर्कसम्म पुगेको छ । छोटो समयमै उनी काठमाडौंमा स्थापित भएका छन् । पत्रकारजन्य संगठनमा समेत आबद्ध उनले नेपाल पत्रकार महासंघ सदस्य हुँदै सचिवको भूमिका निर्वाह गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सदस्य हुँदै सचिव र किरात राई पत्रकार संघ भोजपुर कोषाध्यक्ष, केन्द्रीय सदस्य, सचिव हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने मौका पाए ।
जिल्लामा रहँदा विभिन्न संघ–संस्थाद्वारा पुरस्कृत र सम्मानित उनी सामुदायिक सूचना नेटवर्क सीआईएनद्वारा वर्षको उत्कृष्ट रिपोर्टर र राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार