विस्तारै खडेरी पर्दै गएपछि
खोला छेउको गेगर बालुवामाथि
झुप्रो ठडियो
र, मर्न थाल्यो असला माछा ।
बजारमा
असलाको माग बढ्यो
लगत्तै खोला किनारमा झुप्राहरू पनि बढे ।
खोलामा मछुवारको बस्ती बढेपछि
बिस्तारै माछाहरू बसाइँ झर्न थाले ।
माछाका बसाइँ सराइँ
र, मछुवारका बस्ती बढाईबाट
बालुवामाथि ‘साँध’ कोरिन थाले ।
एक गज छालाको टुक्रा
रातारात बन्न थाले ‘सुतली डोरी’
डोरीले छेकिए गाइबस्तुले पानी पिउन जाने बाटो ।
बाटो बुचिएपछि आयो ‘जेसीबी’ कम्पनीको डोजर
डोजर चलेपछि ब्युँतियो ‘आइएलओ १६९’ सन्धि
र, असलाको सानो संसार बन्यो ‘रणभूमि’ ।
वित्तावित्ताका कित्तामा कुरा नमिलेपछि मात्र
निस्कियो खोलाको कुरा
–यो जग्गा त खोलाको भाग हो ।
खोलाको भाग त खोलाले नै पायो
तर असलाहरू
आफ्नो भूमि फर्कन सकेका छैनन् ।