ब्रिटानिय पानीजहाज

जिन्दगी भरी पलाएका दिलचश्पी रहरहरु पुरा गर्न सबैभन्दा उत्तम उपाय पानीजहाज नै हो, भन्ने कुरो हामीले पुर्ववर्ती पानीजहाजहरुको यात्रा गरेर अनुभव गरी सकेको थियौ । पानीजहाज यात्रामा छँदा हरेक बन्दरगाहहरुमा आबिभार्व एउटा सुनौला बिहानी सँग सँगै अर्को एउटा नयाँ सहरको पनि जन्म भै रहेको हुन्थ्यो । तिनै प्रसूत नयाँ सहरको नयाँ प्रेम, माया र स्नेह सँग सँगै हरेक बिहानी हामी पनि स्फूर्तिको साथ ब्युँझी रहेको हुन्थ्यौ ।

 

 

तारा सँग स्क्यानडेनिभियन मुलुकहरु मध्ये डेनमार्क, फिनल्याण्ड, स्वेडेन र नर्बेको यात्रा पहिले नै गरि सकेका थियौ । तर आईसल्याण्डबाट देखिने उत्तरी बत्ति ‘नर्दन लाइट’ हेर्ने समय चाँही ठ्याक्कै मिलाई हाल्न सकेको थिएनौ । त्यो एकदम सहि समयमा हुन जरुरी थियो । हामीले भ्रमण गरेका बिभिन्न ठाउँहरु मध्ये ति माथि उल्लेख गरिएका राष्ट्रहरु अति सुन्दर लागि रहेको थियो । तै पनि आईसल्याण्ड लाई छाडेर किन किन नर्वे दोहो¥याएर जान मन लागेको थियो ।

 

दोश्रो चोटी नर्वे जाने निधो गरेपछि ब्रिटानिय क्रुज बाट ‘नर्वेजियन फियोर्ड’ को मैले एक हप्ते यात्रा आरक्षण गरे । नर्वेको प्राकृतिक रङमञ्चिय दृश्य बन जगँल, खोलानाला, झरना, डाँडा काँडा, ताल तलैया र हिमशिलाहरुको सुन्दर दृश्यबलोकन गर्न मन पराउने जो कोहीले त्यस यात्रालाई सम्भवत स्वर्गीय यात्रा ठान्दथे ।

 

तर त्यसको ठिक बिपरित खडेरीले बयस्क हुन नपाउदै जिउदै सुख्दै गरेका खजुरका रुखहरु र सूर्यको नमिठो तापले टलक्कै टल्केका मरुभुमिको बालुवाहरु संग मितेरि गाँस्न त्यसको छ महिना पछि हाम्रो एघारौ पानी जहाजको यात्रा ‘जेवेल अफ द सिज’ रोयल क्यारिबियन बाट पर्सियन खाँडी राष्ट्रहरुको दश दिने यात्रा पनि मैले अग्रिम आरक्षण गरि सकेको थिए ।

 

ग्रिनविच समय अनुसार बिहानको ठीक दश बजे हाम्रो सहयात्री क्रिस र सानु सँग ‘ओसन टर्मिनल’ साउथाम्पटनको मुखैमा भेट भयो । तारा र म बानबुरिबाट एक दिन अगाडि नै साउथाम्पटन आएर ‘लियोनार्डो राजकिय होटल’ मा बास बसेका थियौ । उहाँहरु ठिक त्यँही बेला अल्डरसटबाट आउदै गरेका थिए ।

‘होटलको समय कस्तो रह्यो ?’

हाम्रो सहयात्रीहरुले भेटने बितिक्कै हामीलाई सोधेका पहिलो जिज्ञासा थिए । रातभरी पोखिएको मुसलधारे बर्षाले गर्दा छानोमा भरेको सङ्गीतसँग सुत्न सकिएन भन्ने अशुभ समाचार बेखुशी हुदै उहाँहरुलाई सुनाए । गत रात बर्षिएको तिनै बेसरम मुतले बिहानी पख सम्म साउथाम्पटन सहरका बाटो घाटो बेस्सरी भिजाएको थियो । अनि हाम्पसायर जिल्लाको बिच बिचै भाग हुदै बहेर आउने ‘इटचन नदी’ साउथाम्पटान पानीको मुख सम्म नपुग्दै कालो र मैलो भएर त्यसबेला सम्म उर्लि रहेको थियो ।

 

हाम्रो भेटघाट भएपछि नजिकै रहेको कार पार्कमा आ–आफ्नो कार पार्क गरेर राख्यौ । र लुगाफाटाले टन्न भरिएको एक एक वटा रबरका बाकस कार पार्कको पेटी बाट गुडाउदै गुडाउदै बन्दरगाह तर्फ लाग्यौ । साउथाम्पटनमा अबस्थित त्यो बन्दरगाह बेलायती पानीजहाज ‘पि एन्ड ओ’ क्रुज कम्पनीको घरायसी बन्दरगाह थियो । हामीले त्यँही बन्दरगाहबाट पटक पटक अन्य कम्पनीका पानीजहाजहरु चढेका थियौ । तर ‘पि एन्ड ओ’ कै पानीजहाज बाट साउथाम्पटन कहिले पनि छाडेको थिएनौ ।

 

साउथाम्पटन सहरमा रातभरी पानी परेर तिरिरि घाम लाग्दै खुलेको बिहानीको निलो आकासमुनिको त्यो दिन १० जुन २०१९ को थियो । त्यति रमाईलो दिनमा ढल्किदै ढल्किदै कार पार्कको पेटि बाट हिडदै हिडदै बन्दरगाहको अध्यागमन भवन भित्र छि¥यौं । हामीले यात्रा गर्नै लागेको ३३० मिटर लामो ब्रिटानिय पानीजहाज लगभग डेढ सय बर्षको बेलायती पानी जहाजको इतिहासमा सबैभन्दा ठुलो एबम नयाँ थियो ।

 

हामी जस्तै ब्यस्त बेलायती जिन्दगी बाट भागेर एक हप्ता छुट्टि मनाउन जाने हासी खुशि यात्रुहरुले अध्यागमन खचाखच भरिएको थियो । त्यहाँ देखिएका धेरै जसो यात्रीहरु पेन्सन पाकेका बुढापाकाहरु थिए । किनभने बेलायती संस्कृति अनुसार पानीजहाज यात्रामा बढि नै नियम कानुन पालना गर्नु पर्ने भएकोले लैन छोकडाहरुको त्यति उपस्थिति रहदैन थियो । हल भित्र पसेपछि हामी बिस्तारै भिडको पछि पछि लाग्यौ । र केहि बेरमा बिजुलीबाट चल्ने स्वचालित भ¥याङ्गबाट तला माथी उक्लियौ ।

माथिलो तलामा पुग्ने बितिक्कै हाम्रो सिधै अगाडि लहरै राखिएको टेबलहरुमा पानी जहाजका स्वस्तिमान कर्मचारिहरु सँग भेट भयो । उनीहरुले हाम्रा टिकटहरु र आरक्षित गरेको कोठा नम्बरहरु दोहो¥याएर जाँच गरे । त्यसपछि पानीजहाजमा आफ्नो कोठा खोल्नको लागि आ–आफ्नो नाम भएको एक एक वटा चाबी कार्डहरु हामीलाई सुम्पि दिए ।

 

तिनै कार्डले कोठा खोल्न मात्र नभएर पानीजहाज भित्र भएको दश वटा रेस्टुरेन्टहरुमा खाना खान, दोकानमा लुगाफाटा र गहना खरिद गर्न र १३ वटा भट्टी पसलहरुमा पेय पदार्थ किन्न पनि सहजै सकिन्थ्यो । जतिबेला पायो त्यतिबेला सहज तरिकाले तिर्न मिल्ने प्लास्टिक कार्डमा कति खर्च भयो भनेर सुर्ता गरि रहन पनि पर्दैनथ्यो । एक्कै चोटी पानीजहाज छाडने बेलामा जमिनमा भन्दा दोब्बर महँगो माल समान खरिदको एक मुष्ट हिसाब निस्कदा मात्रै टाउको फुलिएर आउने गर्दथ्यो ।

 

पानीजहाजका कार्मचारिहरुले कागजी काम सके पछि हाम्रा सुटकेसहरु उनीहरु सँग सँगै राखे । अनि हामीलाई एउटा ठुलो निलो कार्ड हाम्रो हातमा थमाई दिए । त्यसको साथ साथै ध्वनी प्रसारक यन्त्र बाट त्यस रङ्गको कार्डलाई उदघोषण नगरेसम्म कुर्सिमा आरामले बस्नोस भनेर उनीहरुले अनुरोध गरे ।

 

समयको प्रतिक्षा सहित मनभरी एक हप्ता यात्रामा गरिने रमाईलो क्षणहरुको कल्पना गर्दै गर्दै आरामदायी कुर्सिमा हामी थपक्कै बस्यौ । त्यतिबेलासम्म मानिसहरुको भिड बढेर मुनि तला सम्म पंक्तिमा उभिरहेको कुर्सिबाट नै देख्न सकिन्थे । त्यति धेरै मानिसहरुको हुल देखेपछि बिश्व भरि सेवा दिई रहेको ३ सय १८ वटा क्रुजहरुको बारेमा हामीले एक अर्कामा केही बेर कुरो गर्यौ । तिनै पानीजहाजहरुले पाँच लाख सैतिस हजार मानिसहरु बोकेर हरेक दिन धर्तीको एक ठाउँ देखी अर्को गन्तब्य सम्म पु¥याइरहेका हुन्थे ।

नेपाल कम्युनिस्ट पार्टीको सरकारले पनि तामझामको साथ पानीजहाज किन्ने कार्यालय खोलेको छ र अब निकट भबिष्यमा नै आफ्नो देशको झण्डा भएको पानीजहाजबाट यात्रा गर्न पाईनेछ भनेर ताराले धेरै खुशि प्रकट गर्दै हामी सबैको अगाडि मुख खोलिन ।

 

दुवै पट्टिको गाला दोब्रिएर कान कान सम्म पु¥याएर छाडेकी मुस्कान सहितको उनको आशाबादी कुरो सुनेर मलाई मनमनै हल्का पिर प¥यो । त्यो ब्रिटानिय क्रुजको निर्माण गर्न ४७३ मिलियन पाउण्ड लागेको थियो । अझै पोहोर साल देखी ६,६०० यात्रुहरु बोक्न सक्ने क्षमता भएको बिश्वको सबैभन्दा ठुलो रोयल क्यारेबियनको ‘सिम्फोनि अफ द सिज’ सेवाको लागि हाजिर भएको थियो । जस्लाई निर्माण गर्न १ बिलियन ३५ मिलियन डलर लागेको थियो । त्यो स्टर्लिङ्ग पाउण्ड वा अमेरिकन डलर नेपालीमा रुपान्तरण गर्दा खै कति हुने होला भनेर बिचरी बुईपामा हुर्केकी तारालाई के थाहा होला ?

हरियो, कालो र बैजनी रङ्ग पछाडि निलो कार्ड बोक्ने मानिसहरुको पालो आयो । ध्वनि प्रसारक यन्त्र बाट निलो रङ्गको कार्ड बोक्ने मानिसहरु अध्यागमन छेउमा जानु होला भन्ने उदघोष हुने बितिक्कै हामी अरु भन्दा अगाडि अध्यागमन तर्फ लाग्यौ । सुरक्षा ढोकामा हाते झोलाहरुको साथ साथै हाम्रा शरिरहरु जाँचिए त्यसपछि हिडदै हिडदै पानीजहाज भित्र पस्ने सानो पुल ‘ग्याङ्ग वे’ लाई पार गर्दै भित्र पस्यौ ।

पानीजहाज भित्र पस्ने बितिक्कै फिलिपिनो महिला कर्मचारीहरुले हामीलाई पानीजहाजमा स्वागत छ र कृपया १६ औं तलामा जानु होला भन्ने निर्देशन दिए । हाम्रा कोठाहरु क्रमश ः जि ७०८ र जि ७१० आठौ तलामा रहेका थिए । तर त्यतिबेला सम्म कोष्ठ परिचरहरुले कोठाको साफ सफाई सकेका थिएनन् । त्यसैले कर्मचारीहरुको भनाई लाई शिरोपर गर्दै हामी सिधै बिजुलीको लिफ्ट चढेर १६ औं तलामा पुग्यौ ।

 

लिफ्ट बाट निस्कने बितिक्कै टोस्टरमा डढदै गरेको रोटिका मगमग बासना सिधै आएर हाम्रो थेप्चे नाकैमा ठोकियो । त्यति नजिकै रोटिको बासना सुँघेर, ‘बल्ल भोक लाग्यो,’ ताराले हत्तर पत्तर बोलिन । हामी त्यति बेला ‘होरिजन’ बफेट रेस्टुरेन्टको ढोका बाहिर पुगि सकेको थियौ । जहाँ हरेक बिहानको छ बजे देखि भोलि बिहानको दुई बजे सम्म टनका टन खानाहरु सजाई रहेका हुन्थे ।

‘पानीजहाज यात्राको एउटा अशल पक्ष भनेको खानेकुरो पनि हो ।’

एकदमै थोरै बोल्ने क्रिसले धेरै लामो समय पछाडि छाडेको त्यो बाक्याशं बेकनको गन्ध सँगै मिसिएर मेरो कान सम्म आई पुगेको थियो । म उसको भनाईमा शत प्रतिशत सहमत हुदै ढोका भित्र छिरी सकेको थिए । जहाँ हाम्रो आँखाले देखिन्जेल सम्म भेगन, शाकाहारी र मांसाहारी तिनै प्रकारमा अंग्रजी, भारतीय, चाईनिज, टर्किस, जापानिज, मेक्सिकन र भुमध्यसागरीय खानाहरु सजाएर राखिएका देख्न सकिन्थे । गोमन सर्पको जिब्रो झै घरी घरी बाहिर निस्की रहने ताराको जिब्रो फ्रेन्च फ्राइज, बर्गर, पिज्जा, पानकेक, अमलेट, नुडल्स र सलाद बाडने छुट्टा छुट्टै स्टेसनहरुमा तारा सँग सँगै नै डुलि रह्यो ।

 

‘खै तपाईहरु के के लिनु हुन्छ, कुन्नि ?’

भन्दै म चाँही नुडल्स स्टेसन तिर लागे । एउटा खालि थाल टिपेर बिभिन्न प्रकारका सामुन्द्रिक माछाहरुको चुलि बनाएर नुडल्स बारमा केहि बेर खडा भै रहे । मेरो पालो आएपछि ऊ आफु चाँही खानै नपाएर मर्न लागेका जस्ता निमछुरो चाईनिज भान्से भिक्टर गोउले भरर बलि रहेको आगोमा तातेको कराहिमा दुई चार चोटि डाडुले चुटेर मेरो लागि नुडल्स र माछाको मिश्रित भोजन तयार गरि दियो । भान्सेले तयार पारेको तातो तातो नुडल्स दाहिने हातमा बोकेर रेस्टुरेन्ट बाट बिस्तारै हिडदै बाहिर निस्के । केहि बेरमा तारा, क्रिस र सानु पनि खाना बोकेर साउथाम्पटनको दृश्यबलोकन गर्दै गर्दै खान म बसि रहेको ठाउँ ‘लाईडो डेक’ मा आई पुगे ।

कुर्सिमा आरामले बसेर खाना खान लाग्दा दुर दृष्टिमा देखिने पोर्टसमाउथ हारबरबाट आएको मन्द मन्द बतासले हाम्रो गालामा यदाकदा छोई रहेको जस्तो आभास हुन्थ्यो । दिउसोको त्यति सफा मौसममा ईटचन नदी र टेस्त नदीको संगममा अबस्थित ओसन टर्मिनलको पानी माथि आकास तिर छाती फर्काएर उतानो परि रहेको ब्रिटानिय क्रुजको १६ औं तलामा मध्यान्हको खाना खादै खादै बेलायती आमाको काखैमा रहेको सेतो टापु ‘आईल अफ ह्वाईट’ को सुन्दर दृश्य नियाली रहेका थियौ ।

 

ब्यस्त भएर टेबलमा लन्च खाने क्रममा कसैको मुखबाट एक्कै शब्द पनि फुत्किन सकेका थिएनन् । अचानक घुम्ति पेय पदार्थको सेवा प्रदान गर्ने उत्तर पुर्वी भारतकी युबती मोनिकाले एक गिलास बियर र तीन गिलास सेतो वाईन लिएर हाम्रो टेबलमा हाजिरी जनाईन । कँगारुको जस्तै उनको एउटा खुट्टा बाङ्गो बनाएर प्रचलित राजकिय सम्मान गरे जस्तै नक्कल पारिन र हामीले मागेको पेय पदार्थ टेबलमा थपक थपक राखी दिईन । मैले दिई छाडेकी धन्यबाद सहित उनी केही छिनमा बिलय भईन ।

 

खाना खाई सकेपछि इन्डोनेशियन युबती सेलिनाले तीन वटा कफि र मेरो लागि एउटा ‘अर्ल ग्रे’ चिया ल्याएर टेबलमा उपस्थित जनाईन । केहि बेरमा दुईजना फिलिपिनो युबतीहरुले तागालोक भाषामा गीत गाउदै गाउदै किस्तिमा थपनी केकहरु डुलाई हिडेको देखेर तारा र सानुले मौकाको फाईदा उठाउदै फेरि केक बजाए । रमाईलो मौसम र साउथाम्पटनको सुन्दर दृश्यले हामीलाई त्यस टेबलमा धेरै लामो समय सम्म अलमल्याई रह्यो ।

 

समय दिउसोको ठिक चार बज्यो । पानीजहाजका कप्तान जोन म्याक्नलिले ‘ब्रिज’ बाट आकास नै चर्काउला झै गरेर तीन चोटी ठुलो ठुलो हर्न बजायो । त्यसपछि साउथाम्पटन बिदाई गर्ने क्रममा ध्वनी प्रसारक यन्त्रबाट मिठो अंग्रजी गीत ‘गुडबाई ईङ्लिस रोज’ बज्न थाल्यो ।

अंग्रजी गीत सँग सँगै धेरै जसो यात्रीहरु जहाजको बार्दलिमा उभिएर भुईमा कमिला जत्रा देखिने मानिसहरु सँग हात हल्लाएर बिदाई गर्न थाले । ४ हजार ३ सय २० जना यात्रु र १ हजार ३ सय ९८ कर्मचारीको साथमा भिमकाया पानीजहाजले बन्दरगाह छोडदा उदाश भावमा ब्रिटानियको छोटो ईतिहास मेरो मानस पटलमा नाँची रह्यो ।

 

प्रत्येक घण्टा तीन हजार ग्यालन तेल खर्च हुने ब्रिटानिय क्रुजको निर्माण गर्न सन् २०११ मा ट्रिस्टे, इटालीको फिनकान्टेरी कम्पनीलाई आदेश दिईएको थियो । जस्ले लगभग चार बर्ष पछि २६ फेब्रअरी २०१५ मात्रै क्रुजलाई पुर्णता दिन सक्यो । फिनकान्टेरीमा बिस हजार श्रमिकहरुले काम गर्दथे । त्यसैले फिनकान्टेरी युरोपको सबैभन्दा ठुलो पानीजहाज निर्माण कम्पनी थियो ।

 

१ सय ४३ हजार टन कुल तौल क्षमता भएको १८ तले ब्रिटानिय क्रुजले बिस्तारै साउथाम्पटन पानीलाई छाड्यो र अंग्रेजी जलपथ ‘च्यानल’ तर्फ अघि बढि रह्यो । दिनहुँ ३ हजार अण्डा र १५ हजार कफि पाक्ने पानीको पाँच तारे होटल ब्रिटानियले बिस्तारै सेतो टापुलाई बिदा गर्दै गर्दै अगाडि बढन थाल्यो ।

अंग्रजी च्यानल पुगेर ‘२२ नट्स’ अथवा चालिस किलो मिटर प्रतिघण्टाको बेगमा पानीजहाजले गति लिन थाल्यो । लगभग ३६ घण्टाको जलयात्रा पश्चात स्टाभाङ्गर नर्वेमा पुग्ने पानीजहाजको योजना थियो । तर सेतो टापु ‘आईल अफ ह्वाईट’ लाई दाहिने पारेर बिदाई गर्दै गर्दा ‘ब्रिटानिय क्रुज’ भनेर १० मार्च २०१५ मा नामाकरण गर्ने बेलायतको हजुर महारानी एलिजाबेथ दोश्रोलाई अनुग्रहित हुदै मैले त्यतिबेला सम्झि रहे ।

अक्सफोर्ड, बेलायत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार