भोजपुर । पौवादुङ्मा गाउँपालिका तिवारीभञ्ज्याङका दिपक सुवेदी ०७६ मा मलेसियाबाट फर्के । दुई चार पैसाको मोहले करिब ४ वर्ष विदेशिएका उनले न कुनै सोचे जस्तो काम न सोचेजति पारिश्रामिक नै । अन्तत निराश बनेर घर फर्किए । विदेशमा बगाएको पसिनाले कुनै लछारपाटो नलागेपछि गाउँमै केहि गर्ने चाहले ५ वर्षअघि कुखुरा पाल्न थाले । नभन्दै उनको मेहनतले अहिले गाउँमै एक सफल उद्यमी बनेका छन् । कुखुरापालनबाटै उनी मासिक एक लाख ४० हजारसम्म आम्दानी गर्छन् ।
गाउँमै व्यावसायिक रुपमा ‘सुवेदी पोल्ट्री फर्म’ नामको फर्म खोलेर मनग्गे पेशा धानिरहेका दिपकले ब्रोईलर कुखुराबाट सुरुवात गरी अहिले लेयर्स जातका कुखुरा पालेका छन् । ‘पैसा कमाउन के विदेश गईरहन प¥यो र, मलाई यहि ठिक रहेछ, विदेशमा व्यर्थै ४ वर्ष खेर फालेँ’ उनले भने, ‘विदेशमा कमाई हुने पैसाभन्दा घरमै कुखुरा पालेर त्योभन्दा तेब्बर आम्दानी गर्छु ।’ फर्ममा २७ सय बढिको लेयर्स कुखुरा छन् । जसबाट उनले दैनिक ११ सय दानासम्म अण्डा उत्पादन गर्छन् ।
खुकुराको अण्डबाटै जिल्लालाई आत्मनिर्भर बनाउने उनको लक्ष्य छ । फर्ममा उत्पादित अण्डा र कुखुरा जिल्लाभित्र र धनकुटा लेगुवा हुँदै बाहिरसम्म निकासी हुन्छ । करिब ५० लाखको लगानीमा बनाईएको फर्ममा उनले पाँचजना कामदारलाई रोजगार प्रदान गरेका छन् । परम्परागत खेतीलाई थाँती राखेर आधुनिक व्यावसायिक कृषितर्फ भोजपुरका किसानहरुको आकर्षण बढ्दो छ । खेतीले परिवार धान्न गाह्रो भएपछि गाउँमै प्रशस्त आम्दानी गर्न थालेका छन् ।
टेम्के मैयुङ गाउँपालिका गोगनेका शम्भुप्रसाद नेपालले पनि गाउँमै व्यावसायिक कृषि कर्म खोलेर राम्रो आम्दानी गरिरहेका छन् । कागती, ड्रागनफ्रुट लगायतका फलफुल र लोकल कुखुरापालनबाटै मासिक २ लाखसम्म आम्दानी गर्छन् ।
सुविधा र रोजगारको शिलशिलामा ३१ वर्षअघि विराटनगर छिरेका उनले ०७० सालमा गाउँ फर्किएर कृषिमा हात बढाए । धानखेत मासेर कागती लगाउँदा छिमेकीले कुरा पनि काट्ने गर्दथे । तर अहिले त्यहि खेत बगानमा परिणत भएको छ । त्यहि कागतीबाट राम्रो आम्दानी आउन थालेपछि छिमेकीहरु देखासिखी गर्न थालेका छन् ।
‘केहि काम पाईएला, घरजम राम्रै बसौला भनेर शहर छिरे तर सोचेजस्तो केहि भएन, केहि गर्छ भन्ने हेतुले गाउँ नै फर्किए’ उनले भने, ‘सुरुमा त छिमेकीहरु पागल भएसम्म पनि भने, तर अहिले यहि बगान देखेर मेरो खेतीको देखासिखी गर्न थालेका छन् ।’ करिब ४३ रोपनी खेतमा लगाएको ८ सय बढि कागती बोटबाट उनले बार्षिक लाखौँको आम्दानी लिन्छन् । एक हजार बढि विरुवा लगाईएको छ । सिजनका बेला एक हजारभन्दा बढि कागती बेच्ने गरेको उनले सुनाए । कागतीसंगै सोहि बगानमा उनले ३ सय ड्रागन फुटको बोट लगाएका छन् । यस्तै घरमा फर्म बनाएर उनले पाँचसय बढि अस्ट्रोलो हेमसायर जातको लोकल कुखुरा पालेका छन् । ती कुखुराबाट दैनिक एकसयको हाराहारीमा अन्डा समेत उत्पादन हुने गरेको छ ।
भोजपुर टक्सारका ३४ बर्षिय बम बहादुर श्रेष्ठले पनि साढे ५ रोपनी जग्गामा व्यावसायिक तरकारीबाली, फलफुल लगाएका छन् । साढे ५ बर्षअघि विदेशबाट फर्कि ४० हजारको लगानीमा सुरुवात गरेको तरकारी खेतीबाट उनले बार्षिक लाखौँको आम्दानी गर्न थालेका छन् । ८ रोपनी जग्गामा उनले ताजा गोलभेडा, काउली, बन्दा, सागसब्जी फलाउँछन् । उनले भने, ‘मकै, कोदोले बर्षमा एकबाली मात्र उब्जनी दिन्छ, तरकारीबाट ४ बालीसम्म फाइदा लिन सकिन्छ,’ वैदेशिक रोजगार जाने दक्ष युवा जनशक्तिलाई देशभित्रै व्यावसायिक क्षेत्रमा रोजगारको सिर्जना गराउन सरकारबाटै नीति बन्नुपर्ने उनी बताउँछन् ।