समाचार लेख्नै बिर्से कि !

कतिपय आँखाले देखेर गरिएको रिपोर्टिङमा समेत सूचना पर्याप्त भैरहेको हुदैन भने टेलिफोनबाट लिएको सूचना कति भरपर्दो हो भन्नेमै द्विविधा हुन्छ मलाई । यस्तो द्विविधामा थप जोखिम उठाएर समाचार लेख्नु भन्दा नलेख्नु नै बेस लाग्छ ।

महिला खबरकी सम्पादक लोग्शरी कुँवरले इन्बक्समा म्यासेज पठाउनुभो । ‘महिला खबरले महामारीको यो त्रासमा पनि फ्रन्ट लाइनमा रहेर काम गरिरहेका पत्रकार महिलाहरुको अनुभव लेख्ने जमर्को गर्दैछ, लौन तपाईको पनि आउनुप¥यो ।’ म निन्द्राबाट ब्युझिएझैं झसंग भए । पहिलो कुरा बन्दाबन्दी (लकडाउन) शुरु भएपछि म कहिल्यै पनि ‘फ्रन्टलाइन’मा रहेर काम गरेको छैन । दोस्रो सामान्य अवस्थामासमेत ‘ब्याकलाइन’मा रहेर गर्दै आएको काम पनि लकडाउनले ठप्प भएको छ ।

 

आफूसित साट्नयोग्य अनुभव नै छैन । मैले उहाँको अनुरोध अस्विकार गर्दै तत्कालै रिप्लाइहाले, ‘म त शून्य भएर बसेको छु, साट्ने खालको कामवाला अनुभव लै छैन । बरु लकडाउनले डिप्रेसन होला भन्ने पीर छ ।’ उहाँले भन्नुभो, ‘किन ? जागिर छैन र ?’ मैले भनें, ‘जागिर त छ, इस्यूको भेउ पाउनै छाँडे,।’ उहाँ हाँस्नुभो । म यति गम्भीर भएर आफ्नो कुरा शेयर गर्दै थिए कि उकुसमुकुसको ठूलो भारी बिसाउँदैथे । तर उहाँलाई सामान्य लागिरहेको झैं लाग्यो ।

 

हुन पनि लकडाउन यताको मेरो दैनिकी नै यस्तै छ । उपलब्धिविहीन । घरिघरि सम्झदा आफैसित निराशा जाग्छ । सधैं कोलाहल र व्यस्त हुने काठमाडौं लकडाउनले शान्त छ । एकान्तबास र दैनिकीको सिमितताले मन भने अशान्त छ । अरुले पढ्दा पनि ‘छ्या कस्तो अल्से’ भनिदिने हुन् कि भनेर यो अत्यास लाग्दो दैनिकीलाई आफ्नै ब्लगमा समेत लेखेर हाल्ने आँट गरेकी थिइन । महिला खबरको लागि कसरी लेखुँ ? मैले नलेख्ने भनें । तर उहाँको प्रस्ताव उपर मेरो जोर चलेन ।

 

उही पुरानै दैनिकीको प्रसंग जोड्न चाहान्छु । विहान उठेपछि दिनभरीको सेड्युअल बन्थ्यो । धेरै काम भ्याउनु छ भने डायरी अथवा मोबाइलको नोटमा टिपोट गर्थें । दिनभरी सेड्युअल वरिपरि हुन्थे । जब लकडाउन शुरु भयो । दैनिकी एकान्तबासमा सिमित भयो ।

 

शुरुमा कोरोना महामारीसंग जुध्न लकडाउनको पूर्ण पालना गर्नुपर्छ भन्ने मानसिकता बनेकाले बाहिर निस्कने आँट गरिन । दिन, हप्ता हुदै अब त दुई महिना हुनै लाग्यो, एकान्तबास पनि । सरकारले लकडाउन घोषणा गर्नु अगावै मेरो भने एकान्तबास शुरु भैसकेको थियो ।

मेरो बानी कस्तो छ भने फिल्डमा नगई समाचार लेख्नै सक्दिन । लकडाउनमा फिल्ड पुगेर समाचार लेख्न सम्भव छैन । स्वयम् आफ्नै सुरक्षाका लागि भए पनि बाहिर फिल्डमा जानु जोखिम छ । फिल्ड पुग्न नसक्ने भएपछि केही स्रोतले दिएका सूचनालाई आधार बनाएर एकदुई औपचारिक समाचार लेखें । जुन सबैभन्दा झुर पत्रकारिता लाग्छ मलाई । अचेल धेरैदिन भयो औपचारिक समाचार लेखेको छैन । कति समाचार ब्युरो चिफसंग पिच गरिसकेर लेख्न थाल्दाथाल्दै छोडिदिएँ । शुरुमा कोरोना महामारीको मात्रै डर थियो । ज्यान बचेँ बाँचुन्जेल जति समाचार लेख्न सकिन्छ भन्ने लाग्थ्यो । जब फिल्ड रिपोर्टिङ नै बन्द भयो, एकदिन, दुईदिन भन्दा भन्दै लेख्ने बानी छुट्यो । सिर्जनशिलता मर्न कतिबेर नलाग्ने रहेछ । अब त समाचार लेख्नै पो बिर्से कि ! भन्ने ठूलो डर थपिएको छ ।

 

यो बेला शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा भर्चुअल अभ्यासले व्यापकता पाएको छ । म पनि एकदुई भर्चुअल प्रेसमिटमा सहभागी भए । प्रेसमिटका लागि धुलोमैलो, जाम सहँदै प्रेसमिट स्थल धाउनुपर्ने बाध्यता त रहेन । लकडाउनको बहाना बनाएर समाचार स्रोतहरुसित डकुमेन्ट माग्न पनि सजिलो भयो । पहिले डकुमेन्ट माग्दा कार्यालय नै आउनुस् भन्ने स्रोतहरु अहिले इमेल गर्न तयार छन् । डकुमेन्टकै लागि कार्यालय धाउनुपर्ने बाध्यता पनि टरेको छ लकडाउनले गर्दा । तर उनीहरुले आफ्नो अनुकुलका डकुमेन्टहरु मात्रै पठाउने अर्को चुनौती थपिएको छ । जसले गर्दा समाचार बनाइहाल्न सकिदैन ।

 

आँखाले देखिने र भर्चुअल भेटिने सूचनामा निकै फरक छन् । सूचनाको विश्वसनियतादेखि प्रस्तुतिसम्म फरक पर्छ । हामीकहाँ (अघिपछि र यो बेला अझ बढी) टेलिफोन पत्रकारिता खुब चलेको छ । टेलिफोन वार्तालाई आधार मान्दा कतिपय रिपोर्टिङहरु चिप्लिने गरेका थुप्रै उदाहरणहरु छन् । त्यसैले फिल्ड रिपोर्टिङ पत्रकारितामा त्यो कडि हो, न स्रोतले छलकपट गर्न सक्छ, न त पत्रकारले विषयबस्तु प्रस्तुतिमा शंका गर्ने ठाउँ रहन्छ । मलाई टेलिफोन रिपोर्टिङ झन्झटिलो नै लाग्छ । कतिपय आँखाले देखेर गरिएको रिपोर्टिङ समेत पर्याप्त सूचना भैरहेको हुदैन भने टेलिफोनबाट लिएको सूचना कति भरपर्दो हो भन्नेमै द्विविधा हुन्छ मलाई । यस्तो द्विविधामा थप जोखिम उठाएर समाचार लेख्नु भन्दा नलेख्नु नै बेस लाग्छ । म हप्तादिन उकारीओराली गर्दै स्थलगत रिपोर्टिङसित जति ‘इन्जोय’ गर्छु, टेलिफोन र भर्चुअल रिपोर्टिङसित इन्जोय गर्नै सक्दिन ।

 

सिनियर पत्रकारहरुसित फोनमा कुरा हुन्छ । कतिले समय नै यस्तै छ चिन्ता नगर, लकडाउन खुलेपछि सब ठिक भैहाल्छ, पुरानै लयमा फर्कनुपर्छ, भन्नुहुन्छ । ढाडस दिनुहुन्छ । कतिले ओपन सोर्सवाला समाचार लेख भन्नुहुन्छ । तै पनि मलाई लेख्ने मुड हुदैन । कतिलाई आफ्नो पीडा अलि बढि नै भनिहाल्दो रहेछु । ‘डिप्रेसन शुरु भैसकेजस्तो छ’ भन्नुहुन्छ, डिप्रेसन शब्द सुन्दा फेरि अर्को तनाव शुरु हुन्छ ।

 

अरुबेला दिनभर फिल्ड रिपोर्टिङमा हुन्थे । साँझ कार्यालयमा फर्केर सहकर्मीहरुसंगै समाचार लेख्न बस्थे । प्रायजसो राती साढे नौ बजे कोठा आइपुग्थे । दिनभरको थकानले शरीर शिथिल भएको हुन्थ्यो । कोठा पुग्नेबित्तिकै ओछ्यानमा के पल्टिएको हुन्थे, एकैचोटी भोलीपल्ट बिहान ब्यूँझिन्थे । भोक र थकाइको परिपूर्ति गथ्र्यो निन्द्राले । यस्तो मलाई मात्रै होइन । सबैजसो पत्रकारहरुको दैनिकी हो यो ।

 

लाग्थ्यो यो दैनिकीलाई सरल बनाउन पाए नि हुने ! अलिक दिन फुर्सद मिले नि हुने ! लकडाउनले हतारहतार रिपोर्टिङ जाऊ, कार्यालय पुग, अबेर राती कोठा फर्कको दैनिकी त फेरियो, तर फरक परिस्थितीमा । फुर्सद भए पनि उकुसमुकुस मनस्थितीले दैनिकी झन जटिल बनेको छ । मलाई एकान्त खुब मन पर्छ । तर आफूले चाहेको एकान्त र परिबन्धभित्रको एकान्त निकै फरक हुने रहेछ ।

 

यद्यपि आफूलाई बलियो बनाउन खोज्छु, सारा संसार महामारीसंग जुधिरहेको छ । जताततै लकडाउन छ । यो मेरो मात्रै समस्या होइन, आम मानिसको समस्या हो भनेर सामान्य बन्न खोज्छु । मन न हो जति फुर्सद भयो उति खेल्छ । म प्रायजसो सामाजिक सञ्जालहरुमा आबद्ध छु । तर च्याट गर्न, भित्ताहरुमा आउने स्ट्याटसहरुमा रिएक्ट गर्न भने खासै रुचाउँदिन । पछिल्लो समय सामाजिक सञ्जालहरु कोरोनामय भएका छन्, यसले गर्दा सामाजिक सञ्जालका होमपेज हत्तपत्त खोल्दिन । समाचारहरु पनि हेर्न छाडिसकेको छु ।

 

बरु आफ्नो ब्लग पल्टाउँछु । आफ्नै युट्युब च्यानल खोल्छु । पुराना केही आलेखहरुको अर्काइभ छ मेरो ब्लगमा । घुमफिर र रमाइला पलका आलेखहरु पल्टाएर हेर्छु, तस्बिरहरु हेर्छु, युट्युबका भिडियोहरु हेर्छु । विगत फर्केर हेर्दा यति रमाइला दिनहरु बिताउन पाएकी रहेछु भनेर रोमाञ्चित हुन्छु । अक्सर समय ब्लगका अर्काभइ र आफ्नै युट्युब च्यानलका भिडियोमा बित्छ । त्यसैले हामीले जीवनका यस्ता रमाइला पलहरुलाई कहिकतै संगालेर राखौं, भविष्यमा पीडादायी क्षणमा फर्केर हेर्दा पनि मह्लमको काम गरिदेओस् । मचाहिँ यो कोरोना महामारी र लकडाउनलाई भविष्यमा कहिल्यै नसम्झनेगरी बिर्सन चाहान्छु ।

 

(राई कान्तिपुर दैनिकका लागि काठमाडौमा सहसम्पादक संवाददाता छिन् । उनी खासगरी खोजमूलक समाचार तथा फिचर लेख्छिन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार