साउदीबाट आएका एक युवकलाई कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका ‘सिल’

कोभिड–१९ सङ्क्रमित फेला परेपछि भोजपुरको हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ। गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र सङ्खुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकामा थप कडाइका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत गरेको छ।

उनको यात्रा विवरण विषयको आधारमा थप परीक्षण गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली पठाउन प्रदेश नं १ सरकारसँग अनुरोध गर्ने निर्णय भएको प्रजिअ पुरीले बताए।

युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ। अहिले उनको सङ्गतमा रहेका २० जनाको पिसिआर गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिए। त्यसका लागि स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली आउने तयारीमा रहेको विष्टले बताए।

 

नेपालमा हालसम्म ४८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। तिमध्ये १० जना  निकाे भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार