‘द भ्वाइस’मा निर्मला हत्या काण्डको बह पोख्दै तेजेन्द्र, गीत तयार २० दिन

  सिलिचुङ समाचारदाता

‘गन्धर्व’ नेपालि संगीतका प्रेरक, अनुयायी अनि जन्मदाताका रुपमा रहँदै आएका छन् । नेपालमा संचारका साधनहरुको विकास नहुँदै खबर आदान प्रदानका माध्यम यिनै गन्धर्वहरु हुने गरेका थिए । संचार सम्बाहक थिए गन्धर्वहरु जसलाई ‘गाइने’ भनेर सम्बोधन गरिन्थ्यो । देश अनि समाजमा घटेका घटनाहरुलाई आफ्नो सारङ्गीको रेटाइसंगै भाका मिलाएर गीतको रुपमा प्रस्तुत गर्दै यहाँ बाट उहाँ चाहार्ने गर्थे । उनीहरुले गाउने गीतलाई ‘गाइने गीत’ पनि भनिन्छ । सारङ्गी उनीहरुको प्रमुख बाजा । सारङ्गीको रेटाईले धेरैको रुवाईलाई ब्यक्त गर्छ । विशेषत दुख, पिडाका घटनालाई सार मिलाएर गन्धर्वहरुले गीत गाउने गर्छन ।

पछी संचार साधनको विकास हुँदै गएपछि गन्धर्व अनि सारङ्गीको महत्व बिस्तारै हराउन थालेको पनि छ । केही अग्रज गन्धर्वहरु नेपाली संगीतको क्षेत्रमा आगाडी आए । उनीहरुले त्यही सारङ्गीलाई प्रयोग गरेर आफुले बिगतमा ठाउँ ठाउँ डुलेर गर्ने गरेको कामलाई थोरै व्यवसायिकता दिँदै गीतहरु सार्वजनिक गर्न थाले । नेपाली संगीतका पारखिहरुको मन मस्तिस्कमा झलकमान गन्धर्वको गीत ‘हे बरै‘आमैले सोध्लिन नि’ अझै ताजै छ । समय क्रमसंगै बिस्तारै गन्धर्वको पहिचान हराउँदै गएको अवस्था पनि छ ।

तर, केही समय अगाडी नेपालमा सबै भन्दा ठुलो साङ्गीतिक रियालिटी सोको रुपमा रहेको नेपाल आइडलमा गायक सुरज थापाले झलकमान गन्धर्वको त्यही गीत ‘हे बरै‘आमैले सोध्लिन नि’ गाएर उक्त गीतलाई पुन ताजगी प्रदान गरेका थिए । सो समयमा उक्त रियालिटी शोका निर्देशक रहेका लक्ष्मण पौडेलको समुहले पछिल्लो समय नेपाली संगीतको क्षेत्रमै उत्कृष्ट अन्तर्राष्ट्रिय साङ्गीतिक रियालिटी सो (फ्रेन्चाइज) द भ्वाइसलाई नेपाल ल्याए । सो कार्यक्रम पछिल्लो समय नेपालमा सर्वाधिक रुचाइएको रियालिट शो हो । उक्त शोको गएको शृंखलामा प्रतिस्पर्धी मध्यका एक तेजेन्द्र गन्धर्वले गाइने गीतलाई पुन एक पटक जीवन्तता दिएका छन् ।

उक्त कार्यक्रममा तेजेन्द्रले केही समय अगाडी घटेको निर्मला हत्या काण्डको बारेमा गीत गाएका छन् । बहुचर्चित गायक प्रमोद खरेलको शब्द अनि संगीत संकलनमा रहेको उक्त गीतले दर्शक श्रोताको मन छोएको मात्र छैन उक्त घटनाको बारेको सोच्न बाध्य बनाएको छ । सो गीत सुन्ने जो कोहीको शरीर सिरिङ्ग हुन्छ, रौँ ठाडा ठाडा हुन्छन् । आखिर यो गीतको सिर्जना कसरि भयो सबैको चासो यसैमा छ । गीतका रचनाकार तथा संगीतकार समेत रहेका प्रमोद खरेलले भने, ‘द भ्वाइस नेपालीहरुको आवाज हो । संगीतको मार्फतबाट मानिसलाई सुसुचित र जिम्मेवार बनाउनु हाम्रो लागि अपरिहार्य थियो । राम्रा गीतको प्रस्तुतीले मात्र होइन हरेक हिसावबाट द भ्वाइसलाई अब्बल बनाउने चुनौती हामीसंग थियो । त्यही चुनौतीलाई आत्मसाथ गर्दै कुनै घटनासंग सम्बन्धित रहेको गीत रचना गर्ने योजना अनुरुप मैले यो गीतको सिर्जना गरेको हुँ ।’

तेजेन्द्रको आफ्नो मौलिक पहिचान पनि स्थापित गराउनु थियो हामीलाई द भ्वाइस मार्फत । उनि थप्छन, ‘संगीतको माध्यमबाट निस्केको आवाजले झनै मानिसलाई छुन्छ, सम्बन्धित निकाय सम्म पुग्न सक्छ, झनै मानिसलाई जागरुक बनाउँछ, निर्मलाको परिवारका लागि न्याय पाउन यो गीत कोसे ढुंगा साबित हुन सक्छ भन्ने हाम्रो सोच हो । निर्मलाको परिवारले अझै न्याय पाएका छैनन् । सरकार उदासिन छ । सम्बन्धित निकाय मौन छ । यस्तै सोचका बीच लाखौँ मानिसले हेरिरहेको यस शोमा निर्मलाको घटनाको बारेमा गीत प्रस्तुत गर्दा त्यसको प्रभावकारिता अझै हुन्छ कि भन्ने अभिप्रायले पनि यो गीतको सिर्जना हुन पुगेको हो ।’

‘निर्मलाको बारेमा मैले लगभग २० दिन जति रिसर्च गरेँ । सुदुर पश्चिमका धेरै पत्रकार साथीहरु, निर्मलाका बारेमा प्रकासित धेरै समाचारहरुलाई अध्ययन गरेर मात्र यो गीत तयार गरेको हुँ प्रमोदको भनाई छ । एक हप्ता लगाएर उनले यो गीतको शब्द तयार पारेका हुन् । भाका संकलन गर्न उती नै समय लाग्यो । ‘सबै भन्दा ठुलो चुनौती तेजेन्द्रका लागि गीत याद गर्नु थियो किन कि गीत धेरै लामो थियो । एक हप्ताको प्राक्टिस पछी सो गीत द भ्वाइसको लाइभ राउण्डमा प्रस्तुत गरियो । पछिल्लो समय नेपालमा गन्धर्व वा गाइने गीतको महत्व हराउँदै गएको अवस्थामा हाम्रो यो प्रयासले सार्थकता पाएको छ । जुन हामीले सोचेको भन्दा निकै चर्चित बनिदियो । खुसि छौँ यो सफलता प्रति’, प्रमोदले भने ।

प्रमोद कै कारण मात्र यस गीतको चर्चा पक्कै भएको छैन । लामो समय पछी नै होला नेपाली साङ्गीतिक रियालिटी शोमा एक गन्धर्व आएका छन् । उनको प्रस्तुति र गायकी त आफ्नो ठाउँमा छँदै छ उनको ‘गन्धर्व’ पहिचान पनि स्थापित भएको छ । द भ्वाइस जस्तै अन्य अवसर पाउने हो भने तेजेन्द्र जस्ता धेरै गन्धर्व जन्मने थिए । ब्यवसायिकतामा रुमल्ली रहँदा नेपाली संगीत क्षेत्रमा मौलिकपन हराएको छ । नेपाली पन र नेपाली मन सहित मौलिकतालाई प्राथमिकतामा राखेर यी र यस्तै गीतको सिर्जना हुन सके संगीतको विकाससंगै नेपाली पनको रक्षा पनि सम्भव हुने थियो । स्राेत मेराे फिलिम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार