भोजपुर । संसारमा वीर गोर्खालीको चिनारी तथा विदेशी मुद्रा आर्जनमा राम्रो स्रोत बनेको नेपालकै प्रशिद्ध भोजपुरे खुकुरी यतिबेला कच्चापदार्थ र दक्ष कालीगढको अभावमा संकटमा पर्दै गएको छ । देशविदेशमा आफ्नो उत्कृष्ट छवि बनाएको भोजपुरे खुकुरी अन्य ठाउँहरुको खुकुरीको तुलनामा एकदमै लोकप्रिय र अधिक माग भएपनि राज्यले बनपैदावरमा लगाएको रोक र पेशा धान्ने कालीगढ भेटिन छाडेपछि यहाँको खुकुरी उद्योगहरु क्रमशः ओझेलमा पर्न थालेको हो ।
जिल्लाभित्र सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटार लगायत ३५ बढि स्थानहरुमा बुदुना, सिरुपाते, बाँसपाते लगायत विभिन्न किसीमका खुकुरी बनाईन्छ । ‘खुकुरीको माग प्रशस्त भएपनि कच्चापदार्थ र दक्ष कालिगढको अभावमा माग अनुसारको उत्पादन धान्न नसकिएको उर्मिला आरन उद्योगका सञ्चालक हिरा श्रेष्ठले बताउनुहुन्छ ।’ उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय वडास्तर तथा गाउँपालिकामा स्थानीय युवाहरुलाई तालिम दिएर खुकुरीको उत्पादन गर्न थालेको छ ।
पञ्चायतकाल देखी बहुदलसम्म आउदा यहाँ उत्पादित खुकुरी धरान, विराटनगर, काठमाडौ लगायतका सहरहरु तथा भारत, चीन, बङगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत लगायतमा विदेशमा पनि लाखौको मुल्यमा निर्यात हुदै आएको थियो । ‘महिनामा ३ सयदेखि ४ सय ५० को हाराहारीमा खुकुरीको माग आउने गरेकाले भ्याईनभ्याई हुन्छ । उद्यमी दिनेश गजमेर बताउनुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘राम्रो आम्दानी बनेपनि खुकुरी बनाउने पेशा गाह्रो, फोहोर हुने, कच्चापदार्थको अभाव र चासोको कमीले अन्य नै पेशामा आकर्षित हुने थालेकोले कारण पनि खुकुरी बनाउने पेशा लोप हुने अवस्थामा रहेको छ् ।’
विभिन्न आकर्षक बुट्टादार हुने भएकाले देश–विदेशमा पनि उत्तिकै चर्चा बटुलेको भोजपुरे खुकुरीहरु बढिभन्दा बढि पश्चिमा युरोपेली मुलुकहरुमा मायाको चिनो, सजावटको लागि पुग्ने गर्छ । कडा कानुनका कारण खाडी अरेबियन मुलुकहरुमा यहाँका खुकुरीहरु खुला रुपमा लान नमिल्ने भएपनि सालका काठबाट निर्मित सजावट काठे खुकुरीहरु चिनो स्वरुप लाने गरिएको छ । ‘पछिल्लो समय फलामका काम गर्ने मान्छेहरु सुन बनाउने जस्ता सजिलो काम गर्ने, वैदेशिक रोजगारमा जाने, युवापिँढीको पेशाप्रति कुनै ध्यानै नभएकाले पनि भोजपुरे खुकुरी संकटमा पर्दै गएको खुकुरी व्यापारी गणेश गजेमर बताउनुहुन्छ ।’ उहाँ भन्नुहुन्छ, ‘ खुकुरी बनाउनको लागि कच्चा पदार्थको अभाव छ यसमा स्थानीय सरकारहरुले कुनै चासो दिएको छैन, यो पेशा कुनै दिन सबैको लागि लोप हुने अवस्थामा छ ।
वि.स. १९६५ सालतिरबाटै खुकुरी बन्न थालेपनि बहुप्रशिद्धी भोजपुरे खुकुरी वि.सं. २०२७ सालमा राजा महेन्द्र आफ्नोे राजकिय भ्रमणको क्रममा भोजपुर आउँदा स्थानीय बोखिमका बोखिमक सिंगबहादुर विश्वकर्मा ‘सिने’ भन्ने खुकुरी उद्यमीले पहिलोपटक खुकुरी राजालाई उपहार स्वरुप दिएका बेला खुकुरीको कौशलबाट आकर्षित बनेपछि राजा महेन्द्रले त्यस समयको एक हजार रुपैँया उनलाई बक्सिस स्वरुप दिएका थिए । त्यहि समयदेखी भोजपुरे खुकुरीले लोकप्रियता पाएको कथन छ ।