बहिरा बालबालिकाको सहारा बन्दै सिताराम, स्कुल मैले खोलेँ अब सबै मिलेर जोगाऔं

  सिलिचुङ समाचारदाता

भोजपुर । जोस र जाँगर भएपछि शारिरीक कुरुपताले छेक्दैन । मेहनत भए ढुङ्गेनी पाखामा सुन फलाउन सकिन्छ । यस्तै फरक क्षमताका बालबालिकालाई ज्ञान बाँड्ने र केहि सिकाउने एक उदाहरणीय पात्र हुन्, भोजपुर नगरपालिका ११, आम्तेकका सिताराम ओझा । उनी आफु पनि एक बहिरा व्यक्ति हुन् । आफु जस्तै सुन्न र बोल्न नसक्ने बालबालिका खोज्न र पढाउन दिनरात तल्लिन रहन्छन् ।


भोजपुरमा बहिरा बालबालिकालाई पठनपाठन गराउने उद्देश्यले सदरमुकामको पानीट्याङ्कीस्थित ०७५ जेठमा बहिरा आवासीय विद्यालय खोलियो । भोजपुर बहिरा संघ भोजपुरका अध्यक्ष समेत रहेका सीतारामकै पहलमा उक्त विद्यालय खोलियो । हाल उक्त विद्यालयमा उनी र उनी जस्तै उनका सहकर्मी शन्तकुमार तुम्बापोले बालबालिकालाई पढाईरहेका छन् । ‘मान्छेको इच्छा भएपछि केहि गर्नुपर्छ भन्ने भावना आफै आउँदो रैछ,’ ओझाले भने, ‘म र शन्तकुमार सर सबै स्थानीय तहसम्म पुगेर विद्यार्थी बटुल्ने काम गरिरहेका छौँ ।’

भिडियाे

विद्यालय चलाउन सीतारामलाई गाउँगाउँ पुगेर बालबालिका खोज्न, तालिम चलाउन, जनप्रतिनिधी भेट्न, प्रदेश र संघिय मन्त्रालय धाउन भ्याईनभ्याई हुन्छ । आफु जस्तै बालबालिकालाई सिकाईमा पोख्त बनाउने उनको एउटै सपना हो । उनको क्रियाशिलताप्रति सर्वसाधरण चकित बनेका छन् । उनको लगाव र खटाईमा सरोकारवाला निकायको त्यत्तिकै सहयोग आवश्यक रहेको सहायक प्रजिअ प्रयास भट्टराईको बुझाई छ । उनी भन्छन्, ‘जिल्लामा पहिलोपटक सञ्चालनमा आएको विद्यालय संरक्षणको जिम्मा कसको र त्यसका लागि कसले नेतृत्व गर्ने भन्ने भूमिका महत्वपूर्ण भएकाले जिल्ला तहमा बहस चल्नुपर्छ ।’


अरुण गाउँपालिका, टेम्कैमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र भोजपुर नगरपालिकाका विभिन्न ग्रामिण भेगबाट १४ जना फरक क्षमताका बालबालिकाहरु विद्यालयमा पढिरहेका छन् । सितारामकै पहलमा गत आर्थिकवर्षमा विद्यालयलाई भोजपुर नगरपालिकाले ५ लाख र अन्य गाउँपालिकाहरूबाट पनि आर्थिक सहयोग जुटेपछि विद्यालय खोलिएको थियो । त्यस्तै गतवर्ष सांसद सूदन किराँतीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट विद्यालयको बाहिरी भौतिक संरचना बनाउन १० लाख सहयोग गरेका थिए । १० जना बालबालिकाको कोटा भएपनि बालबालिकाको संख्या बढिरहेको सिताराम बताउँछन् । विद्यालयमा एकजना दोभाषे शिक्षक कार्यरत छन् ।
विद्यालय सञ्चालन र व्यवस्थापनमा सहयोग पुर्याउन स्थानीय दीपा शर्माको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिसमेत गठन गरिएको छ । विद्यालयमा कार्यरत दोभाषे शिक्षकलाई भोजपुर नगरपालिकाले तलब, खानेपानी र विद्युतको व्यवस्था गरेको छ । तर समयमा खानेपानी र विद्युतको खर्च नआउने केहि झन्झट भएको सितारामले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार