पञ्चायती व्यवस्था थियो । एक अर्थमा पञ्चायत अल्लारे हुँदै थियो । त्यहींबेला पूर्वबाट एकजना क्रान्तिकारी ठिटो उदाए । ‘अल्लारे पञ्चायती निरुङ्कुशता’विरुद्ध आवाज बुलन्द गर्दै । व्यवस्थाविरुद्ध ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भन्दै आमनागरिकमा जागरण भर्न मैदानमा उत्रिएका सशक्त युवा थिए, श्याम तमोट ।
विकास र पछौटेपनले गाँजिरहेको गाउँबस्तीलाई जागृत गराउन आग्रह गर्दै उनले गाउँबस्तीका अधिकारविहीन श्रमिक वर्गको आवाजलाई गीतमार्फत संसारलाई सुनाए । उनले रचना गरेको ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ बोलको गीत राजनीतिक आन्दोलन एवम् क्रान्तिको पर्याय जस्तै बन्यो ।
अहिले ६४ वसन्तमा हिँड्दै ‘क्रान्तिकारी सर्जक’ तमोट उक्त गीत लेख्दा २२ वर्ष टेक्दै थिए । उनले यो गीत लेख्ने बेला उनका साथीहरू प्रेमिकालाई प्रेमपत्र लेखिरहेका थिए होलान् ।
तर, उनमा जनजागृतिको भावना टुसाउन थालेको थियो । त्यही भावना झांगियो र उनले गीत लेखे । कालान्तरमा केही राजनीतिक पार्टीका लागि राष्ट्रिय गीत नै बन्यो । आमनेपालीको मुखमा झुन्डियो । यो गीत उनले २०३१ सालमा लखेका थिए ।
२०२६ सालमा टमोट भोजपुरबाट धरान झरे, पढ्ने अभिलाषा बोकेर । त्यसबेला धरानमा विराटनगर र झापाका विद्यार्थीको बाक्लो जमघट हुन्थ्यो ।
विद्यार्थीहरू कांग्रेस र कम्युनिस्टमा विभक्त थिए । त्यो बेला राजनीतिक माहोल बनिसकेको रहेछ । आपसमा निकै लड्थे । ‘त्यसताका भारतको सुस्ता महेशपुरमा सिमाना मिचेको काण्ड चर्चित थियो,’ तमोटले विगत सुनाए ।
सुरुवातमा ६ हरफचाहिँ एकै दिनमा लेखेका हुन् । यस्तै खालको गीत लेख्छु भन्ने कुनै पनि खाका बनाएका थिएनन्, उनले ।
‘गीत लेख्नुपर्छ, गीत गाउनुपर्छ भन्ने कुराचाहिँ निकै पहिले मनमा गडिएको थियो । तर, कस्तो गीत भन्ने यकिन थिएन,’ उनी भन्छन् ।
खासमा यो गीत अन्य प्रयोजनका लागि लेखिएको थियो । त्यतिबेला भोजपुर क्याम्पसको स्थापना भइसकेको थियो । विद्यार्थी साथीभाइमाझ गीत गाउनुपर्छ भन्ने भयो । तमोट त्यो बेला सबै साथीहरूसँग घुलमिल भइसकेका थिए ।
‘त्यति बेला टेबलमा बस्ने चलन थिएन, खाटमा पलेंटी मारेर बस्नुपथ्र्यो । बिजुली बत्ती थिएन । छेउमा लाल्टिन बलिरहेको थियो । काखमा कापीको पाना राखेर गीतको शब्द सँगै संगीतको धुन सिर्जना गरें । त्यतिखेर साढे नौ बजेको थियो,’ कापीको पानामा कलम चोपेको रात अझै झलझली सम्झन्छन् उनी ।
‘रातको समय थियो । बाआमा र सानी बहिनी घरमै थिए । त्यो बेला एक्लै कोठमा बसेर लेखेको हुँ । धरानबाट गितार लिएर गएको थिएँ । बिस्तारै शब्दहरू निस्किए । समान्य कर्डमा बजाउँदै थिएँ । सायद एकै बसाइमा लेखिरहेकोले होला, धेरै लामो कर्ड छैन् गीतमा,’ उनले भने ।
तमोटले यो गीत ३ घण्टामा तयार पारे । तर, गीतको गर्भ केही वर्षअघि नै बसेको थियो, उनको मनमा ।
व्यापारी बाबुका छोरा हुन् श्याम । हरेक वस्तुमा मुनाफा खोज्ने परिवारका वंशज श्यामको नाम मात्र श्याम हो । उनको चेतनाले नेपाली सांस्कृतिक क्रान्तिको उत्थानमा एउटा कालजयी सिर्जना दियो ।
अन्ततः सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनको क्रममा सडकमा बज्न थाल्यो, गीत ।
र त झन्डै शताब्दी बितिसक्दा पनि आममानिसको मुखमा गीतको शब्द झुन्डिएको छ । अझै सबैले गाउँछन्, अझ राष्ट्रियताको सवालमा उनको गीत बन्छ ।
सोभियत संघको परिवर्तित शासन सत्ता, चीनको परिवर्तन, कुन वर्गले देश परिवर्तनको लागि भूमिका खेल्न सक्छ भन्ने कुरा उनको मनमा गीतका विम्वहरू जन्मिएका थिए ।
त्यो बेला राल्फाकाल थियो । रामेश, मञ्जुललगायतका राल्फा आन्दोलनमार्फत जनजागृतिका गीत बोकेर सांगीतिक भ्रमणमा गाउँबस्तीमा निस्किएका थिए । राल्फा अलग किसिमको संगीत र साहित्यको खास आन्दोलन थियो । उनमा राल्फाको चेतनशील आन्दोलनको प्रभाव गहिरो रूपमा बसिसकेको थियो ।
स्कुलका कार्यक्रमहरू कविता वाचन गर्थे । विद्यार्थीको साहित्यिक प्रतिभा प्रस्फुटनका लागि शिक्षकहरूले कार्यक्रम आयोजना गरिदिन्थे । घरमा काकाहरू पनि सांगीतिक कार्यक्रम आयोजना गर्थे । त्यही सांगीतिक माहोलमा हुर्किएका हुन् श्याम ।
‘अर्को रोचक कुरा त त्यो बेला नाटक गर्दा केटा नै केटी नै बनेर नाटक गर्नुपथ्र्यो । विद्यालयमा पनि सरहरूले नाच्न गाउन सिकाए । त्यही प्रभावका कारण सांगीतिक समुद्रमा प्रवेश गरें,’ उनले विगत सुनाए ।
घरमा बुबाले रेडियो ल्याएका थिए । उनी दिनको ३–४ घण्टा मात्र रडियो सुन्थे । गाउँको स्कुलमा वार्षिक बजेट जान्थ्यो । त्यतिबेला स्कुल चल्न निकै गाह्रो हुन्थ्यो त्यसैले तिहारमा देउसी खेलेर पैसा उठाइन्थ्यो । त्यसैको प्रभावले पनि उनलाई संगीतमा चासो बढ्यो ।
रेडियोमा बज्ने गीतभन्दा राल्फाका संगीत र शब्द बिलकुल नयाँ लाग्यो उनलाई । परम्पराविरोधीलाई सिधा प्रहार गरेका । सतीप्रथाको विरुद्ध आन्दोलन बोकेर हिँडेको ।
यसरी रोपियो ‘गाउँगाउँबाट उठ’को बीउ
धरान आएपछि उनको बुझाइ र विचार परिस्कृत भयो । धरानमा रहेका साथीहरू सबै चिनियाँ कम्युनिस्टबाट प्रभावित रहेछन् । नेपाल गाउँ नै गाउँ भएको देश हो । ‘नेपालका गाउँमा जनताले अधिकार पाएका छैनन् । त्यसकारण पनि गाउँ परिवर्तन नगरी हुँदैन भन्ने सोच आयो,’ उनी भन्छन् ।
झट्टा हेर्दा आफ्नो गाउँ र धरान बजारबीचको अन्तर पाए । गाउँमाथि ठूलो विभेद भएको बुझे । उनीले सहरको व्यवहारमा फरक छनक पाए । यस्तै, राजनीतिक दर्शनले उनको चेत खोलिदियो । र उनलाई एउटा फेजबाट फरक फेजमा परिवर्तन गरिदियो ।
प्रायः पहाडी गाउँलाई गाउँ र तराईका ठाउँलाई बस्ती भनिएको हो भन्ने बुझेका थिए उनले । ‘यी दुवै समेटिनुपर्छ भनेर गीतमा अनिवार्य रुपमा गाउँ र बस्तीका कुरा उल्लेख गरेको हुँ,’ उनले भने ।
उनको सोचाइअनुसार गाउँ पहाडका छाप्रा हुन् भने बस्ती तराई मधेसका झुप्रा हुन् ।
…देशको मुहार फेर्न उठ
श्याम त्यो बेल पुस्तक निकै पढ्थे । उनको रोजाइमा बढी चिनियाँ पर्थे । त्यसै सन्दर्भमा चीन सचित्र भन्ने किताब पढे । चित्रमा मान्छेहरू खुब खुसी भएको देखिन्थ्यो ।
‘मजदुरहरू पनि टोपी लगाएर काम गरेको, विद्यार्थीहरू खेलिरहकालगायतका तस्बिरहरू देखेर आफ्नो ठाउँ त पछि नै परेको आभास हुन थाल्यो,’ उनी भन्छन् ।
त्यसपछि उनले आफ्नोे ठाउँको कल्पना गरे । कल्पना गर्न नसकिने त्यो समृद्धि उनलाई लाग्थ्यो । ‘हत्तेरिका, देश त यस्तो पो हुनुपर्छ त त्यसैले पनि या देशको मुहार फेर्नलाई उठ्नुपर्छ भन्ने लाग्यो,’ उनले भने ।
बाजा र कलमका कुरा
जेबी टुहुरेले गाएको गीत सुनेर उनी पहिले नै सचेत भइसकेका थिए । त्यसले पनि मस्तिष्कमा गरिब र भोकाएका–तिर्खाएकाप्रति खास झुकाव राख्न प्रेरित गर्यो । त्यही छेकोमा उनले ‘लु सुन’ का किताब पढे ।
तमोट पनि लु सनको कलमबाट प्रेरित भए । उनलाई यो कलम निकै महत्त्वपूर्ण लाग्न थाल्यो । र उनले लेखे– हातमा कलम हुनेहरू कलम लिएर उठ ।
श्याम तमोटलाई राल्फाको प्रस्तुति एकदमै राम्रो लाग्थ्यो । उनी भन्छन्, ‘त्यतिखेर राल्फाहरूले ठूलो योगदान दिएका थिए । उनीहरूले गीत गाउनुअघि बाँधेका भूमिकाले मानिसलाई साँच्चै नै धरक्कै रुवाउँथे ।’
यसकै प्रभावले गर्दा उनले लेखे– बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ ।
…किसानका औजारहरू
रुसमा मजदुरको अगुवाइमा क्रान्ति भएको थियो भने चीनमा किसानहरुको अगुवाइमा । नेपालको सन्दर्भमा मजदुर कम छन् र किसान धेरै छन् त्यसैले पनि किसानको नेतृत्वमा मजदुरको सहयोग र आम बुद्धिजीवीले सहयोग गर्दै सबैको सहभागितामा मात्र परिवर्तन आउन सम्भव छ भन्ने कुराले उनलाई प्रभावित पार्यो । तमोट भन्छन्, ‘त्यसैले सबैखाले श्रमिकलाई औजा’रले प्रतिनिधित्व गराएँ ।’
त्यो किसान श्रमिक सबैलाई जनाउने शब्दको रुपमा उनले हातमा औजार हुनेहरू औजार लिएर उठ भनेका हुन् ।
औजार पनि नहुने, बाजा पनि नहुने, कलम पनि नहुनेहरूले केही नभए आवाज लिएर उठ भने ।
‘त्यो बेला आन्दोलन, हतियार भन्ने शब्द नै निकाल्न मिल्दैनथ्यो । र, मैले बन्दुक, हतियारको कल्पना पटक्कै गरेको थिइनँ । जो जोसँग जे जे छ, त्यही त्यही लिएर उठ भनेको हुँ,’ उनले भने ।
अनि थपियो गीत
सुरुमा यो गीत एक अन्तरा मात्रै थियो, अरु पछि थपिएको हो । २०५४र५५ सालमा बलिदान चलचित्र बन्ने भयो । चलचित्रमा यो गीत समावेश गर्नुपरेपछि गीतको लम्बाइ बढ्यो र यसले पूर्णता पायो ।
के दियो त गीतले ?
यो गीतले उठाएको मुद्दा राजनीतिक हो । यसले राजनीतिक परिवर्तनलाई सघायो । आन्दोलनको नेतृत्व गरेको नेताहरू कहाँ पुगे, त्यो आफ्नो ठाउँमा छ । अहिले राजनीतिक रुपमा परिवर्तन भएको छ ।
‘पहिले राजा थिए । हामी रैती थियौं । त्यो खाडल पुरिएको छ । रैती हुने अवस्था छैन । नागरिक नै राष्ट्रको प्रमुख हुन सक्छ त्यसैले यो गीतले पनि राज्य व्यवस्था परिवर्तनका लागि अलिकति योगदान दिएको छ । म सन्तुष्ट छ,’ उनी भन्छन् ।
तर अझै पनि छुवाछुत र भेदभावका घटनाहरू भएको सुनिन्छ । यो सन्दा उनलाई दुःख लाग्छ ।
यद्यपि, नागरिकको अधिकार सुनिश्चित छ । यो ठूलो परिवर्तन हो ।
गीतको जस
तमोटले यो गीतबाट जस र अपजस दुवै पाए । तर, उनले अपजसभन्दा जस नै बढी पाए ।
‘एक जना साथीले तिम्रो गीतले गर्दा मैले जेल बसें एक महिना भने । म नाम खुलाउन चाहन्नँ । उनले मलाई तपार्इंको गीतले गर्दा जनता आन्दोलित भए । सबै आन्दोलनमा होमिएर १७ हजारौं मान्छे मरे । तपार्इंलाई ज्यान मारेको अभियोगमा किन नलगेको होला भनेर उनले सिरियस भएर भनें । म मौन बसें हाँस्दै टारें,’ उनले भने ।
गीतलाई कांग्रेस र एमालेले ‘माओवादी गीत’ भनेर आरोप पनि लगाए । तर, सबै राजनीतिक दलले यो गीतलाई गाउँबस्तीमा बजाए ।
‘यो कुनै राजनीतिक दलको गीत थिएन । देश परिवर्तनका लागि २०६२÷६३ सालको आन्दोलनमा सडकमा बज्यो । आमजनताले मन पराए । नेपथ्य ब्यान्डका अमृत गुरुङले संसारका हरेक कुनामा गाउँदै हिँडे । अहिलेका भाइबहिनीले पनि गाएका छन् । परिवर्तनका लागि यो देशको मुहार बदल्न यो गीत साथी बनेर आयो त्यसैले पनि म खुसी छु ।’
भिडियाे हेर्नुहाेस्
स्राेतः शिलापत्र