भारतद्वारा दशगजामा सहमतिविपरीत बाँध विस्तार

रौतहट — भारतले रौतहटको इशनाथ नगरपालिकासँग जोडिएको दशगजा क्षेत्रमा बाँधको उचाइ थप गरेको छ । भारतले सीमा सुरक्षा बैठकमा बाँधमा कुनै किसिमको संरचना निर्माण वा विस्तार नगर्ने लिखित सहमित जनाए पनि त्यसविपरीत काम गरेको स्थानीय प्रशासनले जनाएको छ ।

इशनाथ नगरपालिकासँग जोडिएको नेपाल-भारत दशगजा क्षेत्रमा भारतीय पक्षले ४ फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाएको हो । बाँधको उचाइ थप गरिएको सूचना पाएपछि आइतबार त्यसतर्फ गएको प्रशासनको टोलीले काम अघि नबढाउन अनुरोध गरेको छ । गत वर्ष पनि यस्तै कार्य गरिएपछि स्थानीय प्रशासनले रोक लगाएको थियो ।

दुवै देशको सहमतिबिना दशगजामा कुनै पनि गतिविधि वा संरचना निर्माण गर्न पाइँदैन । तर लकडाउनको मौका छोपी भारतले बाँधमाथि धमाधम माटो थप गरेको हो ।

गत वर्षको बाढी र डुबानले बाँध कमजोर बनाएकाले त्यसलाई बलियो बनाउन माटो थपिएको भन्दै भारतीय पक्षले पन्छिन खोजेको प्रशासन स्रोतले जनायो । वर्षाका बेला क्षति पुग्न सक्ने आंकलन गर्दै उसले गत वर्षको असारमै माटो र बोरा राखेर उचाइ थप्ने प्रयास गरेको थियो ।

सीमामा रहेको जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६ (५) हुँदै बन्जरहासम्म भारतले एक दशकअघि बाँध बनाएको थियो । बन्जाहारदेखि पश्चिममा रहेको ३४७ नम्बरको पिलर गत वर्ष मासेर भारतले ड्याम बनाउने प्रयास गर्दा स्थानीय प्रशासनले रोकेको थियो । रातारात बोराको ड्याम बनाउन थालेपछि सशस्त्र प्रहरी प्रदेश २ का डीआईजी राजु अर्यालले आफ्ना युनिटका सुरक्षाकर्मीलाई चौबीसै घण्टा निगरानीका लागि तैनाथ गरेका थिए । त्यसपछि काम छाडेको भारतले पुन: बाँध विस्तारको कार्य अघि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सीमा क्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना आएपछि तत्कालै माथिल्लो निकायमा जानकारी गराएको बताए । ‘सीमा सुरक्षा बैठकमा भएको सहमतिबेगर बाँध विस्तारको काम भएको भनेर भारतीय अधिकारीलाई पनि जानकारी गराएको छु । हामीले तुरुन्त रोक्नु भनेका छौं,’ उनले भने, ‘सीतामाढीका डीएमलाई पनि तत्कालै काम रोक्न भनिएको छ । अहिले काम बन्द गरिसकेका छन् ।’ जंगे पिल्लर ३४७ आसपासको क्षेत्रमा कुनै किसिमको काम नगर्ने लिखित सहमतिविपरीत भारतीय पक्षले माटो थुपार्ने काम गरेको भन्दै गृह मन्त्रालयलाई जानकारी पठाएको प्रजिअ घिमिरेको भनाइ छ ।

अघिल्लो वर्ष दशगजा मिचेर सिमेन्टको बोरा राख्न थालेपछि बन्जाराहा क्षेत्रका नेपालीले विरोध गरेका थिए । त्यसबेला भारतीय पक्षबाट रातको समयमा काम हुने गरेको थियो । रौतहटको वाग्मती क्षेत्रदेखि पश्चिम ३२ किलोमिटर सीमाक्षेत्र पर्छ । भारतले झन्डै २२ किलोमिटरसम्म २५ फिट अग्लो बाँध निर्माण गरेपछि यो जिल्ला बर्सेनि डुबानको चपेटामा पर्दै आएको छ ।

गएको मार्च २० मा भएको सीमा सुरक्षा बैठकमा भारतीय प्रशासन, सुरक्षा अधिकारी सहितको टोलीले बाँधमा कुनै पनि गतिविधि नगर्ने र संरचना नबनाउने लिखित सहमति गरेका थिए । ‘भारतीय समकक्षीहरुबाट त्यसको पालना भएन,’ प्रजिअ घिमिरले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार