भाेजपुरे खुकुरी कसरी बनाइन्छ ?

वि.सं. २०२७ सालमा राजा महेन्द्र भ्रमणका क्रममा भोजपुर पुगेका थिए । सदरमुकाम नजिकैको बोखिममा हेलिकप्टरबाट अवतरण गरे । भ्रमण सकाएर फर्कने क्रममा बाेखिमका स्थानीयले राजालाई उपहार स्वरुप आफुले उत्पादन गरेको खुकुरी हातमा टक्राए ।

राजाले त्याे खुकुरीकाे डिजाइन कलात्मक, आकर्षक र उत्कृष्ट पाएपछि ‘भोजपुरे खुकुरी’ नामाकरण गरिदिएका थिए । यसरी मौलिक पहिचान बोकेको खुकुरी विस्तारै पेशाका रुपमा आयआर्जनको मुख्य स्रोत बन्दै गयो । र भोजपुर जिल्ला खुकुरीका लागी प्रख्यात बन्यो ।

उबेला कामको आधारमा जात छुट्याउने चलन थियो । फलाम पिट्ने, सुन कमाउने, कपडा सिलाउने दलित जाति भनियो । विश्वकर्मा समुदायले सदियौदेखी घरायसी, कृषि कामकाजमा प्रयोग गर्न हातहतियार बनाउथे ।

यकिन तथ्याङं नभएपनि ढुगें युगको अन्त्यसंगै खुकुरी बनाउन र प्रयोग गर्न थालिएको जानकारहरु बताउँछन् । वि.सं. १९६५ देखी विभिन्न डिजाइनका खुकुरी बनाउने प्रचलन सुरु भएको भोजपुरका उद्यमी गणेश गजमेरले बताए । यद्यपी भोजपुरे खुकुरीका रुपमा प्रसिद्धि पाउन करिव ७ दशक कुर्नुप¥यो । राजा महेन्द्रको भ्रमण संयोग जुरेको थियो । ऐतिहासिक आलेख अनुसार तत्कालिन समयमा उनी आर्थिक क्रान्तीका धरोहर मानिन्थे ।

उत्पादन भएको ८० प्रतिशत खुकुरी सजावट र उपहारका लागी प्रयोग हुन्छ । बाँकी २० प्रतिशत मात्रै घरायसी औजारका रुपमा प्रयोग हुने गरेको उद्यमीहरु बताउँछन् । बिशेषगरेर जिल्ला बाहिरबाट सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाका लागी आएका कर्मचारीले गृहजिल्ला फर्कदा चिनारी स्वरुप अनिवार्य लिएर जान्छन् । उच्च ओहदाका व्यक्ति जिल्लाभित्र आउदा या त विदाइ गर्दा भोजपुरे खुकुरी उपहार स्वरुप दिने चलन छ ।

भोजपुरे खुकुरी देशभित्र मात्रै सिमित छैन । भारतका दार्जिलिङ्ग, आसाम, सिक्किम, चीन, बङगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत तथा अन्य राष्ट्रमा पनि लाखौको व्यापार हुन्छ । अनलाइन प्रवद्र्धनले गर्दा स्वदेशमा भन्दा विदेशमा माग बढेको न्यु भोजपुरे खुकुरी उद्योगका सञ्चालक सफल सेन्चौरी बताउँछन् । ‘विदेशमा खालखाले डिजाइन माग हुन्छ, उनीहरु विलासिताका लागि घरमा सजाउन मगाउछन्,’ उनले भने, ‘अहिले भोजपुरे खुकुरी घाँस, दाउराका लागि होइन, सजाएर राख्न, उपहार दिन पो किन्छन् ।’

अन्यत्र बनाइने खुकुरीको तुलनामा भोजपुरे खुकुरी आकर्षक, डिजाइन मिलेको, बुट्टादार र कलात्मक शैलीका हुने भएकाले ‘लो प्रोफाइ’देखी ‘हाइ प्रोफाइल’सम्मका मानिसको रोजाइमा पर्छन् । मुख्य गरेर ३ प्रकारका बुदुना, सिरुपाते र बाँसपाँते खुकुरी अत्यधिक किनबेच हुन्छ ।

बुदुना मोटो र फराकिलो हुन्छ । सिरुपाते सिरुको पात आकारको पातलो हुन्छ । बाँसपाते बाँसको पातजस्तै, सिरुपाते भन्दा केही मात्रामा बाक्लो हुन्छ । सिरुपाते र बाँसपाते सजाउन, उपहारका रुपमा आदानप्रदानका लागी प्रयोग हुन्छ । भोजपुरमा सानो साइजमा ४ इन्चदेखी दुई फिटसम्मका खुकुरी उत्पादन तथा विक्री हुन्छन् ।

भोजपुरे खुकुरी बलियो, टिकाउ र आकर्षक मानिन्छन् । सामान्य प्रकारका खुकुरीको न्युनतम मुल्य ४ सय रुपैया पर्छ । बुट्टादार, धातु प्रयोग गरिएका, डिजाइन मिलेका खुकुरी २५ हजारसम्म विक्री हुने गरेको उर्मिला खकुरी उद्योगका सञ्चालक हिरालाल श्रेष्ठ बताउँछन् । डिजाइन हान्न अति नै मेहनत गर्नुपर्ने, समय लाग्ने हुदा मुल्य महगों पर्छ ।

खुकरीमा ग्राहकका इच्छा र माग अनुसार राष्ट्रिय तथा दुर्लभ पशुपंक्षी, राष्ट्रिय झण्डा, ड्राइगन हानेर, सिक्का टासेर बुट्टा हानिन्छ । बिशेषतः दाप(खोल)मा पित्तल, चाँदी र सुनको लेपन लगाएर बुट्टा निकालिन्छ । काठका दापमा विभिन्न आकृति खोपेर सजावट भरिन्छ । खुकुरी बनाउन मुख्य त स्प्रि¨(गाडीको कवाडी पत्ति), पत्थरकोइला, कोइला, काठ, धातुजन्य पदार्थ, पाइन आवश्यक पर्छ । कतिपय देशमा औजार, हतियार लैजान रोक लगाइएको हुदा भोजपुरे खुकुरीकै आकृती भएको काठको खुकुरी समेत उत्पादन र विक्री हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार