भारतीय बिज्ञान संस्थान, बैङ्लोरबाट चार बर्षे अध्ययन पुरा गरेर म काठमाण्डौ फर्कदै थिए । दिउँसोको ठीक चार बजे जेट एयरले त्रिभुवन बिमानस्थलमा अवतरण गर्दै गर्दा म अति हर्षित मुद्रामा थिए । मेरो स्वागतको लागि बाबु बिमानस्थलमा आउनु भएको थियो । त्यसैले हतार हतार बिमानबाट निस्केर उहाँसँग भेट गरे । तर हाम्रो रमाईलो भेटघाटले उहाँको मुहारमा त्यति धेरै खुशीको लहरहरु देखा परेका थिएनन् ।
बाबुको मुख्य पेशा राजनीति थियो । त्यसैले उहाँ पटक पटक मन्त्री बन्नु भएको थियो । बर्णाश्रम ब्यबस्था भएको मुलुकमा साम्यबादको चुचुरो पुग्न सकिन्न भन्ने उहाँलाई राम्रै हेक्का थियो । तै पनि झुटको खेती गरेर लाटो देशको गाडो तन्नेरी बन्दै घरी घरी शक्तिशाली मन्त्री भै रहनु भएको नेपाली इतिहास थियो ।
उहाँले राजनीतिक अनुभव मात्र बटुल्न भएको थिएन । पुतली सडक, बानेश्वर, महाराजगञ्ज र भैसेपार्टीमा गरेर चार वटा घरहरु पनि खरिद गर्नु भएको थियो । अझै मोरङ, सुनसरी र झापामा प्रशस्तै जग्घा जमिन पनि किन्नु भएको थियो । तर सावक चरीको बच्चा जस्तो तरल नेपाली राजनीतिले भबिष्यमा पर्न सक्ने असम्भाब्यतालाई मध्यनजर गर्दै काठमाण्डौको सबै घरहरु मम्मी, दाजु र मेरो नाममा दर्ता गरिदिनु भएको थियो ।
हाम्रो पुख्र्याली घर पुर्वी पहाडको खार्पा भन्ने ठाउँमा पर्दथ्यो । म खार्पा कहिलै पुगेको छैन, यद्यपी आफ्नो पुख्यौली घरको बिषयमा प्रशस्त सुनेकी थिए । तत्कालिन समयमा हामी बिर्तामा मालिक र वरिपरीका बस्तीहरु बिर्ताका रैती थिए । बिर्ताको मालिक भएकाले भारत, बेलायत वा अमेरिकामा पढनुपर्छ भन्ने ज्ञान जिज्यु बराज्युबाट बाबुले चाल पाउनु भएको थियो । त्यही भएर बाबुले मलाई भारत र दाजुलाई बेलायत पढन पठाउनु भएको थियो ।
दाजुले सबैभन्दा पहिले इटन कलेजमा अध्ययन गर्नु भएको थियो । जहाँ बेलायत लगायत संसार भरीका राजपरिवारका सदस्यहरु र कुलिन बर्गका सन्ततीहरुले मात्रै पढने अवसर पाउदथे । त्यहाँ पढेका वीस जना बिद्यार्थीहरुले बेलायती प्रधानमन्त्रीको जागिर खाई सकेका इतिहास साक्षी थियो । बाबुले पनि निकट भबिष्यमा नेपालको प्रधानमन्त्री बनाउने उद्देश्यले दाजुलाई इटन कलेजमा पढाउनु भएको थियो ।
इटनको दुई बर्ष पछि दाजु अक्सफोर्ड युनिभर्सिटीमा जानु भयो । ‘बेलअल कलेज’ अक्सफोर्डमा राजनीतिशास्त्र, दर्शन शास्त्र र अर्थ शास्त्र ‘पिपिई’ पढनु थाल्नुभयो ।
दाजु पहिलो बर्षको बिद्यार्थी “फ्रेसर” हुँदा हाम्रो परिवारमा ठुलो घटना घट्यो । नौबिसेको ओरालोमा बेगले झरेको ट्रकले किचेर मम्मीले यात्रा गरिरहनु भएको नयाँ मर्सिडिजलाई एक पोका बनाई दियो । मेरी ममतामयी माता र चालकको घटनास्थलमा नै मृत्यु भयो ।
त्यस दुर्घटनालाई नेपाली छापाहरुले “पाप धुरी बाट करायो” भन्ने समाचारका हेडलाईन बनाई दिए । त्यस्तो बिषम परिस्थितिमा नेपाली अखबरहरुले बाबुलाई भ्रष्टाचारीको मुख्य नाइकेको बिल्ला भिराई दिएको थियो । जुन घटनाले पारेको मानसिक घात प्रतिघातले दाजुले परिवारसंग सधैको लागि सम्पर्कबिच्छेद गर्नुभयो ।
म बैङ्लोरबाट फिरेको एक हप्ता भै सकेको थियो । बाबु हरेक दिन जसो राजनीतिक भेटघाटमा ब्यस्त हुनुहुन्थ्यो । घरमा मम्मी नभएपछि मलाई घर घर जस्तो नभएर मसानघाट जस्तो लाग्न थालेको थियो । अझै बिहान बेलुकी फोनमा बोली रहने दाजुले सम्पर्क बिच्छेद गर्नु भएपछि झन घरको बयान गरेर साध्यै थिएन ।
फोहोर, धुलो र धुवाँको कोलाहलमय बानेश्वरको एक बेलुकी बाबुले मलाई बैठक कोठामा बोलाउन भयो ।
“छोरी ! तिम्रो जिन्दगीको सबै काम थाती राखेर दाजु खोज्न बेलायत जाउ ?”
अचानक बाबुको त्यस्तो कुरो सुनेपछि म किम कर्तब्यमी मुढ बने । जुन काम मेरो लागि त्यति सहज थिएन, किनभने म कहिले पनि बेलायत पुगेकी छैन । लण्डन, बर्मिङघाम, म्यानचेस्टर र लिभरपुल जस्तो त्यति ठुलो सहरहरुमा मेरो दाजुलाई कहाँ र कसरी खोज्ने होला भनेर मन भित्र अनेकौ शङ्का उपशङ्का उब्जीरह्यो । तर श्रीमती र छोरोको न्यानो मायाबाट बञ्चित हुनु भएको बाबुको बिचारलाई मैले सहजै नकार्न सक्दिन थिए । त्यसैले ‘बाबु ! हस, म बेलायत जानको लागि तयार छु,’ भन्दै बैठक कोठाबाट निस्के ।
१७ जुलाई २०१५ को दिन म त्रिभुवन बिमानस्थल तर्फ लागे । राष्ट्रको उपप्रधान मन्त्रीको छोरी भएकी नाताले बिमानस्थलको बिशिष्ट कक्षाको सुबिधा प्रयोग गर्न सौभाग्य पाएकी थिए । त्यसदिन पनि सदा झै बरिष्ठ भिआईपी बनेर अध्यागमनको कर्मचारीहरुलाई छिचोल्दै सरासर माथिल्लो तलामा पुगे । बाबु शक्तिमा आउनु भए देखी मैले बिमानमा ‘मितब्ययी कक्षा’ पनि चलाउन छाडी सकेकी थिए । त्यसैले त्यसदिन पनि ‘इमराटस एयर’ को फस्ट क्लासबाट दुबई हुदै लण्डन जादै थिए ।
हृदयभरी पीरको बोझ बोकेकी भएपनि बिस्तारै हिडदै गए र बिमान भित्र पसे । अनि बिमानमा बसिञ्जेल ‘डबल एस’ अथवा सुशि र सेम्पेन पिई रहे, किनभने केही बर्ष यता ‘मोयट एण्ड चण्डन’ संग मैले अगाढ प्रेम गाँसेको थिए । दुबईबाट करिब सात घण्टाको यात्रापछि बिमान हिथ्रो बिमानस्थलमा अबतरण भयो । बिमान अबतरण हुने बितिक्कै परिचारिकाले स्थानिय समय बिहानको सात बजेको ध्वनीप्रसारक यन्त्रबाट जानकारी गराईन ।
अध्यागमनबाट बाहिर निस्केपछि एउटा ट्याक्सी समातेर सिधै डोरचेस्टर तर्फ लागे । बु्रनाईका सुल्तानको प्रतिष्ठित ‘होटल डोरचेस्टर’ मा बस्ने सपना धेरै अगाडी देखी बुनेकी थिए । जुन सपना त्यस दिन बिपनामा परिणत भयो । डोरचेस्टर, लण्डनको दुई दिन बसाईपछि मार्लिबर्न, रेल स्टेसन बाट अक्सफोर्ड तर्फ लागे ।
‘द वल्र्ड बैकं होटल’ अक्सफोर्ड केहि दिनको लागि मेरो घर भयो ।
सोमबार बिहानको दश बजे युनिभर्ससिटीको बेलअल कलेजमा पुगेकी थिए । आगन्तुक कक्षामा पुगेर त्यहाँ अध्ययनरत मेरो दाजु दुई बर्ष यता पारिवारीक सम्पर्कमा रहेको छैन भनेर सुचना दिए । रिसेप्सनमा कार्यरत मार्था डेभिस मेरो कुरो सुनेर छक्क परिन । दाजुको अबस्था ठिक्कै होला भनेर उनले भगवानसंग प्रार्थना गरिन । यदि अहिलेसम्म ठिक नभएको भए नराम्रो समाचार सुनिन्थ्यो होला भन्दा मेरा आँखाहरु धमिला धमिला भए । रुमाल निकालेर एक छिन आँखा छोपे । केही बेरपछि दाजुलाई पढाउने प्राध्यापक सर जुलियन मर्फीसँग भोली बिहानको दश बजे भेटघाट गर्ने समयको उनले बन्दोबस्त मिलाई दिईन ।
मार्थासँग बिदा भएपछि सिधै कलेजबाट निस्केर ‘अक्सफोर्ड इन्भेस्टिगेटर्स’ को कार्यालय हाई स्ट्रिटतर्फ लागे । मैले दाजुको एउटा तस्बिर साथैमा बोकी रहेको थिए । तिनै तस्विर देखाएर अक्सफोर्ड इनभेस्टिगेटर्सका नीजि जासुस रबर्ट कुपरसंग केही कुरो बुझ्न थाले । तर रबर्टले मेरो पुरै अन्तर्बार्ता लिन सुरु गरे ।
नाम : शरद कुमार
पेशा : बिद्यार्थी
उमेर : २४ बर्ष
उचाई : १७० सेन्टिमिटर
बर्ण : गहुँ गोरो
भाषा : नेपाली र अङ्ग्रेजी
रबर्टले मेरो ब्यक्तिगत जिन्दगी र परिवारीक पृष्ठभुमिको बिषयमा पनि खुवै चासो लियो र पुर्ण बिबरण माग्यो । मैले भारतीय बिज्ञान संस्थान, बैङ्लोरबाट स्नातक गरेको हुँ । मेरो बाबु पटक पटक नेपालमा मन्त्री भएर राष्ट्रका सेवा गरेका छन्, भने । बाबु मन्त्री भनेको सुनेपछि उसको मुहार मेरो नयनबाट बिस्तारै हटायो, र केही बेर कोठाको पर्खालतिर क्वारक्वार्ति हेरी रह्यो । जसले गर्दा ऊ प्रति मेरो हल्का शंका उत्पन्न भयो ।
“रबर्ट ! के तपाईले मेरो दाजु कहाँ छन् भनेर पत्ता लगाउन सक्नु हुन्छ ?” बिनम्रतापुर्वक सोधे ।
“थाहा छैन, तै पनि म शत प्रतिशत कोशिस गर्नेछु ।” अनुहार बिस्तारै म तर्फ फर्कायो । त्यति बोली सकेर केही बेर चुपचाप बस्यो । अनि लामो सास तान्यो र फेरी बोल्न थाल्यो ।
“के तिम्रो बाबुले जलश्रोत मन्त्री पनि गर्नु भएको थियो ?”
“हो हो ! तर किन ?” आश्चर्यचकित हुदै प्रति प्रश्न गरे ।
“किनभने जलश्रोत मन्त्रालयमा असाध्यै भ्रष्टाचार हुने कुरो मैले नेपाल पुग्दा सुनेको थिए ।”
हुनतः दुई दशक यता मेलम्चीको पानी काठमाण्डौमा ल्याउने प्रयत्न जारी थियो । मेलम्चीको नाममा हुने भ्रष्टाचारको बिषयमा रबर्टलाई पनि राम्रो ज्ञान रहेछ । त्यसैले म केहीबेर चुपचाप बसे । त्यसपछि राष्ट्रको बाँकी बेइज्जत सुन्न मलाई त्यति उचित लागेन । उसलाई फेरी भेटने बाचा गर्दै म त्यहाँबाट बिदा मागेर हिडे । तर नेपालमा हुने भ्रष्टाचारको बिषयमा बेलायती जनतालाई सम्म थाहा हुने रहेछ भनेर मेरो मन भित्र हल्का त्रास उत्पन्न भै रह्यो ।
भोली बिहान ठिक दश बजे प्राध्यापक सर जुलियन मर्फीसंग मेरो भेट भयो । उहाँले कुमार राम्रो बिद्यार्थी भएता पनि ‘पिपिई’ उसको लागि अलिक गाह्रो बिषय पर्यो । जसले गर्दा बीचैमा युनिभर्ससिटी छाडेर हिडेको कुरो उहाँले मलाई बताउनुभयो । तर दाजुले अक्सफोर्ड छाडन अगाडीको अन्तिम भेटमा लिभरपुलतिर जान्छु भनेको पनि सुनाउनुभयो ।
प्राध्यापक मर्फीलाई भेटेको भोली पल्ट मैले अक्सफोर्ड छाडे । बिहानको ११ बजे लिभरपुलको लाईम स्ट्रीट रेल स्टेशन पुगे । त्यति ठुलो सहरमा दाजुलाई कसरी फेला पर्ने होला भनेर मनभित्र अनेकौ कौतुहुलता र प्रश्नहरु रहीरहेका हुन्थे । दाजुसंग भेट हुन सकेन भने बाबुलाई के भन्ने होला ? त्यो प्रश्नले मेरो हृदयमा पारेको गाँठो घरिघरी बल्झदाँ सास फेर्न गाह्रो पर्दथ्यो ।
स्टेशनबाट निस्केर केही बेर यता उता हिडे । नजिकै रहेको हिल्टन लिभरपुलमा दुई दिनको लागि एउटा कोठा आरक्षण गरे । अनि दिनभरी सहरको अति नयाँ एबम प्रतिष्ठित ब्यापारिक क्षेत्र ‘एल वान’ को राम्रो नजर लगाए । बेलुकी पख बिटल्सका ‘नर्वेजियन वुड’ गीत गाउने पर्यटकहरु संगसंगै म्याथु स्ट्रीटको भट्टी पसल चाहरी रहे । अन्तमा ‘यु नेभर वाक एलोन’ गीत गाउने लिभरपुल फुटबल क्लबका अन्धोभक्त्तहरुसंग केही बेर मिसिएर जाँड पिएर समय खर्च गरे ।
अर्को दिन होटलमा ब्रेकफास्ट खादै थिए । अध्ययन गर्न आउनु भएको तर अहिले हराउनु भएको दाजुको खोजी गर्न हिडेको बेदना बेयरालाई सुनाए । उनले नजिकै रहेको ‘सेन्ट जोन मार्केट’ जाने सल्लाह दिईन । उनको सल्लाह बमोजिम त्यहाँ पुगे र केही बेर मार्केटको परिक्रमा गरे । माथिल्लो तलामा रहेको सौचालय प्रयोग गर्न जाँदा सौचालय सफा गर्ने मानिससंग मेरो हल्का परिचय भयो । उसको नाम मान्योल र बार्सोलोना, स्पेन बाट आएका रहेछन् । मैले झोलाबाट दाजुको फोटो निकालेर ‘यो मानिसलाई कतै देख्नु भयो कि ?’ भनेर उसलाई एक पटक सोधी हेरे ।
उसले फोटोलाई एक झलक हेर्यो, “कुमार रहेछ, ऊ पहिले यहाँ नजिकै फिलिप्स फलफुल पसलमा काम गर्दथ्यो ।”
उसको भनाई सुनेर म तरङ्गित भए । अचानक मेरो टाउको फुलिएर आयो । केही बेर टोलाएर उसको मुहार राम्ररी पढन थाले । “मेरो पछिपछि आउनोस,” उसको भनाई राम्ररी हावामा मिसिन नपाउदै म उसको झन नजिक पुगे । ऊ मेरो अघि अघि र म उसको पछि पछि फलफुल पसलको मालिक एलेक्स फिलिप्सको दोकानमा पुग्यौ । त्यहाँ पुगेर मान्योलले एलेक्ससंग एकछिन कुरो गर्यो ।
मान्योलको कुरो सुनेपछि एलेक्स म संग बोल्न थाल्यो । कुमारले हाम्रोमा दुई महिना जति काम गर्यो । तर एउटी स्कटीस केटी साथी बनाएर उतै स्कटल्याण्ड तर्फ लाग्यो । एडिनबर्गको एउटा नेपाली रेस्टुरेन्टमा काम गर्छ भन्ने सुनेको थिए । त्यो पनि एक डेढ बर्ष जति भै सक्यो ।
भोलीपल्ट लाईम स्ट्रीट स्टेसनबाट रेल समातेर दिउँसोको चार बजे वेभर्ली ट्रेन स्टेशन, एडिनबर्ग पुगे । रेलबाट झरेर स्टेशनको नजिकै रहेको ‘बालमोरल होटल’ मा एउटा कोठाको बन्दोबस्त मिलाए ।
होटलमा बेलुकी खाना खाने क्रममा नेपाली रेस्टुरेन्ट कहाँ पर्छ भनेर पोलिस बेयरासंग सोधे । खै त्यति धेरै मलाई पनि थाह छैन । तर ‘११० मर्निङ्ग साईड रोड’ मा एउटा छ भनेर मैले सुनेकी थिए ।
खाना खाई सकेपछि समय कटाउन बालमोरलको बार भित्र छिरे । बार ज्यादै सुनसान थियो । आरामदायी सोफामा बसेर थोरै स्कटिस सिङ्गल माल्ट मगाए । अनि त्यति आनन्द दायक कोठामा बसेर सिङ्गल माल्टको चुस्कीले मेरा सारा दुखहरु भुल्ने प्रयत्न गर्न थाले । अचानक भित्ताको पर्खाल बाट एउटा हृदयस्पर्शी अङ्ग्र्रेजी गीत बज्न सुरु गर्यो ।
बाटो लामो छ, असंख्या घुम्तिहरु छन् ।
त्यसले कहाँ पुर्याउँदछ, कसलाई थाह होला ?
तर म शक्क्तिशाली छु, उहाँलाई बोक्न सक्छु ।
उहाँ त्यति गह्रौ छैन, किनभने उहाँ मेरो दाजु हो ।
उहाँ मेरो दाजु हो । ‘द हुलिज’ को त्यो कर्णप्रिय तर अति दुखित गीतले सिङ्गल माल्ट समाती रहेका मेरा हातहरु थरर कापे । गीत सुनेर मेरो हृदय अनायसै छियाछिया बन्न पुग्यो । मेरा रशिला रशिला आँखाका ढकनीहरु बन्द हुदै, खोलिदै गरे ।
हातमा भएको घडिलाई एक झलक नियालेर हेर । समय बेलुकीको नौ बज्नै लागेको थियो । त्यसरी हाते घडिलाई हेर्दा मलाई दाजुको यादले झन धेरै धेरै सतायो, बाबा र मम्मीको बिबाह भएको २५औ बार्षिकोत्सवको अबसरमा दाजुलाई ‘सबमरिनर’ र मलाई ‘डेटजस्ट’ दुई वटा रोलेक्स घडिहरु मम्मीले स्वीट्जरल्याण्डबाट ल्याई दिनु भएको थियो । तर बिधिको बिडम्बना ! मम्मीलाई पहिले नै यस धर्तीबाट सधै सधैको लागि बिदा गरि सकेकी थिए । दाजुलाई खोज्दै खोज्दै स्कटिस माटोमा भौतारिदै हिडिरहेकी थिए ।
मध्य जुलाईको सुर्यास्त एडिनबर्ग डाँडाको पुरानो दरवारबाट बिस्तारै बिस्तारै बिलिन हुदै गई रहेको थियो । झ्याल बाहिर प्रिन्सेस स्ट्रीटमा स्कटिस पहिरन ‘किल्ट’ लगाएर पाईप बजाउदै नाच्दै गरेको एक जना फुर्तिलो स्कटिसलाई देख्दा ऊ कति सुखी जिन्दगी गुजारी रहेका छन् भन्ने मलाई यदाकदा भान पर्दथ्यो । मैले निक्कै लामो समयसम्म उसलाई नियालेर हेरिरहे । जति जति उसको पाईपले सङ्गीत फेर्दै जान्थ्यो एडिनबर्गको समयले मलाई उजाड उजाड बनाउदै लान्थ्यो । सन् ११ सय ३ मा निर्माण भएको एडिनबर्गको दरवार भ्रमण गरेर ओरालै ओरालो झरेका हरेक पर्यटकहरुको आँखा तिनै पाईप बाद्यककोमा परेका मेरा निरास नयनहरुले निक्कै बेर सम्म हेरि रह्यो ।
भोली दिउँसो एउटा ट्याक्सी समातेर मर्निङ्ग साईड रोड तिर लागे । यदि दाजुसंग भेट भै हाल्यो भने पहिलो भेटमा मलाई के भन्ने हुन भनेर मन भित्र थोरै त्रास उत्पन्न भै रह्यो । दिउँसोको ठीक साढे १२ बजे म रेस्टुरेन्टको ढोका अगाडी पुगिसकेको थिए । ढोकाबाट भित्र छिरेर केही बेर त्यही उभिरहे । मेरो सीधै अगाडीको टेबलमा चार जना मानिसहरुले खाना खाई रहेका थिए । म ढोका छेउमा उभिरहेको देखेर टकटक हिल पटकाउदै एक जना स्कटिस युबती मेरो नजिकै आईन ।
‘हेल्लो ! कति जना हुनु हुन्छ ?’ थोरै मुस्कान सहित बेयराले मलाई सोधिन ।
‘म मात्र एक जना हो ।’ छोटो उत्तर फर्काए ।
‘यतै बस्नु होला ?’ एउटा हातले कुर्सी तानेर तिनै कुर्सीमा बस्ने मलाई संकेत गरिन ।
उनको एउटा हातमा मेनु थियो । म कुर्सीमा बस्ने बितिक्कै थपक्कै मलाई मेनु दिईन । मैले मेनु नहेरी, “कृपया ! मलाई एक गिलास घरेलु सेतो वाईन ल्याई दिनु होला ?” मध्यान्हको प्रचण्ड गर्मी थियो, त्यसैले सेतो वाईन मगाए ।
वाईन हल्लाउदै हल्लाउदै उनी मिलिक्कै आई पुगिन । ठिक त्यही बेला मुख्य ढोकाबाट टिङटङ आवाज आयो । एक जोडी स्कटिस बुढाबुढी रेस्टुरेन्ट भित्र छिर्दै गरेको त्यहाँ दृश्य देखियो । उनी हतार हतार त्यतै ढोका तिर लागिन । म सुस्तरी वाईनको चुस्की लिन थाले । र, भित्तामा सजिएका बडेमाको भिक्टोरिया क्रस बिजेता गोर्खाली सिपाहीहरुको तस्विर गौरवताको साथ नियाली रहे ।
केही क्षणमा खानाको अर्डर लिन उनी मेरो सामु आई पुगिन । मैले सिक केबाब, चिकन जलफ्रेजी, बासमति राईस र गार्लिक नान मगाए । खानाको अर्डर गरेपछि थोरै मौकाको फाईदा लिन खोजे । झोलाबाट दाजुको फोटो निकालेर उनलाई देखाउदै, “के उहाँलाई कतै देख्नु भएको छ ?” सुस्तरी सोधे । फोटो हेरेपछि उनी थोरै झस्किईन, त्यसपछि मधुरो स्वरमा बोल्न सुरु गरिन ।
“कुमार ! उ मेरो श्रीमान हो । अनि तपाई को हो ?”
“म उसको बैनी हुँ ।”
“तर उसले मेरी बैनी पनि यहाँ छिन भनेर अहिले सम्म भनेका थिएन ।”
“ए… हो । अनि खै दाजु कता हुनुहुन्छ ?”
“एक हप्ता छुट्टि मनाउनको लागि मार्लोक्का, स्पेन जानु भएको छ ।”
मैले धेरै धेरै धन्यबाद भने । त्यसपछि उनी बिस्तारै हिडदै बार तिर गईन । दाजु खोज्दै हिडेकी थिए, अचानक मेरो बिदेशी भाउजुसँग भेट भयो । त्यसैले दिलमा थोरै भएपनि खुसीका लहरहरु पलाएर आए । तर भाउजुले मलाई किन किन थोरै शंकालु दृष्टिले हेरिरहनु भएको जस्तो लाग्यो । केही बेरमा भाउजुले खाना ल्याई दिनु भयो । खाना खाई सकेपछि अर्को हप्ता दाजुसँग भेटन आउने बाचा गर्दै म त्यहाँबाट बिदा भए ।
मेरो स्कटल्याण्ड बसाई एक हप्ता लम्बियो । त्यसैले एडिनबर्गबाट ग्लास्को, एबरडिन, स्टर्लिङ, लक नेस, फोर्ट विलियम र सेन्ट एन्ड्रुसम्म पुगेर फेरि अर्को हप्ता बालमोरल फर्किए ।
सोमबारको दिन स्कटल्याण्डको आकाश रोई रहेको थियो । दिउँसोको १२ बज्ने बितिक्कै म रेस्टुरेन्टको ढोका भित्र छिरे । तर त्यहाँ दाजु वा भाउजु दुवैलाई नदेख्दा म झसङ्ग झस्के । ढोका भित्र छिरेर म केही बेर त्यही उभिरहे । अर्की एकजना पातली बेयरा मेरो नजिक आई पुगिन । मैले मौकाको फाईदा उठाउदै, “खै ! कुमार ?” भनेर प्रश्न गरे । मैले सोधेको प्रश्न सुन्ने बितिक्कै उनी ‘कुमार’ भन्दै भान्सा कोठा भित्र छिरिन ।
गर्लम्मै ओढेको मैला सेतो ज्याकेट, कागजे ठुलो टोपी र मरन्च्यासे अनुहारमा धेरै दिनसम्म नकाटेर जताततै फर्केका दाह्री जुङ्गासहितको दाजुको दरिद्र हालत देखेर मेरा आँखाबाट सरर आँसु बहन थाल्यो । सुक्क सुक्क गर्दै त्यसरी म रोएको देखेपछि “यहाँ रुन हुदैन,” भन्दै उहाँले मेरो हातमा तानेर हतार हतार किचन भित्र लानु भयो । किचन भित्र पसेपछि म केही बेर उहाँको तातो अङ्गालोमा बाँधी रहे ।
“दाई ! तपाईले यो के गर्नु भएको हो ?”
“बैनी ! जिवनमा कसैले नपढेका धेरै धेरै लामो कथा छन् ।”
मैले उहाँको हात समाती रहेको थिए । मलाई त्यतिबेला उहाँसंग बालापनमा खेलेको याद आईरहेको थियो । हातका हस्तरेखाहरु बेसार पोतिएर पुरै पहेला पहेला देखिन्थे । अझै नान पोल्दा डढेका हत्केलाका छाला र नङहरु देखेर मेरा आँसु झन रोकिन सकेका थिएनन् । दाजुको त्यस्तो करुणामय र निरास मुहार हुन्छ होला भनेर मैले जिन्दगीमा सोचेको पनि थिईन । तै पनि बेखुशी साथ सानो स्वर निकालेर बोल्न सुरु गरे ।
“राष्ट्रको प्रधानमन्त्री बनाउने बाबुको सपनालाई स्कटल्याण्डको किचनमा तुहाउदै हुनुहुन्छ । धन दौलत, मानसम्माान, इज्जत र प्रतिष्ठा कुनै कमी थिएन ? किन बाबु र मलाई यसरी सजाय दिनु हुन्छ ?”
मेरो कुरो सुनेर दाजु केहीबेर भाबुक बन्न भयो । त्यसपछि बिस्तारै मुख खोल्नु भयो ।
“मैले बाबुको रहर बमोजिम पढन सकिन । मम्मीको मृत्युपछि मेरो मन संयम भएन । तर भाग्यले साथ दिएर जेनीसँग मेरो भेट भयो । उनैले मलाई जिउन बाध्य गराई दिईन । त्यसपछि हाम्रो एउटा छोरो पनि भयो । बैनी ! अब म आफ्नो जिन्दगीसँग एकदम सन्तोष छु । र, म जहाँ छु त्यँही रहन देउ ।”
दाजुको कुरो सुनेर म केही बेर अवाक बने । “तपाईलाई समस्या भएपछि नेपाल आउनु भए भै हाल्थ्यो नि….?”
“मैले त्यो निर्णय पनि गर्न सकिन । मलाई आमाको मृत्यु दुर्घटनाले भएको होईन हत्या भएको हो भन्ने लाग्यो । त्यसको मुख्य कारण बाबु नै हुनुहुन्छ भन्ने पनि मैले सोचे, किनभने देशका सबै जनताले उहाँलाई कुख्यात भ्रष्टाचारीको नाईके मानेका छन् । र, म भ्रष्टाचारीको छोरो भएर नेपालमा एक सेकेण्ड पनि बाँच्न सक्त्तैन थिए । त्यसको सट्टामा स्वाबलम्वी बनेर जे कमाउछु त्यो खान्छु भन्ने सोच तिर लागे । अब तिमी पनि मलाई भुलिदेउ र नेपाल फर्केर जाउ । बाबुलाई म यस धर्तीमा छैन भनेर सुनाईदेउ । मलाई थाहा छ, त्यो एकदम कठिन छ । तर त्यसैमा हामी सबैको भलो हुन्छ ।”
दाजुको भनाईले म केही बेर धर्मसंकटमा परे । तिहारमा फुलमाला लगाई दिने दुःखी चेलीलाई त्यति सजिलो कसरी भुल्न सक्नुभयो होला भनेर मेरो मुटु छियाछिया भयो । बाबुको सुन्दर सपना चकनाचुर भै सकेको उहाँको अनुहारबाट स्पष्ट हुन्थ्यो । त्यसपछि मैले एक्कै शब्द निकाल्ने प्रयत्न पनि गरिन । उहाँले हामी सबैलाई माया मारिसक्नु भएको रहेछ । त्यसैले उनीहरुको सन्तान देखाउने रहर सम्म मलाई गर्नु भएन । उहाँ संगको भेटले केही बेर अगाडीसम्म धेरै खुशी थिए । तर मेरो खुशी त्यति धेरै लामो समय सम्म टिक्न सकेनन् । अत्यन्त दुःखी बनेर रुमालले आँखा छोप्दै छोप्दै त्यहाँबाट निस्के ।
मर्निङ साईड रोडमा अहिलेसम्म झरिपरि रहेको थियो । एकाध बाटोको किनारमा उभिएर ट्याक्सीलाई पर्खिरहेको थिए । एक रफ्तारले दगुरी रहेका कारको चक्काहरुले छेपेका पानीले मेरो सेतो जामा मैलो बनाइदिएको थियो । तै पनि म हलचल नगरी पागली झै उभी रहे । ४ हजार ५ सय माईल टाढाबाट आएर एउटा ‘अदृश्य मर्दको खोजी’ ले तनावमा थिए, झन तिनै मर्दको फरक बिचारले तनाब मात्रै थपी दियो ।
भोलि बिहान सुटकेस गुडाउदै गुडाउदै एडिनबर्ग बिमानस्थल पुगे । कतार एयरको ड्रिमलाईनरबाट सपनाको सहर दोहा जादै थिए । धावनमार्गमा बिमानले ‘भिक्टर वान’ भन्ने संकेत दिदै गर्दा कप्तान सुलेमान महम्मदले ‘रोटेड’ भन्ने बेलामा मैले ३० मिटर माथि आकाशबाट दाजुको सहर एडिनबर्गलाई जिन्दगीको अन्तिम पटक अबिरल आँसुको धाराले बिदाई गरिरहे । बिमानले केही बेरमा अङ्ग्र्रेजी जलपथ पार गर्न थाल्यो । युक्रेनियन मुलकी परिचारिकाले एक गिलास बोलिन्जर र एक प्लेट म्याकाडेमिया लिएर मेरी सामु हाजिर जनाईन ।
‘कुमार महल’ बानेश्वर हाईट पुगेर बाबुलाई के भन्ने होला ठुलो पिरमा थिए । बिमानले ३३ हजार फिट माथिको उचाई लिईसकेको थियो । बेल्जियमको आकाशिय क्षेत्र पुग्दा नपुग्दै मैले दुई वटा सेम्पेनका गिलासहरु रित्याई सकेकी थिए ।
आमा र छोराको नाममा भएको घर बेचेर ‘मिना ट्रस्ट’ मा राखिदिनु । अनि तिनै ट्रस्टको नामबाट काठमाण्डौमा भएका असहाय बुढाबुढी र बेसहारा बच्चाहरुलाई खाना खान दिनु । ताकि बाबुले प्रकृया मिलाएर भ्रष्टाचार गरेर कमाएको पैसा अन्तत जनताले नै उपभोग गर्न पाएका छन् भन्ने समाचार साधरण मानिससम्म जान सकोस भन्ने दाजुको तिनै महान भनाईलाई सोच्दै सोच्दै म निन्द्रा देवीको शरणमा परिरहे ।
अक्सफोर्ड, बेलायत ।