भारतले नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा अटायो, नेपाल र भारत वीच चर्कियो सीमा विवाद

  सिलिचुङ समाचारदाता

काठमाण्डौ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र मि नक्साभित्र समेटेको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।
भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि फेरि नेपाल भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ । अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।
नेपालको नापी विभागले तयार पारेको नक्साअनुसार अहिले आएर भारतले ती क्षेत्र अतिक्रमण गर्दै आफ्नो नक्सामा राखेको हो । यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक–पटक नेपाली पक्षले विरोध जनाउँदै आएका थिए । ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर झण्डा नै फहराएका थिए ।

दार्चुला जिल्लामा पर्ने लिपुलेकको पहिलो पटक सरकारले वि.सं. २०१८ सालमा जनगणना नै गरेको तथ्यांक छ । त्यो बेला पत्रकार भैरव रिसाल तथ्याङ्क विभागको अधिकृतका रुपमा लिपुलेक पुगेर त्यहाँको जनगणना गरेकाे थियो । तर अहिले त्यो क्षेत्रलाई नै भारतले आफ्नो भन्दै राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

नेपालको भूभाग आफ्नो भन्दै भारतले नयाँ नक्सामा समेटेपछि भने नेपाली पक्षले विरोध जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् । नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याको सम्बोधन गर्न माग गरेको छ ।

भारतले पाकिस्तानको भूभाग पनि नक्सामा अटाए

भारतले नेपालको मात्रै होइन पाकिस्तानको भूभाग पनि आफ्नो नक्सामा समेटेको छ । पाकिस्तान नियन्त्रित कश्मीरका मुजफ्फराबाद, मीरपुर र पुँछ जिल्लालाई जम्मू–कश्मीरमा र गिलगिट–बल्तीस्तानलाई लद्दाखअन्तर्गत समावेश गरेपछि पाकिस्तानले पनि भारतीय कदमको विरोध गरेको छ ।

भारत सरकारले जारी गरेको नयाँ नक्साप्रति पाकिस्तान सरकारको विदेश मन्त्रालयले नै औपचारिक विरोध जनाएको हो । उसले भारतले जारी गरेको नयाँ नक्सा अमान्य भएको र यसले संयुक्त राष्ट्रसंघको सम्बन्धित प्रस्तावको समेत ठाडो उल्लंघन गरेको बताएको छ । भारतीय गृह मन्त्रालयले नोभेम्बर २ तारिखका दिन जारी गरेको नयाँ राजनैतिक नक्सा गलत, गैरकानुनी र आधारहीन भएको पाकिस्तानले प्रतिक्रिया दिएको छ । पाकिस्तानले भारतले जारी गरेको नयाँ नक्सालाई नमान्ने पनि जनाएको छ ।

जम्मू–कश्मीरको स्वायत्त हैसियत खारेज गर्ने भारत सरकारको निर्णयको पाकिस्तानले सुरुदेखि नै विरोध गर्दै आएको छ ।

नक्साको बारेमा के भन्छ नापी विभाग ?

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत परेको बारे नापी विभागले पनि चासो दिएको छ । पाकिस्तानले औपचािरक रुपमा नै भारतले जारी गरेको नयाँ नक्साका बारेमा विरोध गरिसक्दा नेपाल पक्षले भने बल्ल अध्ययन गर्न लागेको जनाएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो नक्सामा पारेको बारे जानकारी आएको र यसबारेमा विभागमा छलफल चलिरहेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

विस्तृत अध्ययन गरेर यसबारेमा औपचारिक धारणा सार्वजनिक गर्ने तयारीमा विभाग लागेको पनि  बताए । अहिले छलफल चलिरहेको र विस्तृत अध्ययन गर्ने काम पनि भइरहेकाले हाम्रो भूभाग परे नपरेको बारे अहिले नै भन्न नसकिने भन्दै उहाँले अध्ययनपछि धारणा सार्वजनिक गर्ने बताए ।

२०७२ सालमा भारत र चीनबीच भएको व्यापार सम्झौतामा लिपु लेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने सहमति गरेको थियो । यही सम्झौताअनुरुप नै अहिले लिपुलेकलाई आफ्नै भन्दै नक्सामा नै समेटेको हो ।

त्यो बेला लिपुलेक भारतले अतिक्रमण गरेर हत्याउन लागेको भन्दै नेपाली पक्षले विरोध जनाएको थियो । परराष्ट्रविद्हरुले लिपुलेकलाई त्रिदेशीय मार्ग बनाउन सरकारले पहल नगर्दा भूभाग नै गुमाउने अवस्थामा पुगेको दाबी गर्छन् ।

नापी विभागका पूर्व महानिर्देशक सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले २०७४ जेठ २० गते राजधानीमा आयोजना गरेको ‘भारत–चीन नयाँ व्यापार सम्झौताः लिपु लेक र नेपाली राष्ट्रियता’ विषयक कार्यक्रममा नक्सा, कागजात र प्रमाणको आधारमा लिपुलेक नेपालको दार्चुला जिल्लाको तत्कालीन व्यास गाविसमा पर्ने भए पनि भारतले मिचाहा प्रवृत्ति देखाउँदै जमिन हडपेको बताएकाे छ ।

प्रमाणहरुले त्यो भूभाग नेपालको रहेको देखाए पनि अहिले भारतले आफ्नै नक्सामा समेटेपछि नेपालले झण्डै ३७२ वर्ग किलोमिटरभन्दा बढी क्षेत्र गुमाउने अवस्थामा पुगेको छ । स्राेत उज्यालाे अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार