काठमाडौं । अल्ट्रा धाविका मीरा राईलाई अमेरिकाको एक युनिभर्सिटीले मानार्थ विद्यावारिधिको उपाधि दिइएको छ। अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीले राईलाई सम्मानस्वरुप उपाधि दिएको हो।
आइतबार याक एण्ड यति होटलमा भएको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्राडा डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन्।
उपाधि प्राप्त गरेपछि मीराले आफूले सपनामा पनि नसोचेको उपलब्धि हासिल गरेको बताइन्। ‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइनँ, यसले मलाई औधी खुशी बनाएको छ,’ उनले भनिन्, ‘म यो उपाधिका लागि वेस्टक्लिफ युनिभर्सिटी र प्रेसिडेन्सियल बिजनेश स्कुललाई विशेष धन्यवाद दिन चाहन्छु।’
उनले यो उपाधिबाट आफूजस्तै परिश्रम गरेर अल्ट्रा ट्रेलमा दौडने नवप्रतिभाहरुलाई पनि थप मेहनेत गर्न प्रेरणा मिल्ने आशा व्यक्त गरिन्। सो अवसरमा राईले आफूले कक्षा ७ मा पढाइ छोडेर जनयुद्धमा होमिएको र त्यसपछि पुनः फर्केर खेलसँगै उच्च शिक्षाको भोकले पढाइमा लागेको कुरा पनि स्मरण गरिन्। उनले जीवनमा आइपर्ने संघर्षदेखि हार नमानेर अगाडि बढ्दा महत्वपूर्ण उपलब्धि हासिल हुने बताइन्।
मिरा राई भोजपुरमा जन्मिएकी हुन्। उनी अन्तर्राष्ट्रिय धावनमा चर्चित छिन्। उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराइसकेकी छन्।
सो अवसरमा उपराष्ट्रपति पुन र प्राडा मेकेनीले वेस्टक्लिफ युनिभर्सिटीबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका प्रेसिडेन्सियल विजनेश स्कुलका ९५ छात्रछात्रा दीक्षित गरेका थिए।
युनिभर्सिटीका प्राडा मेकेनीले बजारको आवश्यकता र मागअनुसार विश्वविद्यालयले पठनपाठन गरिरहेको चर्चा गर्दै नेपाली छात्रछात्राको अध्ययन उत्कृष्ट रहेको दाबी गरे।
समारोहको आयोजना प्रेसिडेन्सियल बिजनेश स्कुलले गरेको थियो। प्रेसिडेन्सियल बिजनेश स्कुल वेस्टक्लिफको सम्बन्धनप्राप्त नेपालस्थित बिजनेश कलेज हो।
यस्तो बन्दै छ मिरा राई रंगशाला
मीरालाई अमेरिकामा ‘गेम चेन्जर’ अवार्ड
अल्ट्राधाविक मीरालाई पछ्याउँदै ‘भोजपुर रन’
भिडियाे हेर्नुहाेस्