सोलार सेटले ८७ गरिबको घर झिलीमिली

  सिलिचुङ सम्बाददाता

(हतुवागढी गाउँपालिका ७ र ८ पात्लेपानीका विपन्न परिवारलाई सोलार सेट वितरण गरिँदै । फोटो क्याप्सन/ सिलिचुङ)

 

भोजपुर । दक्षिणी हतुवागढी गाउँपालिका ८ पात्लेपानीकी सिर्जना परियारका ५ वर्षे छोरा र २ वर्षे छोरी छन् । ४ वर्षअघि श्रीमानले उनलाई र छोराछोरी छोडेर दोश्रो विहेपश्चात घर छाडे । गरिबीका कारण विहानबेलुकीको छाक टार्नै धौधौ पर्छ, उनको । जग्गाजमिनको नाउमा एक फोक्टो बारीमा पनि छैन । दिनभर अरुको ज्यालामजदुरी गरेर दुःखले घर चलाईरहेकी सिर्जना वर्षौदेखि कुपी बत्तीको धिपधिपे प्रकाशमा रात गुजार्दै आएकी थिईन् ।
त्यहि कुपी बत्तीको सहरा पुरै रात कटाउने सिर्जनाको घरमा अहिले भने सोलार बत्तीले झिलिमिली बनेको छ । छोराछोरीलाई पढ्न, खाना पकाउन, घरधन्दा गर्न अहिले सजिलो भएको छ । गाउँपालिका र केहि संस्थाबाट निः शुल्क सोलार सेट पाएपछि अहिले सिर्जनाको घर झिलीमिली बनेको छ । ‘अँध्यारोमा रात कटाउने दिन गए । छरछिमेकको घरमा जस्तै हाम्रो पनि घर उज्यालो बनेको छ ।’ सिर्जनाले सुनाईन्, ‘गाउँपालिका र सहयोगी संस्थाले सहयोग नगरेको भए अझै कतिवर्ष अँध्यारोमा कटाउनुपथ्र्यो ।’
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, जर्मन सहयोग नियोग र हतुवागढी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ७ र ८ पात्लेपानीका ८७ घरधुरी विपन्न परिवारलाई ५० वाट क्षमताको सोलार वितरण गरिएको थियो । निःशुल्क अनुदानमा सोलार पाएपछि गाउँको चमक नै बेग्लै भएको सोलार पाउने अर्का स्थानीय काले सार्की सुनाउँछन् । भन्छन्, ‘गाउँका अधिकांश घरधुरी विजुली बत्तीले झलमल छ । के गर्नु पैसा नभएपछि बत्ती जोड्न पनि सकेनौ । तर सोलार बत्ती पाएपछि गाउँमा अहिले पुरै झलमल उज्यालो बनेको छ ।

गाउँपालिकाको वडा नं ७ र ८ पात्लेपानीका ८७ घरधुरी विपन्न परिवारलाई ५० वाट क्षमताको सोलार वितरण गरिएको थियो ।

आर्थिक हिसावले विपन्न रहेका एकल महिला, दलित, जनजातीलाई प्राथामिकतामा राखेर सोलार सेट प्रदान गरिएको नविकरणीय उर्जा रेरा कार्यक्रमका भोजपुर प्रमुख राजेश विष्टले बताए । उनले आगामी दिनमा समेत गाउँपालिकाका अन्य ४ सय बढी घरधुरीबाट सोलारको माग भएको बताए ।
तत्कालै विद्युत विस्तार गर्न नसकिएका ती वडाका आर्थिक अवस्था कमजोर भएका परिवारलाई सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । उनले आगामी आर्थिक वर्ष ०७६÷७७ मा यसलाई थप विस्तार गरेर लैजाने बताए । विपन्न परिवारमा सोलार सेट वितरणले महिलाहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने गाउँपालिका उर्जा उपसमितिका प्रमुख तिर्थ राईले बताईन । अँध्यारो, धिपधिपे कुपी बत्तीको उज्यालोमा घरयासी काम गर्दा विशेषगरि गृहणी महिलाहरुलाई विभिन्न संक्रमण हुने जोखिम हुँदा सोलार सेट जडानपछि काम गर्न र स्वास्थ्यमा पनि राम्रो असर पुग्ने राईले सुनाईन् । हाल ५५ किलोवाटको स्थानीय कावा खोला लघु जलविधुत्तबाट निकालिएको विजुलीले गाउँपालिकाका झण्डै ४ सय ७० घरधुरीलाई वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार