गाउँमा जन्मिए । पहाड, भीर, पहरा, छाँगा, छहरासंग पौठेजोरी खेल्दै हुर्किए । घाँस, दाउरा, मेलापात र गोठाला अनि उकाली ओराली गर्दै दैनिकी बिते । जसलाई गाउँ बस्दाका बाध्यता भनिन्छ ।
सहर लागेपछिका अनेक रहर । गएको हप्ता । १६ जनाको टिम भोटेकोशी पुग्यौ । रहरले रक क्लाइबिङ गरे । गाउँ छदा भिरमा घाँस काट्दै लडेर अनुहारमा चोटैचोट लागेको दिन सम्झिए । ज्याकोब ल्याडर चढे संगै एब्सेलिङ गरे ।
करेसाबारीमा बखडाका रुख भाइबहिनीसंग अंशबण्डा गरेर खेलेका दिनहरु याद आए । भोटेकोशी पुगेपछि बन्जी र क्यानोइङ छुट्ने कुरा थिएनन् । जसलाई साहसिक पर्यटकिय खेलका रुपमा लिइन्छ ।
रक क्लाइम्बिङ अर्थात पहरोमा उक्लने र झर्ने खेल । ‘वेइस्ट’ हार्नेस, क्यारोबिन, हेल्मेट, डोरी र क्लाइम्बिङ मास्टर । गन्तव्य आठ मिटरमाथिको थियो । हात र खुट्टाको बलले ‘ह्याण्डकिट’लाई समाउदै उक्लनु भनेको ‘फलामको चिउरा चपाउनु’ झै भएको थियो ।
एकदेखि पाचौ विन्दुमा पुग्दा आठ मिटर पुग्छ । चिट चिट पसिना, कापेका हातखुट्टा अनि कट कटि खाएको मनमा डर । तेस्रो देखि चौथो र चौथो देखि पाचौमा पुग्न त्यति सजिलो थिएन ।
क्लाइम्बिङ मास्टरले टाँगिदिएको डोरीमा झुन्डिन जति डरलाग्दो र रमाइलो क्षणको मज्जा पनि त बेग्लै थियो । अन्त्यमा पाचौ विन्दु पुगेपछि खुसीले गद्गद् हुदै लामो स्वास फेर्दा गर्व महसुस भयो ।
त्यसपछि ज्याकोब ल्याडर चढ्यौ । पिल्र्लिक–पिल्र्लिक हल्लिने भ¥याङ चढेर २५ मिटर माथिको रुखमा पुग्न साथीको साथ र हौसलाले काम ग¥यो । माथि पुगेपछि तल भुई हेर्दा मुटु ढक्क भयो । डोरीमा झुन्डिएर ओर्लदा चाहि संसार जितेजस्तै भयो ।
बन्जी जम्प गर्न सबैजना भोटेकोसी माथिको झोलुगें पुलमा जम्मा भयौ । झोलुगें पुल माथि पहिलो पल्ट हिड्दाको याद पनि अविस्मरणिय छ म संग । सात बर्षअघि पहाडबाट तराईसम्मको यात्रामा । निलो र गहिरो अरुण नदिमाथिको पुलमा प्वालैप्वाल देखेर सिरिंग भएको जिउ र र्थरर कापेका खुट्टाले पाइला सार्नै मानेका थिएनन् ।
आमाले दाहिने हातमा जोडले पक्रेर तान्नुभएको थियो वारीदेखी पारी पुग्दासम्मै । मान्छेको पदचापले कोक्रो झै हल्लिएको पुलले उसैगरी मुटुलाई बेस्कन हल्लाएको थियो ।
रहर पनि अचम्मकै रहेछ । बन्जी मास्टरले पालोको जनाउ दिए । म उनको नजिक गए । खुब साहसिलो भै पल्टने म हाम फाल्ने भनेपछि मुहार फेरियो । हतालिएको र हतासिएको थिए । उनले खुट्टामा ‘एङकल’ हार्नेस बाँधिदिए ।
कम्मरमा पनि ‘बडि’ हार्नेस बाधिदिए । एकाएक मन पनि बाँधियो । देब्रे हाँतमा गोप्रो क्यामरा थियो । क्यामरा हेर्दै मन मनै भने ‘राम्रो दृश्य कैद गर्नुपर्छ, अरुले भिडियो हेर्दा नि वाह π क्या साहसी भनोस् न ।’
त्यो क्षणको सबैभन्दा हसिलो मुहार क्यामेरामा देखाए । जब पुलको बार कटेर हाम फाल्ने स्लोपमा पुगे । हाँसिरहेकै थिए । तर मुटुको चाल आफुलाई मात्रै थाहा थियो । गोप्रो क्यामरा हातमा छ भन्नेसम्म याद नहुने गरी हाँसिरहेको थिए । बन्जी मास्टरले पछाडीबाट समातेको थियो ।
‘तल नहेर्नुस् । पर हेर्नुस् ।’ भन्दै थियो । मैले डरले आकाशतिर हेर्न भ्याइसकेको थिए । दुवै हात फिजाउन लगायो । फिजाए । छाती थोरै अगाडी झुकाएर हाम फाल्नु है भन्दै उसले एक, दुई, तीन, बन्जी भन्यो ।
चिम्साँ आँखा उसै त सदावहार चिम्म हुन्छन् । उसले बन्जी भनेपछि अचानक स्लोप छोडेको ज्यान चिच्याउदै भोटेकोसी तर्फ खस्यो । खस्दा निक्कै मज्जा आयो । १६० मिटर माथिबाट खसेको ज्यान जब डोरीसंगै झट्कियो । टाउको मुनि । खुट्टा सिधै माथि ।
झट्काले कहालिएको थिए । तीन सेकेण्डजति सासले ठाउँ छाड्यो । त्यतिबेला मलाई लाग्यो ‘खुट्टा मात्रै सिधै माथि छैनन्, म पनि माथि पुग्दैछु, प्राण सकियो ।’ भिडियाेमा हेर्नुहाेस् उनले गरेकाे बन्जी ।
यत्तिकैमा दोस्रो पल्ट नि डोरी झट्कियो । अत्तालिए । माथिबाट मास्टरले सिट्टि फुके । अनि पो याद भयो म डोरीसंग छु । बाँच्चिकै रहेछ भन्ने लाग्यो । मुनि हेरे निलो भोटेकोशी सुसाउदै थियो । म भने बाँचेर भुन्डिरहेको ज्यान पुलमा कसरी पुग्छ होला भनी सुस्केरा हाल्दै थिए ।
अचानक डोरी झट्कारेर खुट्टा फुस्काउनुपर्छ भन्ने याद आयो । फुस्काएपनि । मुनितिर झुन्डिएको टाउको माथि भयो । बल्ल याद भो – मैले बन्जी गरिरहेको छु । हातमा क्यामरा पनि छ । राम्रा राम्रा फुटेज लिनुपर्छ । रमाइलो गर्नुपर्छ ।
अघि खुट्टा र कम्मरको भरमा झुन्डिएको म खुट्टा फुस्कासकेको भएर होला कम्मरमा बोझ भयो । भोक लाग्यो । झोलुगें पुल निक्कै माथि देखिन्थ्यो । खाजा लिएर आएको भए झन्डिुदै खादा कति आनन्द आउथ्यो होला है मन मन सोचेर दंगदास थिए । ठट्टा गर्दै भोक लाग्यो भनि कराए ।
माथिबाट डोरी आयो । मैले क्यारोबिनमा ह्याङ गरे । अनि विस्तारै माथि उक्लिए । करिब तीन मिनेट जतिको बन्जी साच्चिकै एड्भेन्चरस् थियो । स्वर्गमा पुगेर फर्केको अनुभती भयो । यद्धपी मैले सोचे जसरी गोप्रोमा फुटेज लिन सकिन । भिडियाेमा हेर्नुहाेस् उनले गरेकाे बन्जी (गाेप्राे भर्सन) ।
बन्जी सकिएपछि क्यानोइङ (छाँगावरोहण) गर्न पाङलाङ खोला गयौ । पानीको छागों र हिर्काइसंगै एब्सेलिङ, जम्पिङ एण्ड स्लाडिङ डाउन गर्दै आठवटा झरनाहुदै भोटेकोशीको किनार माथि पुग्नुु थियो ।
१६ मिटरको पहिलो झरनामा पालो कुर्न जति गाह्रो भयो । १० मिटरको दोस्रो झरनाको ठाडो ओरालो हेर्दा सातो नै गयो । त्यहीबाट फर्कौ जस्तो । १२ मिटरको तेस्रो हुदै २५ मिटरको चौथो झरना क्रस गर्ने पालो आयो ।
पानीको छागो, इन्देणीको किरणले क्यानोइङको मज्जा बेग्लै भैदियो । २५ मिटरको पाचौ, १६ मिटरको छैठौ, ३० मिटरको सातौ र ४५ मिटरको आठौ झरना पार गरेपछि क्यानोइङ सकियो । झरनाको पानीको हिर्काइसंगै डोरी समातेर तल झर्दा डर संगै रमाइलो थियो ।
भिडियाेमा हेर्नुहाेस् उनले गरेकाे क्यानाेइङ ।
लेखक कान्तिपुर दैनिकका लागि काठमाडाैंमा कार्यरत पत्रकार हुन् ।