भोजपुर । धरान, ईटहरी, विराटनगर जस्ता शहरमा भेडाबाख्राकोभन्दा धेरैको संख्यामा देखिने ‘टेम्पो’ भोजपुरको ग्रामिण भेगका मानिसका लागि भने यो नौलो र रहरको सवारीसाधन बनेको छ । अरुण गाउँपालिका ५, प्याउलीबजारमा जरायोटार घर भएका देवी गौतमले विदेश त्यागी करिब अढाई महिनाअघि पाँच लाख ऋणपानले किनेको टेम्पो चलाउन थालेसंगै आजभोली उनको दैनिकी राम्रो बन्दै गएको छ ।ग्रामिण भेगका मानिसलाई सेवा दिनु त छँदैछ त्यसमाथि पनि उनले राम्रो आम्दानी गर्ने गर्छन् ।
दिनभर गाउँमा त्यसै लर्खरिएर बाँकी समय व्यतित गर्ने उनको जिवनमा अहिले एकाएक परिवर्तन आएको छ । ‘पहिले काम पनि हुन्थेन, साथिभाईसंग लर्खरियो, बस्यो दिन वितिहाल्थ्यो । तर यो पेशा अंगालेपछि दैनिक जिवनमा नै परिवर्तन आएको छ ।’ उनले भने, ‘घरकै खाना खाएर काम गर्न सकिने यो सजिलो पेशाले यहाँको मानिसलाई सहज सेवा पनि पुगेको छ र आफुलाई पनि घरखर्च, बालबच्चाको पढाईखर्च धान्न पनि सजिलो भएको छ ।’
प्याउलीबजारसम्म मात्र सडकको राम्रो पहुँच पुगेकाले प्याउली आसपासका तिवारीभञ्जाङ, चम्पे, चरम्बी, याङपाङ, याकु, जरायोटारका मानिसहरु टेम्पो चढ्न आउने गरेका छन् । टेम्पो चढ्नलाई विशेषगरि प्याउलीबजारमा शनिबार र बुधबारको दिन ग्रामिण भेगका मानिसहरुको घुँईचो लाग्ने गर्छ । ग्रामिण भेगमा सडकबाटोको राम्रो पहुँच पुग्नसके टेम्पोले ग्रामिण भेगका मानिसलाई अझै बढि सेवा दिने स्थानिय चम्पेनिवासी बबिता राईले बताईन् ।
प्याउलीबजारदेखि धनकुटा सिमानामा पर्ने लेगुवाबजार, तिवारीभञ्जाङ, ओदाने, भोर्लाबोट, बजार आसपासमा यात्रु ओसारपासार हुने अहिले यहाँ विशेषगरी ग्रामिण भेगका मानिसहरु बढि झुम्मिने गर्छन् ।
प्याउलीबजारमा जस्तै करिब पाँच महिनाअघिमात्र भोजपुर सदरमुकाममा पनि दुईवटा टेम्पोले सर्वसाधरणलाई राम्रो सेवा दिईरहेको छ । विशेषगरि बजार वरपरबाट मानिस र साना बोझका सामानहरु ओसारपसार गर्न घण्टौ भ्याईनभ्याई हुन्छ, यहाँ टेम्पोलाई । अहिले टेम्पोले दैनिक रुपमा शनिबारे हटियालाईन, बजार क्षेत्र, पानीट्याङ्की, देउराली, टक्सार, हस्पिटल, एयरपोर्ट लगायतका स्थानमा मात्र नभई सदरमुकाम पासमा रहेको सात किलोमिटर दुरीमा पर्ने बोखिम, भैँसीपंखासम्म यात्रु र सामान ओसारपसार गर्ने गर्छन ।
आफ्नो लागि छोटो दुरीको यात्राको आनन्द र किराना पसलका सामानहरु बजारदेखि ल्याउन टेम्पो एकमात्र सहज, सुरक्षित, सुलभ र रमाईलो साधन भएको भोजपुर नगरपालिका ५, बोखिमका व्यापारी हरि प्रधानले अनुभव सुनाए । उनले भने, ‘पसलका सामानहरु कतिपय ठ्ला बसले बोक्न पनि मान्दैनन्, बोकि हालेपनि बसको छतमा जथाभावी राखिने हुँदा सुरक्षित पनि हुँदैन । तर त्यहीँ बजारदेखि दुई सय पचास रुपैँया तिरेपछि आनन्द, सुरक्षित र रमाईलो तरिकाले घरै अगाडी ल्याईदिन्छ ।’ प्रधान जस्ता बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरुको टेम्पोमा चढ्ने लर्को भेटिन्छ ।
विहान साँझै यात्रुको ओईरो लाग्ने यहाँ टेम्पोले देउरालीदेखि बजारसम्म एक सय, एयरपोर्ट टक्सारदेखि बजारसम्म आठ सय, बजारभित्र पचास र हटियालाईन, पानीट्याङ्कीबाट बजारसम्म एक सय पचास रुपैँया रिजर्भ भाडा लिने गरेको व्यावसायीहरु बताउँछन् । एकैचोटी पाँचजनासम्म यात्रु अटाउने टेम्पोले दैनिक तीन हजारदेखि चार हजार रुपैँयासम्म राम्रो आम्दानी हुने गरेको विदेशबाट फर्किए सदरमुकाममै टेम्पो चलाईरहेका स्थानिय व्यावसायी अर्जुन तामाङ बताउँछन् । उनले अर्काको देशमा गुलामी गर्नुभन्दा आफ्नै ठाउँको सेवा गर्नु राम्रो ठान्दछन् ।