फौजीकिराको प्रकोपले किसान हैरान, २ सय ८९ हेक्टरको मकैबाली सखाप

  सिलिचुङ सम्बाददाता

मकैका बोटमा फौजी किरा हेर्दै टक्सारका स्थानीय किसान । तश्विर, सिलिचुङ

 

 

भोजपुर । केहि साताअघिबाट जिल्लाका दक्षिणी भुभागमा देखिएको अमेरीकी फौजी किराको प्रकोप बढ्दै गएको छ । सुख्खाले बर्खे मकै सखाप भएपछि दोहो¥याएर लगाएको हिउँदे मकैमा विषादी लगाउँदा पनि नियन्त्रणमा नआएपछि किसानहरु चिन्तित देखिएका छन् । झण्डै ३ साताको अन्तरालमा २ सय ८९ हेक्टर क्षेत्रफल लगाईएको मकैबाली फौजी किराले नष्ट पारेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने, रातमा कलिला पात खाए मकैको बोट सखाप पार्ने गरेको किसानहरु सुनाउँछन्

ओखलढुङ्गा, खोटाङ, उदयपुर हुँदै भित्रिएको फौजी किराको प्रकोपबाट सबैभन्दा बढि हतुवागढी गाउँपालिकामा यसको प्रकोप देखिएको छ । प्रकोपले गाउँपालिकाको २ सय ३४ हेक्टर क्षेत्रफलमा लगाईएको मकैबालीमा नोक्शान पु¥याएको थियो । यसबाहेक अरुण गाउँपालिकामा २० हेक्टर, पौवादुङ्मामा १९ हेक्टर, आमचोकमा १० हेक्टर, भोजपुर नगरपालिकामा २ हेक्टर र रामप्रसाद राई गाउँपालिकामा ४ हेक्टर क्षेत्रफलमा किराको प्रकोप भेटिएको छ ।
सुख्खा खडेरीले बर्खेमकै सप्रिन पाएन । सबै मकै उखेलेर फ्याँक्नुप¥यो । पछि दोहो¥याएको हिउँदेमकैमा पनि फौजी किराले पातै नआउने तरिकाले गुबो नै सखाप बनाएपछि योवर्ष मकै भित्राउने आशा मरेको अरुण गाउँपालिका २, चम्पे सोरेङका किसान अर्जुनकुमार राईले गुनासो गरे । उनले भने, ‘बर्खे मकै पनि पानी नपरेपछि मरेर सकियो, हिउँदे मकैमा पनि फौजी किराले टिक्नै दिएन । यो वर्ष कसरी जिविका चलाउने, बस्तुभाउलाई के दिने हो थाहा छैन ।’
किसानका अनुसार ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने, रातमा कलिला पात खाए मकैको बोट सखाप पार्ने गरेको किसानहरु सुनाउँछन् । फौजी किराले गुबो खाएपछि मकै नफस्टाएको भोजपुर नगरपालिका टक्सारकी शान्ति कार्कीको तर्क छ । ‘एउटै मकैको बोटमा ७ वटासम्म किरा भेटियो । किराले बोटै छिद्राछिद्रा बनाएर खाएपछि के मकै फस्टाउला र’ उनले भनिन्, ‘अरु अन्नबालीमा पनि यसको प्रकोप देखियो भने कसरी जिविका चलाउने होला ।’
घाम लागेको बेला ठूलो समूहमा आएर मकैको गुबोभित्र पसेर गुबो, पात खाने, रातमा कलिला पात खाने, मकैको बोट खाने गरेको कृषि ज्ञान केन्द्र भोजपुरका निमित्त प्रमुख योगेन्द्र प्रसाद यादवले बताए । ज्ञान केन्द्रले प्रभावित क्षेत्रका किसानलाई किरा नियन्त्रणका लागि जेनड्रोड, साईपर नेटिन, ईमिडा सेल जस्ता किटनाशक औषधी उपलब्ध गराएको छ ।
तर औषधीले राम्रो काम नगरेपछि किराको प्रकोप झेल्न बाध्य भएको आम्तेकका किसान पर्शुराम ओझा सुनाउँछन् । उनले पानीमा घोलेर छिटेपनि किराको प्रकोप कम नभएको बताए । किसानले उचित मात्रामा किटनाशक औषधी छिट्न नसक्दा कतै राम्रै काम भईरहेको रहेको र अधिकांश क्षेत्रमा किरा नियन्त्रणमा आईनसकेको कार्यालयका कर्मचारी जानकी भट्टराईले बताए । किराबाट प्रभावित क्षेत्रमा कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानविच समाधान गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने काममा जुटेको केन्द्रले जनाएको छ ।
फौजी किराको प्रकोपले विशेषगरि दक्षिणी भेगका रानीबास, लुङ्गिन, होम्ताङ, हर्का, लंखा लगायत टक्सार, आम्तेक मानेभञ्जाङ, जरायोटार, याङपाङ, रानिबास, चम्पे, दक्षिणी क्षेत्रका किसानहरु बढि चिन्तित बनेका छन् । फौजी किराले मकैसंगै अन्य अन्नबाली, तरकारीमा समेत क्षति पु¥याउन थालेको कृषकहरुको गुनासो छ । मकैबालीमा फौजी किराको प्रकोप बढ्दै जाँदा अन्य बालीनाली, रुखबिरुवा, बस्तुभाउमा पनि क्षति पु¥याउने हो कि भन्ने पनि त्रास फैलिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार