भारतले २३ जिल्लाको ६० हजार ६ सय २७ हेक्टर नेपाली जमिन मिच्यो

काठमाडौं । नेपाली भूमि आफ्नो भन्दै भारतले सार्वजनिक गरेको नक्सापछि उत्पन्न क्रिया–प्रतिक्रिया आजका सबैजसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । खासगरी सरकारले कालापानी नेपालकै हो भनेर दिएको प्रस्टीकरणलाई पत्रपत्रिकाहरूले हाइलाइट गरेका छन् ।

यसबाहेक उपनिर्वाचनका लागि दलले गरेको उम्मेदवार छनोट, नक्कली नेपाली पासपोर्टको कारोबारलगायत विषयमा पनि आजका अखबारहरूको नजर परेको छ ।

कालापानी नेपालकै भूभाग हो भनेर सरकारले दिएको प्रष्ट्याइलाई आज अन्नपूर्णले मुख्य समाचार बनाएको छ । भारतले तीन दिनअघि सार्वजनिक गरको नक्सालाई लिएर अनेक क्रिया–प्रतिक्रिया उत्पन्न भइरहेका बेला सरकारले यस्तो प्रस्टीकरण दिएको हो ।

त्यस्तै, २३ जिल्लाका ७१ स्थानमा सीमा विवाद रहेको विषयलाई पनि अन्नपूर्णले यही समाचारमा कम्पाइल गरेको छ । समाचार अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लामा सीमा समस्या छ । डडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन् ।

अन्नपूर्ण लेख्छ–दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर जमिन मिचेको छ । नेपाल र भारतबीच १ हजार ८ सय ६० किलोमिटर सीमा जोडिएको छ ।

विदेशमा नेपाली नक्कली पासपोर्ट बन्ने गरेको खुलासा पनि आजको अन्नपूर्णले गरेको छ ।

मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपी पासपोर्टबारे गरिएको अनुसन्धानको क्रममा यस्तो तथ्य फेला परेको हो । नक्कली पासपोर्टसहित २ पक्राउ परेका छन् ।

समाचार अनुसार गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ । बुकमा पृष्ठ उस्तै छन् । तर सिलाइ नक्कली छ । यस्तो पासपोर्ट १ लाखसम्ममा बिक्री हुने गरेको समाचारमा उल्लेख छ ।

संघले भन्दा अघि प्रहरी विधेयक ल्याएको प्रदेश २ सरकारले गुप्तचरसमेत नियुक्त गर्नेगरी छुट्टै अनुसन्धान व्युरो गठन गर्न लागेको खबर कान्तिपुरले लेखेको छ । यसका लागि आवश्यक विधेयकसमेत तयार पारेको छ । हाल मुख्यमन्त्री कार्यालयको विधान समितिमा पुगेको विधेयक छिट्टै प्रदेशसभामा दर्ता गराउने सरकारको योजना रहेको कान्तिपुर समाचारमा लेखिएको छ ।

कालापानी नेपालकै भूभाग हो भनेर सरकारले दिएको प्रस्टीकरणलाई मुख्य समाचार बनाएको कान्तिपुरले प्रमुख दलले उम्मेदवार टुंग्याएको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार