दिंला, भोजपुर । शिक्षाको अग्रज्योति आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढसयबर्ष अगाडि स्थापना गरेको षडानन्द–सिताराम गुठी संरक्षणको अभावले गुमनाम हुदै गएको छ । गुरुकुल पाठशाला, सयौ रोपनी जग्गा, अचल सम्पति र भौतिक संरचना अस्तव्यस्त र बेखबर अवस्थामा छन् । दशक लामो देशमा चलेको द्धन्द्धले प्रभावित बनाएको गुठी शान्ति स्थापना भएको दशक वित्दा झनै अव्यवस्थित बन्दै गएको छ । ऐतिहासिक र धार्मिक महत्वका सम्पदाहरु दैनिक लोप हुदै गएका छन् ।
१९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा स्थापना गरेको १८ सय रोपनी जग्गा र खेतीयोग्य जमिन अतिक्रमण हुदै गएको छ । गुठीको जग्गामा दिङ्गलाबजार दिनदिनै फैलदै गएको छ । सार्वजानिक सम्पती व्यक्तिगत प्रयोजनका लागि अप्रत्यक्ष रुपमा अधिकरणमा पर्दै गएको छ ।
गुठीको सार्वजानिक जग्गा हडप्न नपाइने भएपनि पछिल्लो समय राजनीतिक आडमा जग्गाको दुरुपयोग हुन थालेको स्थानीयले बताए । द्धन्द्धकालमा माओवादीले कब्जाका गरेपछि गुठीको जग्गा अस्तव्यस्त भएको थियो । द्धन्द्धकालदेखि शान्तिप्रक्रियासम्म आइपुग्दा गुठीको जग्गा माओवादीले बेचबिखान गरेको थियो । माओवादीले घडेरीको रुपमा बेचविखान गरेको जग्गामा व्यक्तिले समेत घर बनाइसकेको छ । शान्तिप्रक्रियाको लामो समयसम्म आइपुग्दा पनि माओवादी कब्जामा रहेको जग्गा पछि आएर ठुला राजनीतिक दलहरुको कब्जामा रहदै आएको छ । यसभन्दा अगाडी एमाले र कांग्रेसको पालैपालो कब्जामा रहेको गुठी नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि नगरपालिकाले नयाँ गुठी सञ्चालक समिति गठन गरेका थिए । नगरपालिकाले गठन गरेको सञ्चालक समितिको अध्यक्ष कृष्णप्रसाद पौडेले पनि स्थानीय भु–माफिया र राजनीतिक दवावका कारण राजिनामा दिएका छन । स्वास्थ्यका कारण राजिनामा दिएका अध्यक्ष पौडेलको राजिनामा भने नगरपालिकाले स्वीकृत गरेको छैन । सञ्चालक समितिलाई तत्काल गुठीको सम्पुर्ण सम्पति व्यवस्थित गर्ने जिम्मा दिएको छौं । त्यसैले तत्कालै यो काम हुन्छ भन्ने विश्वास लिएको षडानन्द नगरपालिकाका मेयर वीरवल राईले बताए । ‘अहिले नै राजिनामा दिनुपर्नु अवस्था नभएकोले राजीनामा स्वकृति गरेको छैनौ’ मेयर राईले भने ‘यदी त्यस्तो वाध्यता आयो भने राजिनामा स्वीकृत गरेर नयाँ ठोस कदम चाल्छौं’ ।
सञ्चालक समितिले भने जग्गा व्यक्तिगत प्रयोजनमा दुरुपयोग नभएको दावी गरेको छ । ‘दिङ्गला बजारका प्राय घर व्यक्तिगत जग्गामा बनेका छन्, केही घर गुठीको जग्गामा बनाएका भएपनि भाडामा लगाइएका हुन् । उनीहरुको स्थायी घर हुदै होइनन्,’ समिति अध्यक्ष कृष्णप्रसाद पौडेल बताए । अध्यक्षले दुरुपयोग नभएको दावी गरेपनि १८ सय रोपनी जग्गाको ११ सय ७५ रोपनी मात्र आफुसंग रेकर्डमा रहेको पौडेलले बताएका छन् । दिङ्गलाबजार विस्तार भएको क्षेत्रमा गुठी जग्गा पर्ने स्थानका २३ वटा घडेरीमा स्थानीयले भोगचलन गर्दै आएको पुर्व सञ्चालक समितिका अध्यक्ष किशोर किरात्ले बताएका छन ।
एक हजार मुरी धान उत्पादन हुने गुठीको खेत बर्षेनी बाँझिदै गएको छ । मुलपानी, तुङ्गेंछा र केउरेनीपानीका उब्जनीयोग्य खेत कमाई हुन छाडेको छ । मन्दिर, गुठिपरिसर र विभिन्न भौतिक संरचना अलपत्र छन् । गुरुकुल शिक्षा आर्जन सुरु भएदेखी स्थापना भएको छात्राबास पटकपटकको भुकम्पले क्षतविक्षत भएको छ । द्धन्द्धको चपेटामा परेको गुठी दिनदिनै भताभुङ्गै र लथालिङ्गै बन्दै गएको छ । षडानन्दले ठेक्कामार्फत खेतमा धान उत्पादनबाट कमाएको आम्दानीले पाठशाला सञ्चालन गर्दै आएका थिए । उक्त गुठी अचेल आर्थिक अभावमा गुज्रिरहेको छ । ५ बर्षदेखि गुरुकुल शिक्षा चन्दाको भरमा चलेको छ । रेकर्ड फायल पल्टाउदा द्धन्द्धकाल देखि वितेको ३ बर्ष सम्म एक पैसा आम्दानी हुन नसकेको पुर्व अध्यक्ष किरातले बताए । द्धन्द्धमा माओवादी हस्तक्षेपपछि आर्थिक अभावकै कारण गुरुकुल शिक्षाको पढाइ बन्द भएको थियो । ५ बर्षदेखी बार्षिक ६ लाख रुपैया भएपनि जेनतेन आम्दानी हुन थालेको छ । धानखेती र रुद्राक्षबाट ४ लाख र २३ वटा घरघडेरीका २ लाख भाडा तत्कालिन आम्दानीको स्रोतका रुपमा सीमित भएको छ । ६ लाख रुपैया पुजारी खर्च, तिथीका पुजापाठ र केही मर्मत सम्भारमै ठिक्क हुने सञ्चालक समितिले जनाएको छ ।
गुठिपरिषरमा षडानन्दले रोपेका रुद्राक्षका दानाबाट बार्षिक हुने लाखौ आम्दानी कमाई हुने र गुठी संरक्षण र समग्र मन्दिरको विकास एवं विस्तारमा ठुलो टेवा मिल्ने भएपनि सञ्चालक समितिले निगरानी राख्न नसक्दा उत्पादनको अनुपातमा कमै आम्दानी हुने गरेको सरोकारवालाको गुनासो छ । ‘राजाकालिन समयमा गुठी स्थापना हुदै कसरी व्यवस्थित गरेर लैजाने सारा लिखित व्यवस्था मसंग प्रमाण छ, जव जनताको हातमा गुठी हस्तान्तरण भयो त्यसपछि तिक्तताहरु उत्पन्न भैरहेका छन्, अस्तव्यतता बढेको छ,’स्थानीय तोयानाथ गौतमले बताए । गुठीको जग्गा गुपचुप अधिकरणले थप संकट निम्तिदै गएको छ । दिलकुमार राईको कार्यकालसम्म गुठीको जग्गामा घर बनाउन रोक लगाइएको भएपनि त्यसपछिका अध्यक्षहरुले भएपछि धमाधम घर बनाउन दिएको स्थानीयको आरोप छ । एक स्थानीयको अनुसार रसिद काटेरै गुठीको जग्गाभित्र घर बनाउने अधिकार दिएका बताइएको छ । रसिद दिएर घर बनाउँदा जग्गाको धनीपूर्जा दिए सरह हुने शर्त छ । तर पुर्व अध्यक्ष किरातले भने बार्षिक भाडा उठाउने शर्तमा अस्थायी मात्र घर बनाउन दिएको दावी गरेका छन् ।
१ सय ८२ वर्षअघि जन्मेका आवाल ब्रम्हचारी षडानन्दले सन् १८७९ मा देशकै पहिलो संस्कृत पाठशाला खोली शिक्षाको प्रचार सुरु गरेका थिए । संस्कृत पाठशालामा तत्कालिन समयमा भुटान, सिक्किम र पश्चिमी नेपालका विद्यार्थी समेत गुरुकुल शिक्षा आर्जन गर्न आउथे । उनले राणा शासनका समयमा व्याप्त सती प्रथा र जातिय भेद विरुद्ध आवाज उठाएका थिए । दिङ्गलामा मठ मन्दिर, बगैचा, गुठीको स्थापना, हाटबजारको व्यबस्था गरेका थिए । उनैले स्थापना गरेको गुठी परिसरमा रामचन्द्र, नर्मदेश्वर, शिवालय र पशुपतिका ४ वटा मन्दिर जीर्ण अवस्थामा छन् । बगैचामा १ सय ८ प्रजातीका बोटविरुवा रहेको मान्यता रहदै आएको छ । मुख्य आम्दानी स्रोत मानिने रुद्राक्ष दाना पहिलोपटक षडानन्दले नै रोपकेको र उनैको पालादेखी बहुमुल्य रुपैयामा किनबेच हुन थालेको मानिन्छ । भारतको बनारसका जोगीहरु पनि रुद्राक्ष किन्न धरान धनकुटाको बाटो हुँदै दिङ्गला आउने गरेकाले उनैको पालादेखि भोजपुर व्यापारिक जिल्लाका रुपमा परचित हुदै आएको भनाइ छ । ३६ सालको नापिमा गुठीको जग्गाहरु धेरै स्थानमा नाप्न छुटेको र ताप्लेजुङ्गको जोर पोखरीमा, काठमाण्डौका टेकुमा, संखुवासभाको पाङमा हेलुवा लगायतका स्थानमा नापि नगराएको कारण गुठीको जग्गा हराउदै गएको छ ।
उनै समाज सुधारक षडानन्दको योगदानमाथि सञ्चालक समितिले बेवास्ता गरेर उनको कदमप्रति कुठाराघात गरिरहेको सर्वसाधारणको गुनासो छ । सरसफाई र संरक्षणको अभावले कुरुप बन्दै गएको छ । बजारबासीको फोहोरमैला थुपार्ने डम्पिन साइडका रुपमा प्रयोग गर्ने गरेकाले दुर्गन्धित र अशोभनिय बढ्दै गएको छ । बजारमा रहेको रानीपोखरी ढलनिकास गर्ने भकारी जस्तै बनेको छ ।