अन्ना हजारेले सुरू गरे आमरण अनसन

भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरू गरेका छन्।

केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरू नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनसन सुरू गरेका हुन्।

भ्रष्टाचारविरूद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरे।

‘कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरू र प्रदेश सभाका सांसदहरूलाई पनि छानबिन गर्न सक्छ,’ आफ्नै गाउँमा अनसन सुरू गर्नुअघि उनले भने।

आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरूले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ।

उनले यस्तो व्यवस्था कुनै पनि पार्टीको चाहनामा नपरेको बताए।

लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भए पनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्था अनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनसनमा बस्नु परेको उनको भनाइ छ।

आफ्ना पूर्व समर्थकहरू, जो अहिले राजनीतिमा छन्, उनीहरूले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने, ‘हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरूलाई ठाउँ छैन।’

उनले थपे, ‘लोकपाललाई निषेध गर्नेगरी तीन दिनभित्रमा उनीहरूले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ, तर पनि लोकपाल नियुक्त गरिएको छैन।’

‘पाँच वर्षसम्म पनि उनीहरूले यस बारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरूलाई हाम्रो ठाउँमा आउन दिदैनौं,’ हजारेले भने।

भारतमा शहीद दिवसको रूपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरू गरेको पनि उनले बताए।(रासस/एएनआई)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार