सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीक बरिष्ठ नेता माधवकुमार नेपालले शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको समझदारीबारे प्रचण्डसँग स्पष्टता खोज्ने भएका छन्।
शनिबार साँझ भएको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भनाइमा बोली मिलाउँदै पार्टीभित्रको विवाद सकिएको र एकता मजबुद् पारेर जाने बताएपछि नेता नेपाल पक्ष सशंकित भएको छ।
त्यसअघि बुधबार भएको सचिवालय बैठकमा प्रचण्ड र नेपाल दुबैले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।
प्रचण्डले बैठकमा लामो कुरा राख्दै प्रधानमन्त्री ओलीले पार्टी एकताको स्पिरिटविरूद्ध काम गरेको, नेताहरूको अवहेलना गरेको, दुई अध्यक्षहरूबीच बस्ने टेबल कुर्सीमा समेत भेदभाव गरिएको तीखो टिप्पणी गर्दै राजीनामा मागेका थिए।
बुधबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने मौखिक प्रस्ताव ल्याएका थिए।
प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्रीको उक्त प्रस्ताव बदनियतपूर्वक आएको निष्कर्ष निकालेका थिए। सही नियतले त्यो प्रस्ताव ल्याएको भए सचिवालयले लिखित रूपमा प्रधानमन्त्रीको राजीनामा र वामदेवलाई प्रधानमन्त्री बनाउने निर्णय गर्नुपर्ने अडान लिने प्रचण्ड-नेपालबीच सहमति भएको थियो।
सचिवालय बैठक सुरू हुनुअघि शनिबार साँझ प्रचण्डले प्रधानमन्त्री ओलीसँगै ४० मिनेट छुट्टै छलफल गरेका थिए। त्यो बेलासम्म सचिवालयका अर्का सदस्य वामदेव गौतमले प्रधानमन्त्रीलाई साथ दिने वचन दिइसकेका थिए।
शनिबार साँझको सचिवालय बैठकमा प्रचण्डको अडान एक्कासी फेरिएपछि प्रचण्डले किन त्यसो गरेका हुन्? भन्ने बुझ्न नेता नेपालले उनीसँग बसेर कुरा गर्ने भएका हुन्।
नेपालनिकट एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने, ‘माधव नेपालले आज आफूनजिकका स्थायी समिति सदस्यहरूलाई बोलाउनुभएको छ। हामी त्यहाँ छलफल गर्छौं। त्यसपछि नेपालले प्रचण्डसँग कुरा गर्नुहुन्छ।’
प्रचण्डको नियत के हो? त्यो पहिले प्रष्ट हुनु पर्यो भन्ने धेरै स्थायी समिति सदस्यहरूको माग छ। ‘धोका दिएको हो कि होइन पहिले त्यो खुल्नुपर्यो,’ उनले भने।
कुराकानी गर्दै नेपालनिकट स्थायी समिति सदस्य बेदुराम भुषालले स्थायी समिति बैठकमै धेरै विषयमा छलफल गरिने बताए। ‘उहाँ(प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली)त स्थायी समितिकै बैठक बोलाउने पक्षमा रहनुभएको थिएन। बैठक बोलाए पनि म जान्न भन्नुभएको थियो,’ भुषालले भने,’अहिले बैठक बोलाउने सहमति भएको छ। अब बैठक बस्ला अनि बाँकी कुरा त्यही छलफल हुन्छ।’
प्रधानमन्त्रीले पार्टी फुट्न दिन्न भन्नु र आत्मालोचना गर्नु अर्को सकारात्मक पक्ष भएको उनको भनाइ छ। ‘प्रधानमन्त्रीले अहिलेसम्म नगरेको काम आत्मालोचना हो त्योसमेत गर्नुभयो। सरकारलाई पार्टीकै निति निर्देशनमा चलाउछु भन्नु पनि राम्रो कुरा हो। हामीले खोजको पनि त्यही हो,’ उनले भने,’पार्टीलाई विधि पद्धतिमा चलाउँछु भन्नुभएको छ। यद्यपी केन्द्रीय कमिटी बैठकमा पनि उहाँले यो कुरा भन्नुभएको थियो। यसको कार्यान्वयन कसरी गर्नुहुन्छ त्यो बिस्तारै थाहा होला।’
सचिवायल बैठकको निर्णयबाट वरिष्ठ नेता नेपाल असन्तुष्ट बन्नुभएको हो भन्ने जिज्ञासामा भुषालले यसबारेमा संक्षेपमा कुराकानी हुँदा आफूले त्यस्तो नपाएको बताए।
‘मेरो उहाँ (वरिष्ठ नेता माधव नेपाल)सँग विस्तृतमा कुरा हुन पाएको छैन। तर छोटो कुराकानी गर्दा मैले त्यस्तो पाइनँ,’ उनले भने,’वामदेवजी फेरि पनि अडिन सक्नुभएन भन्ने कुरा गर्नुभएको थियो। उहाँको बानी पहिल्यै थाहाँ थियो त्यही भएर यो धेरै नौलो पनि लागेन।’
आफूहरुले पार्टी विधि विधानअनुसार चलोस् भन्ने चाहेकाले सचिवालयका निर्णयलाई अन्यथा नठानेको उनले बताए।